मौनअवधिमा आचारसंहिता उल्लंघन गरे कारबाही के हुन्छ ?

 सोमवार, असार १२, २०७४ | onlinenews
Share this

१२ असार २०७४ काठमाडौं


असार १४ हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मौनअवधि आईतबार मध्यरातबाट सुरु भएको छ । मौनअबधि सुरु भएसँगै चुनावी प्रचारप्रसार पूर्णतया रोकिएको छ ।
स्थानीय तह निर्वाचन निर्देशिका ३०७३ को दफा ६९ मा मौनअवधिमा के गर्न पाइने के नपाइने भन्ने स्पष्ट व्यवस्था छ । सो निर्देशिका मतदान गर्ने दिनभन्दा ४८ घण्टा अघिबाट आकािषर््ात हुने भएकाले पालना गर्न जरुरी छ ।
मौनअवधिमा राजनीतिक दल तथा उम्मेदवारहरुले मतदाताबीच सार्वजनिक कार्यक्रममात्र हैन सामाजिक सञ्जालमा समेत प्रचार गर्न पाउने छैनन । मौन अवधिको आचारसंहिता राजनीतक दल, उम्मेदवार र सञ्चारमाध्यमलाई समेत लागू हुनेछ ।
निर्वाचनको प्रचार प्रसारका लागि रेडियो, टेलिभिजन, पत्रपत्रिकामा समेत मौन अवधिमा विज्ञापन तथा कुनै पनि उम्मेदवार वा दलको पक्ष विपक्षमा समचार वा सूचना प्रसारण गर्न बन्देज लाग्नेछ ।
त्यस्तै सामाजिक सञ्जाल फेसबुक, ट्विटर लगायतमा समेत मौन अवधिमा प्रचार प्रसार गर्न निर्वाचन आयोगले रोक लगाएको विज्ञप्ति जारी गर्दै जनाएको छ ।
आयोग प्रवक्ता सूर्यप्रसाद शर्माले जारी गरेको विज्ञप्तिमा निर्वाचन आचारसंहिता अनुसार मौन अवधिमा एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचनमा प्रचार प्रसार गर्न नहुने उल्लेख छ । दलका उम्मेद्वारहरुले राजनीति दलको चिन्ह अंकित टिसर्ट, टोपी र स्टीकर प्रयोग गर्न पनि पाइने छैन ।
मौन अवधिमा आचारसंहिता उल्लङघन गरेमा निर्वाचन आयोगले निर्वाचन आयोग ऐन २०७३ अनुसार हदैसम्मको कारवाही गर्ने जनाएको छ । सोही निर्देशिकाको दफा ७० मा प्रचार प्रसार वा शान्ति भंग गर्न निषेध गरिएको छ ।
उसले सुरुमा सचेत गराउने र सचेत गराउदा पनि बेवास्ता गरे उम्मेदवार र दललाई आयोगले एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ । आयोगले स्थानीय तह निर्वाचन ऐनको प्रावधानमा टेकेर मौन अवधि उल्लङ्घन गरेको प्रमाणित भए सम्बन्धीत उम्मेदवारको उम्मेदवारी रद्द गर्न समेत सक्नेछ ।
आयोगको आचारसंहिता राजनीतिक दल, उम्मेदवार, दलका कार्यकर्ता, निर्वाचनमा खटिने कर्मचारीले पनि पालना गर्नुपर्नेछ ।

Share this

प्रतिकृया

Add