पत्रकार महासंघ रामेछापमा चौतारीले लगाए ताला

 आइतवार, असार ३, २०८० | onlinenews

रामेछाप- प्रेस चौतारी नेपाल रामेछापले नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापमा ताला लगाएको छ । पत्रकार महासंघको सदस्यता शुद्धीकरण सम्बधी मापदण्ड २०७९ विपरीत सदस्यता सुद्धिकरण र नयाँ सदस्यता सिफारिस गरेको भन्दै प्रेस चौतारी नेपाल रामेछापले कालो झण्डासहित महासंघमा शनिवार ताला लगाएको हो ।
नेपाल पत्रकार महासंघले जारी गरेको सदस्यता शुद्धीकरण सम्बन्धी मापदण्ड, २०७९ अनुसार सदस्यता शुद्धीकरण र नयाँ सदस्यता सिफारिस गर्न प्रेस चौतारीले माग गर्दै आएको थियो । मापदण्ड विपरीत शुद्धीकरण र नयाँ सदस्यता सिफारिस गरेको भन्दै महासंघमा कालो झण्डासहित तालाबन्दी गरेको हो ।
प्रेस चौतारी रामेछापले गत जेठ ३२ गते एक विज्ञप्ति जारी गरी ४८ घण्टाभित्र निर्णय सच्याएर अघि बढ्न आग्रह गदै नसच्याएर चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको थियो । महासंघले आफ्ना निर्णय र कदमबाट पछि हट्ने कुनै सङ्केत नदेखाएपछि तालाबन्दी गर्नु परेको प्रेस चौतारी रामेछापका अध्यक्ष नवराज श्रेष्ठले बताए ।
प्रेस चौतारी रामेछापले २०८० जेठ २८ गते पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेलाई भेटेर ध्यानाकर्षण पत्र बुझाउँदै सदस्यता शुद्धीकरण सम्बन्धी मापदण्ड, २०७९ अक्षरशः पालना गरेर अघि बढ्न आग्रह गरेको थियो । महासंघले आफू निकट कुनै दल विशेष पार्टीको कार्यकर्ता भर्ती केन्द्रको रूपमा स्थापित गर्ने गरी योग्य सदस्यलाई शुद्धीकरणका नाममा हटाउने र नयाँ सदस्यताका लागि योग्य पत्रकारलाई समेत सदस्यता प्राप्त गर्नबाट बञ्चित गर्ने गलत मनसायका साथ निर्णय गरेको चौतारीको आरोप छ । प्रेस चौतारी रामेछापका अध्यक्ष नवराज श्रेष्ठ भने ‘हाम्रो आग्रह र अनुरोधलाई बेवास्ता गर्दै पत्रकार महासंघ रामेछापको असक्षम, अविवेकी र भ्रष्ट वर्तमान नेतृत्वले गरेका गलत निर्णयका विरुद्धमा आन्दोलन गर्न बाध्य भएका हौँ ।’
उनले भने अझैँ महासंघले आफ्ना गलत निर्णय नसच्याए यसअघि सार्वजनिक गरिएका मापदण्ड विपरीत सदस्यता कायम रहेका सदस्यको नाम सार्वजनिक गर्ने, पत्रकार महासंघका प्रतिनिधि सहभागी हुने कार्यक्रममा हस्तक्षेप र बहिष्कार गर्ने, निर्णय नसच्चिएसम्म पत्रकार महासंघका सबै गतिविधि ठप्प गराउने र प्रेस चौतारी नेपालको जानकारीमा रहेका सरकारी सेवामा कार्यरत भएर पनि सदस्यता कायम नै राखिएका सदस्यको बारेमा सम्बन्धित कार्यालयलाई महासंघले बनाएको मापदण्डबारे जानकारी गराई कार्यालयमा राजीनामा दिए नदिएको यकिन गर्न सूचना माग गर्ने लगायतका कार्यक्रम सशक्त रूपमा अघि बढाउने छौँ ।’
नेपाल पत्रकार महासंघ रामेछापले ‘सदस्यता शुद्धीकरण सम्बन्धी मापदण्ड, २०७९’ को बुँदा नं ८, ९, १०, १३ र १४ को ठाडो उपहास गरी प्रतिशोध र पुर्वाग्राही भएर महासंघमा हाल कायम रहेका सरकारी जागिरे, शिक्षक, राजनीतिक दलका नेता, पेसामा नै आबद्ध नरहेका, विभिन्न पेसा व्यवसायमा आबद्ध भएकाको सदस्यता यथावत् राख्ने, फरक विचार राखेकै कारण क्रियाशील सदस्यलाई निस्कृय घोषणा गर्ने, पेसामा नै नरहेकालाई नयाँ सदस्यमा सिफारिस गर्ने गरी महासंघले गलत निर्णय गरेको प्रेस चौतारी रामेछापको भनाइ छ ।

प्रतिकृया

Add