गाउँमै निःशुल्क दाँत फेर्न पाउँदा स्थानीय खुसी

 शुक्रबार, बैशाख २, २०७९ | onlinenews

रामेछाप । सुनापति गाउँपालिकामा ४ दिने निःशुल्क दन्त शिविर सञ्चालन गरिएको छ । शिविरमा एक सय जनाको नयाँ नक्कली दाँत राखिएको छ भने १५ जनाको पूरा सेट र आंशिक ८५ जनाको गरी १ सय जनाको दाँत राखिएको हो ।
सुनापती गाउँपालिका, पिएसएफ लक्जेवर्ग÷टिडिएच जर्मनी÷सामुदायिक विकास समाज÷महिला तथा बाल सशक्तिकरणः स्वास्थ्य तथा सरसफाई परियोजनाको आयोजना र युनाइटेड डेण्टल केयर प्रालि काठमाडौंको प्राविधिक सहयोगमा निःशुल्क दन्त शिविर संचालन गरिएको परियोजना संयोजक तिलक कार्कीले जानकारी दिए ।

पौष १०–१४ मा सुनापतिका ५ वटै वडाहरुमा संचालन गरिएको निःशुल्क शिविरमा ७ सय ४० दाँतका विरामीहरुले उपचार, परामर्श पाउनुका साथै ३ सय ८ जना दाँतका रोगीहरुको दाँत फुकाल्नुका साथै ७३ वटा दाँत भरिएको थियो । सोहि छनौट शिविरबाट छानिएका विरामीहरुको गाउँमा नै दक्ष, अनुभवि दन्त विशेषज्ञबाट उपचार तथा नयाँ दाँत लगाइएको सुनापति गाउँपालिका स्वास्थ्य शाखा संयोजक अर्जुन श्रेष्ठले बताए ।

दन्त अस्पताल जाँदा ५० हजार रुपैयाँ खर्च लाग्ने दाँत गाउँमै निःशुल्क राख्न पाउदा खुशी मान्दै खनियापानीकी शन्तमाया मानन्धरले हाँसो फर्किएको बताइन् । अब त खाना खान, चपाउन पाउने भएँ भन्दै मुख छोपेर बोल्नु पर्ने अवस्था हटेको बताइन् । सुनापति गाउँपालिका वडा नं. ३ का नेत्रबहादुर खड्का थोते मुख भरिलो भएकोमा आफ्नै फोटोलाई हेर्दै दङ्ग देखिन्थ्ये । चाउरिएको अनुहार र खोसिएको हाँसो फर्किएकोमा खुशी हुदै भने– “राम्रो पनि भइयो, खाना पनि सकिने भइयो । गरीब तथा विपन्नका लागि गाउँमा नयाँ काम गरेकोमा आयोजकलाई धन्यवाद दिए ।

सुनापति गाउँपालिका र सामुदायिक विकास समाजसँगको सहयोगमा आँखा, दाँत तथा पाठेघरका समस्या भएका विरामीहरुलाई निरन्तर स्वास्थ्य शिविर मार्फत सेवा गर्र्दै जाने पालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलराज श्रेष्ठ बताए । दन्त शिविर सुनापति गाउँपालिकाको केन्द्र हिलेदेवीमा चैत्र २६ देखि २९ सम्म संचालन गरिएको थियो ।

प्रतिकृया

Add