लैङ्गिक हिंसा अन्त्यको शुरुवात घरबाटै गरौं

 शुक्रबार, मंसिर १०, २०७८ | onlinenews

जीवन श्रेष्ठ


लैङ्गिक हिंसा, विभेद एवं अन्याय अन्त्य गर्न संञ्चालन हुने विभिन्न अभियान मध्ये अन्तर्राष्ट्रिय रुपमा मनाउने गरिएको लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान यस वर्ष पनि शुरु भएको छ । आधा धर्ति ओगट्ने महिलाहरु बढी हिंसा पीडित भइरहेको सन्दर्भमा हिंसा विरुद्धको मनाइने दिवस मध्ये विश्वव्यापी, महत्वपूर्ण र चरणवद्ध दिवस लैङ्गिक हिंसा १६ दिवसीय अभियान नै हो । यस वर्ष “ओरेन्ज द वर्डः इन्ड भोइलेन्स अगेन्स्ट ओमन नाउ” भन्ने अन्तर्राष्ट्रिय नारा र “घरबाटै शुरु गरौः लैङ्गिक हिंसा अन्त्य गरौं” भन्ने राष्ट्रिय नाराका साथ यही मंसिर ९ गतेदेखि २४ गतेसम्म तदनुसार २५ नोभेम्वरदेखि १० डिसेम्वरसम्म लैङ्गिक हिंसा विरुद्ध १६ दिवसीय अभियान सञ्चालन भइरहेको छ ।
३ जना डोमिनिकन नागरिक पेट्रिया, मिनर्भा र मारिया विवाहिता दिदीबहिनीहरुले सन् १९५० को दशकमा तानाशाही त्रुजिलो शासकका विरुद्ध लडेका थिए । ३० वर्ष लामो शासन गरेका त्रुजिलो तानाशाही शासनका विरुद्ध चलेको नागरिक आन्दोलनको कडा दमन विरुद्ध तीन दिदीबहिनीहरु लगायत उनीहरुका श्रीमानहरु पनि सशक्त रुपमा लागेका थिए । सन् १९६० नोभेम्वर २५ को साँझ जेल परेका आफ्ना श्रीमानहरुलाई भेटेर फर्कीरहेको बेला त्रुजिलो शासकले गाडी चालक सहित तीन जना शान्ति तथा अधिकारकर्मी दिदीबहिनीहरुको निर्ममतापूर्वक हत्या गर्यो, जसको कारण सशक्त आन्दोलन पश्चात् त्रुजिलो शासन पतन भयो । ओमन ग्लोवल लिडरसिप इन्स्टिच्युटले सन् १९९१ मा महिला हिंसा विरुद्धको अभियान सुरु गर्यो । यसपछि संयुक्त राष्ट्र संघले ति तीन जना अधिकारकर्मी मिरावल दिदीबहिनीहरुको सम्झना र सम्मान स्वरुप हरेक नोभेम्वर २५ लाई महिला हिंसा विरुद्धको अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गर्यो । नेपालमा भने यस अभियानको थालनी सन् २००४ देखि भएको मानिन्छ । यसपछि विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुले विविध कार्यक्रमहरु सञ्चालन गरी दिवस मनाउँदै आएका छन् ।
नोभेम्वर २५ का दिन लैङ्गिक हिंसा विरुद्धको दिवस र डिसेम्वर १० का दिन अन्तर्राष्ट्रिय मानव अधिकार दिवस गरी २ वटा महत्वपूर्ण दिवसका साथै यि दुई दिवस बीचको १६ दिन भित्र महिला मानव अधिकार रक्षक दिवस, विश्व एचआईभी एड्स दिवस, अन्तर्राष्ट्रिय अपांगता दिवस, आर्थिक सामाजिक विकासका लागि अन्तर्राष्ट्रिय दिवस, अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस र भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस लगायतका धेरै दिवसहरु पर्ने भएकोले यी सबै दिवसहरुलाई समेटेर १६ दिवसीय अभियानका रुपमा मान्न थालिएको हो ।
विश्वव्यापी रुपमा शुरु गरिएको यो अभियानको मूख्य उद्देश्य महिला विरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्नु हो । लैङ्गिक हिंसा विरुद्ध जनचेतना जगाउने र महिला विरुद्ध हुने हिंसाको प्रभावलाई कम गर्ने उद्देश्य सहित यो अभियान शुरु गरिएको थियो । यसका साथै महिला अधिकारका लागि भएका आन्दोलनबाट प्राप्त उपलब्धीहरुलाई संस्थागत गरी व्यवहारमा कार्यन्वयन गर्नु, गराउनु र सबै क्षेत्रका महिला पुरुषबीच ऐक्यवद्धताका लागि वातावरण बनाउनु यो अभियानको अर्को उद्देश्य हो ।
ओरेक नेपालद्वारा २०७६ श्रावणदेखि २०७७ आषाढसम्मका लैङ्गिक हिंसाका घटनाहरु संकलन र अभिलेखीकरण गरी तयार गरेको ूअन्वेषी प्रतिवेदन, २०७७ का अनुसार सो अवधिमा भएका लैङ्गिक हिंसाका घटनाहरुमा सबैभन्दा बढी ६७ प्रतिशत घरेलु हिंसा भएको देखिएको छ । यसैगरी ७७ प्रतिशत पीडितहरुमा विवाहित महिलाहरु रहेका छन् । अझ चिन्ताजनक तथ्यांक के छ भने यसरी संकलन गरिएको तथ्यांकमा सबैभन्दा बढी ५४ प्रतिशत महिलामाथि हिंसा श्रीमानबाट नै भएको पाइएको छ भने १८ प्रतिशत परिवारका सदस्यबाट, १७ प्रतिशत छिमेकीबाट, ५ प्रतिशत प्रेमीबाट र बाँकी अन्यबाट हिंसा भएको पाइएको छ । प्रस्तुत तथ्यांकलाई हेर्दा महिलामाथि सबैभन्दा बढी घरमा अनि घरपरिवारबाट नै हुने गरेको पाएको छ । ओरेक नेपालको अर्को तथ्यांक अनुसार कोभिड महामारीका क्रममा भएको निषेधाज्ञाको समयावधि (वैशाख १६ गतेदेखि असार ३१ गते २०७८) मा ६८० जना महिला तथा बालिकामाथि हिंसाका घटना भएकोमा ५० प्रतिशत हिंसा घर भित्रै भएको पाइएको छ । बन्दाबन्दीको बेला सबै परिवार सदस्यहरु घरमा नै हुँदाको अवस्थामा पनि महिला तथा बालिकाहरु झन् हिंसा पीडित हुन पुगेको तथ्यांकले देखाउँछ ।
प्रहरी प्रधान कार्यालयले प्रकाशन गरेको लैङ्गिक हिंसाको त्रि–वर्षीय तथ्यपत्र (आ.व. २०७४÷०७५ देखि ०७६÷०७७) का अनुसार ३ वर्षमा प्रहरी कार्यालयमा दर्ता भएका कुल अपराधको ४० प्रतिशत लैङ्गिक हिंसाका मुद्दाहरु रहेको जनाएको छ । समग्र लैङ्गिक हिंसाका अपराधमा ७७ प्रतिशत हिस्सा घरेलु हिंसाका घटनाहरु रहेको जनाइएको छ । यसैगरी पीडितहरुमा ८२ प्रतिशत महिला, १२ प्रतिशत बालिका, ५ प्रतिशत पुरुष र १ प्रतिशत बालक रहेका छन् भने पीडकहरुमा ८३ प्रतिशत पुरुष, १३ प्रतिशत महिला, ३ प्रतिशत बालक र १ प्रतिशत बालिका रहेका छन् । कुल ९७०९ जना अभियुत्तहरुमा ८९ प्रतिशत चिनजानका र बाँकी २१ प्रतिशत अपरिचित व्यक्तिहरु रहेको जनाएको छ । नेपाल प्रहरीको यो तथ्यांकले के पुष्टि हुन्छ भने आफन्त पुरुषहरुबाटै घरायसी वातावरणमा नै महिलाहरु हिंसाबाट पीडित भइरहेका छन् ।
घरेलु हिंसा पीडितले सम्बन्धित ठाउँमा उजुरी गर्न र न्याय पाउन पनि तुलनात्मक रुपमा गाह्रो हुन्छ । किनकी आफ्नै घरको सदस्य विरुद्ध उजुरी दिनु पर्ने अनि पीडक बसेकै घरमा बस्नु पर्ने हुन्छ । कतिपय अवस्थामा त उजुरीकर्ता झन् असुरक्षित हुने र डरधम्की, बाध्यतामा परी दर्ता भएको उजुर समेत फिर्ता गरी हिंसा सहेरै बस्न बाध्य हुनु परेको छ ।
सुरक्षाको दृष्टिकोणले महिलाको लागि सबैभन्दा सुरक्षित स्थान घर हो भने संरक्षकको रुपमा आफ्नै नजिकको र विश्वसापात्र व्यक्ति पनि घरपरिवारका सदस्यहरु नै हुन् । तर विडम्वना, त्यहि सुरक्षित हुनुपर्ने घरमा आफ्नै घरपरिवारका संरक्षकहरुबाट हिंसा झेल्नु परिरहेको छ । यति मात्र होइन महिलाहरु सबै भन्दा बढी समय घर भित्र नै बिताउँछन् । त्यहि घरमा नै आफ्नै घरपरिवारका व्यक्तिहरुबाट, आफ्नै संरक्षकहरुबाट र सबैभन्दा बढी समय बिताउने आफ्नै घरमा निरन्तर रुपमा हिंसा झेल्नु बाध्य हुनु अत्यन्त गम्भिर विषय हो ।
छोरालाई बन्दुक खेलौना दिएर हिंस्रक मनस्थिति बनाउने र छोरीलाई पुतली खेलौना दिएर दया मायालु मन बनाउन प्रेरित गर्ने कार्य बालबालिकाको पहिलो पाठशाला मानिने घरपरिवार नै गर्दछ । यसैगरी बच्चा हुर्कने क्रममा छोरा र छोरीमा गर्ने विभेद गर्ने, बाल विवाह हुने, दाइजोको प्रचलन, महिला बेचबिखन जस्ता महिला हिंसा हुने ठाउँ पनि त्यहि घरपरिवार नै हो । यसरी हेर्दा लैङ्गिक हिंसाको जड हाम्रै घरपरिवार देखिन्छ । समस्याको जड जहाँ छ, समाधान पनि त्यँहिबाट थालिनी गरिनु पर्दछ । त्यसैले लैङ्गिक हिंसा अन्त्यको लागि आफ्नो घरबाट अनि आफ्नै मान्छेबाट सुरु गर्नु पर्दछ । यस वर्षको १६ दिवसीय अभियानको राष्ट्रिय नाराको मूल अर्थ पनि लैङ्गिक हिंसाको अन्त्य घरबाट नै गर्नु पर्छ भन्ने रहेको छ ।

प्रतिकृया

Add