जनतासँग गरिएको ७० प्रतिशत बाचा पूराः गाउँपालिका अध्यक्ष सुनुवार

 शनिबार, माघ २२, २०७८ | onlinenews

रामेछाप जिल्लाको दुर्गम क्षेत्रमा पर्ने उमाकुण्ड गाउँपालिका संघ र प्रदेशको विकास बजेटमा समेत विभेद गरि न्यून बजेट विनियोजन भएको र पालिकाकै बजेटबाट ४ वर्षको अवधिमा उल्लेख उपलब्धि हासिल गर्न सफल भएको छ । पालिकाले चार वर्षमा गरेको विकास निर्माण साथै आर्थिक तथा सामाजिक विकासको बारेमा केन्द्रीत रहेर हाम्रो अनलाइन न्यूजका सह–सम्पादक सन्तोष ढुङ्गेलले उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारसँग गरेको कुराकानीको सम्पादीत अंश

उमाकुण्ड गाउँपालिकाको विकास निर्माण कसरी अगाडि बढिरहेको छ ?
निर्वाचनको बेला पार्टीको तर्फबाट जारी गरिएको घोषणा पत्र र प्रतिवद्धता अनुसार काम भइरहेको छ । सडक, विद्युत, खानेपानी, शिक्षा, स्वास्थ्य लगायतका कामहरु गरिरहेका छौँ ।
निर्वाचनको बेला नागरिकसँग गरिएको बाचाहरु कति पूरा गर्नुभयो ?
जनतासँग गरिएका प्रतिबद्धताको ७० प्रतिशत काम सम्पन्न भएको छ । भोट माग्ने क्रममा शिक्षा, स्वास्थ्य, सडक, खानेपानी र विद्युतको क्षेत्रमा काम गर्ने प्रतिबद्धता गरेका थियौँ । सोही अनुसारको काम भएको छ ।
विकास निर्माणको काम गर्ने क्रममा के कस्ता अवरोधहरु आए ?
रामेछापको ८ स्थानीय तह मध्य उमाकुण्ड भौगोलिक रुपमा बिकट छ । विकास निर्माणमा धेरै बजेट आवश्यक हुन्छ । भौगोलिक विकटताको कारण घर–बस्तीहरु टाढा–टाढा छन् । तर यो गाउँपालिकामा विकास बजेट कम आउँदा समस्य भएको छ ।
सडकको अवस्था कस्तो छ ?
हामीले विकास निर्माणमा साझा धारण बनाएर काम गरिरहेका छौँ । गाउँपालिकाको केन्द्रलाई मध्यनजर गरि ७ वटै वडाहरुमा हिउँदभरी यातायात चल्ने बनाएका छौँ । सदरमुकाम मन्थलीबाट गाउँपालिका आउने मुख्य सडकको डिपीआर गरेर कालोचौतारादेखि सिंगडीसम्म कालोपत्रेको काम भइरहेको छ ।
साँढे चार वर्षको अवधिमा कति वटा ऐन तथा कानूनहरु बनाउनुभयो ?
हामीले ऐन, कानून र कार्यविधि गरि ५३ वटा बनाएका छौँ । संघ र प्रदेशले कानून बनाउन ढिला गर्दा स्थानीय तहको साझा अधिकारका विषयमा कानून बाझिएकाले हामीले आफ्नो अधिकार प्रयोग गर्न पाएनौँ । जसको कारण गाउँपालिकाभित्र रहेका प्राकृतिक श्रोत, साधन र आवश्यक कर्मचारी ब्यवस्थापनको लागि समेत समस्या भयो । जसको कारण पालिकाले गर्ने कार्यसम्पादनमा समेत कठिनाई भएको छ ।
कृषिमा गाउँपालिकाको योजना के छ ?
उमाकुण्ड गाउँपालिकालाई समृद्ध बनाउने तीन वटा आधारहरु छन् । जल, जमिन र पर्यटन यो गाउँपालिकाको मुख्य श्रोतहरु हुन् । जल, जमिन र पर्यटनको माध्यमबाट यहाँको नागरिकलाई आर्थिक रुपमा सम्पन्न बनाउन सकिन्छ । सोही आधारमा योजना बनाएका छौँ । उद्देश्य पूरा गर्न पहिलो आवश्यकता सकड भएकाले वितेका तीन वर्ष सडकलाई प्राथमिकतामा राखेर बजेट पूर्वाधारमा खर्च गरियो । चालू आर्थिक वर्षमा कृषि र पशु पालनलाई प्राथमिकतामा राखेका छौँ । अनुदान टाठाबाठाहरुले लिने तर काम नगर्ने भएकाले गाउँपालिका आफैले अनुगमन गरि वास्तविक कृषक पहिचान गरेर मात्र अनुदान दिने ब्यवस्था मिलाएका छौँ ।
पर्यटन प्रवद्र्धनको लागि गाउँपालिकाले के काम गरिरहेको छ ?
पर्यटनलाई हामीले दुई तरिकाले हेरेका छौँ । पहिलो धार्मिक, पौराणिक, पुरातात्विक र दोश्रोमा आकर्षक दृश्यहरु मार्फत पर्यटकलाई आकर्षित गर्ने । ताँबेडाँडलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यले भौतिक संरचना निर्माणका लागि टेण्डर भएर काम अगाडि बढिसकेको छ । पौराणिक र पुरातात्विक महत्व बोकेको उमातिर्थ पनि उमाकुण्ड गाउँपालिकामै पर्दछ । आन्तरिक र बाह्य पर्यटक भित्र्याउन सकिएमा उमाकुण्ड गाउँपालिकालाई आर्थिक रुपमा समृद्ध बनाउन सकिने छ ।
उमाकुण्डलाई बजेट विनियोजनमा संघ र प्रदेश सरकारले विभेद गरेको हो ?
विभेद गरेकै हो । सुरुदेखि नै मैले संघ, प्रदेश र सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएको छु । दुर्गमको हिसाबले प्रशासनिक रुपमा पनि उमाकुण्ड बर्ग ‘क’ मा परेको छ । बजेट विनियोजन गर्ने मापदण्डहरु छन् । सूचांकको आधारमा हामीसँग जनसंख्या कम छ । भूगोलको आधारमा हामीले ५ प्रतिशतमात्रै बजेट पाउँछौँ भने जनसंख्याको आधारमा ८० प्रतिशत । विकटमा रहेका बस्तीमा सडक, पानी, बत्ती, शिक्षा र स्वास्थ्य सेवा पु¥याउन बढी खर्च लाग्ने भएकाले सूचांक संशोधन गरि विकट ठाउँलाई बजेटमा प्राथमिकता दिनुपर्छ भनेर सम्बन्धित निकायमा सुझाव पेश गरे तर कार्यान्वयन भएन ।
प्रशासनिक भवन निर्माणमा ढिलाई हुनुको कारण के हो ?
कोभिडको कारण धेरै विकास निर्माणको कामहरु अवरुद्ध हुन पुग्यो । हामी निर्वाचित भए लगत्तै प्रिफ्याव भवन निर्माण गर्यौँ र त्यहीबाट कार्यसम्पादन भइरहेको छ । पक्की भवन निर्माणको लागि ठेक्का लगाएर काम आगाडि बढिसकेको छ । ७ वटै वडा कार्यालय भवनहरु बनिसकेको छ । दुई वटा अस्पतालहरु गाउँपालिकामा ५ शैया र बाम्तीमा १० शैयाको बन्दैछ । पूर्वाधार निर्माणको काम निरन्तर अगाडि बढिरहेको छ ।
गाउँपालिकाले बजेट विनियोजन कुन विधिबाट गर्छ ?
आवश्यकताको आधारमा बजेट विनियोजन गर्नुपर्ने हो । जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल र नागरिक अगुवा सबैको सोच सकारात्मक नभएसम्म राम्रो गर्छु भनेरमात्र नहुँदो रहेछ । विकास क्रमशः हुने कुरा हो । तर विकास निर्माणको कामलाई चाँडै सम्पन्न गर्न सकियो भने सार्थकता हुन्छ । मैले भन्ने गरेको छु, एउटा चमत्कारिक विकास र अर्को क्रमिक विकास । क्रमिक हुने विकास हुँदै जान्छ तर हामी चमत्कारिक विकास गर्ने भनेर आएका हौँ । चमत्कारिक विकासको लागि जनप्रतिनिधि, राजनीतिक पार्टी कर्मचारी सबैमा केही गर्नुपर्छ भन्ने सोच भएन भने गाउँपालिका अध्यक्षले मात्रै चाहेर नहुने रहेछ । मैले अनौठो समस्या झेलिरहेको छु । हामीले वडावाइज, जनसंख्या र भूगोलको आधारमा बजेट विनियोजन गरेका छौँ ।
गाउँपालिका अध्यक्ष भएर पनि सरकारी गाडी चड्नु भएन किन ?
म निर्वाचित हुँदा गाउँपालिकाको सबै ठाउँमा मोटरबाटो पुगेको थिए । अर्को कुरा मानिसले चाहयो भने हिडेर पनि जनतालाई सेवा दिन सकिन्छ । उमाकुण्ड गाउँपालिकाले गाडी किन्न सक्दैन, गाडी किन्ने पैसाले हामी सडक निर्माण गर्छौँ भनेर निर्वाचन आयोगका सचिवसँग कुरा गरेको थिएँ । र, गाडी उपलब्ध गराउने कुरा पनि भएको थियो । अहिले मन्त्रालयबाट टोयटा गाडी उपलब्ध भएको छ । यो गाडी पनि मैले त नलिने भनेको थिएँ । तर प्रमुख प्रशासकीय अधिकृतले सम्झौता गरिसक्नु भएको रहेछ । गाडी लिन मन्त्रालयबाट बारम्बार फोन आएपछि एउटा गाडी ल्याएका छौँ । अब हाम्रो कार्यकाल ४ महिना बाँकी छ । यो गाडी आएदेखि मैले कतिदिन चढेँ, तेल कति खर्च भयो, सबै रेकर्ड राखेर सार्वजनिक गर्नेछु । पहिला त मैले टिएडिए पनि लिएको थिइन । सार्वजनिक ब्यक्ति भएको र मेरो आम्दानीको स्रोत केही नभएकाले पछिल्लो समय टिएडिए चाँही लिएको छु । त्यो बाहेक सेवासुविधा लिएको छुँइन । मैले भोली पनि यही राजनीतिक गर्ने हो । मेरो कार्यकाल सकिएपछि म पुरानै हैसियतमा फर्किने हो । त्यही भएर मैले सुविधा नलिएको हो ।
भन्नुपर्ने केही छ ?
उमाकुण्ड गाउँपालिकामा भौतिक पूर्वाधारको काम सकिएको छ । सडक पालिकाको सबै ठाउँमा पुगिसकेको छ । यही महिनाभित्र गाउँपालिकाको सबै घरधुरीमा बिजुली बत्ती बल्दैछ । खानेपानी प्रत्येक घरमा पुग्दैछ । खानेपानीको लागि ३ करोड बजेट विनियोजन गरेका छौँ । शिक्षक कम भएको विद्यायलमा गाउँपालिकाले शिक्षकको ब्यवस्था गरेको छ । गाउँपालिकामा दुई वटा स्वास्थ्य अस्पताल निर्माण गरेका छौँ । स्वास्थ्यकर्मीको दरबन्दी निर्धारण गरेर जनशक्ति माग भइसकेको छ । ब्यवस्थापन बाहेक पूर्वाधार निर्माणको लागि अब बजेट विनियोजन गर्नु पर्दैन । जबसम्म हमीले जनतालाई आर्थिक रुपमा सम्पन्न बनाउन सक्दैनौँ, तबसम्म भौतिक पूर्वाधार विकासले मात्र केही हुँदैन । हाम्रो एउटै मात्र योजना छ, जनलाई कसरी धनी बनाउने । कृषि, पर्यटन र जलविद्युतलाई उपयोग गरेर यहाँको जनतालाई आर्थिक रुपमा सम्पन्न बनाउन सकिन्छ । चालू आर्थिक वर्षदेखि हाइड्रोपावरबाट रोयल्टी वापत ५ करोड पैसा आउँदै छ । आगामी दुई वर्षपछि उमाकुण्ड गाउँपालिकाले २० करोड बजेट प्राप्त गर्दैछ । त्यो बजेटमार्फत ५ वर्षमै यहाँको जनतालाई आर्थिक रुपमा सम्पन्न बनाउन सकिन्छ । वित्तीय अनुदान १२ करोड आउँछ भने दुई वर्षपछि हाम्रो आन्तरिक स्रोत २० करोड हुन्छ । अब आउने जनप्रतिनिधिहरुले सडक, बत्ती, स्वास्थ्य, शिक्षा र भौतिक पूर्वाधारको क्षेत्रमा ब्यवस्थापन बाहेक बजेट विनियोजन गर्नु पर्दैन । जनप्रनिधि, राजनीतिक दल, कर्मचारी, नागरिक समाज सबै एकताबद्ध भएर लाग्ने हो भने आगामी ५ वर्षमा ‘समृद्ध उमाकुण्ड, सुखी उमाकुण्डबासी’ बनाउन सकिन्छ ।

प्रतिकृया

Add