प्राविधिकसहितको टोलीले गर्यो खुर्कोट पुलको निरीक्षण
शुक्रबार, अशोज १८, २०८१
–गम्भीर विक
चैत्र ३०, रामेछाप–रामेछाप जिल्लाको घुम्नै पर्ने ठाउँहरु शैलुङ डाँडा, पाँचपोखरी, लगायत थुप्रै पर्यटकीय स्थलहरु छन् । जिल्लाको उत्तरी भेग नुम्बुर चिज सर्किट र पश्चिमी भेगमा आदिवासी जनजाति पदमार्ग गरी दुई पर्यटकीय पदमार्ग समेत रहेका छन् । तर, नयाँ वर्षको १ दिने विदामा बिहान गएर बेलुका आउन सकिने सदरमुकाम मन्थलीबाट नजिक रहेको ठाउँहरुको मात्र यहाँ चर्चा गर्न खोजिएको छ ।
रामेछाप जिल्लाको पुरानो सदरमुकाम रामेछापबाट नजिक भालुखोप डाँडो रहेको छ । सदरमुकामबाट १९ कि.मि टाढा छ । समुन्द्री सतहदेखि १८३१ मिटर उचाईमा रहेको छ । अग्लो डाँडा भएकाले नेपाल टेलिकमको मुख्य रिपिटर टावरदेखि, एफ.एम रेडियोका समेत टावरहरु रहेका छन् । नेपाल टेलिकमको टावरमा चढेर वरिपरिको दृश्य अवलोकन गर्न सकिन्छ । टावर चढेर हेर्दा त्यहाँको चिसो हावाले थकाई नै मेटाउँछ । जुनारको पकेट क्षेत्र मानिने भालुखोपको काखैमा रहेको ओख्रेनीको गणेशटार मन्दीरको विशेषता छुट्टै छ । ऐतिहासिक ताराखसे आहाल पनि भालुखोपबाट नजिकै पर्दछ । त्यहाँ पार्क र पिक्निक स्पोर्ट समेत बनाइएको छ । भालुखोप डाँडो जंगलको बीचमा पनि पार्क र पिक्निक स्पोर्ट रहेको छ । दृश्यावलोकनको लागि आउने पर्यटकहरुको लागि भालुखोप डाँडा अत्यन्त उपयोगी मानिन्छ । रामेछाप नगरपालिकाको केन्द्र समेत भालुखोप आसपासमा रहने छ ।
कसरी पुग्न सकिन्छ ?
– काठमाडांैबाट मन्थली हुँदै भालुखोप, चिलाउनेखर्क, रामपुर जाने जुनसुकै बस वा टाटासुमो चढेर जान सकिन्छ । भालुखोप बजारबाट १५ मिनेट पैदल यात्रपछि डाँडामा पुग्न सकिन्छ । मन्थलीबाट गाडीमा एक घण्टा समय लाग्दछ ।
मुख्य दृश्यालोकन
– महाभारत डाँडा, गौरिशंकर नुम्बुर हिमाल लगायत अन्य हिम श्रृंखलाहरु, सिन्धुली, ओखल्ढुंगा, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, सोलु लगायत निकै टाढाटाढाको दृश्यालोकन
– रामेछाप जिल्लाको ८० प्रतिशत भू–भागको दृश्यालोकन
– चिसो हावापानीको अनुभव
– लेकाली वन र पशु चौपयाको चरिचरण अवलोकन
– ग्रामिण बजार भालुखोपको दृश्यालोकन
– जिल्लाकै जुनार पकेट क्षेत्रको रुपमा चिनिएको ओख्रनीको जुनार बगँैचा
– ओख्रेनीमै रहेको गणेशटार मन्दिर र नजिकै रहेको ऐतिहासिक ताराखसे आहाल
रामेछाप जिल्लाको ऐतिहासिक महत्व राख्ने शक्तिपिठ मानिने खाडादेवी मन्दिर मन्थली सदरमुकामबाट पश्चिम तर्फ पर्दछ । यो मन्दिर आदिवासी जनजाती पदमार्ग अन्तर्गत पर्यटकीय रुट भित्र पनि पर्दछ । मन्दिरमा काठमाडांै, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली लगायतका जिल्लाहरुबाट समेत पञ्चवली पूजा लिएर दर्शन गर्न आउने गर्दछन् । देवीको मन्दिरमा आएर आफूले चाहेको कुरा भाकल गर्दा पूरा हुने जनविश्वास रहेको छ । तत्कालिन राजा पृथ्वी नारायण शाहको शासनकालदेखि प्रत्येक दशैंको फुलापातीको दिन सरकारी पञ्चवली गर्न दरबारबाटै फूल अक्षता पठाउने गरेको किम्बदन्ती पाइन्छ । मन्दिर शक्तिपिठको लागि जति महत्व छ, दृश्यावलोकनको लागि त्यतिकै मनोरम छ । यहि मन्दीरको नामबाट गाउँपालिको नाम समेत खाँडादेवी गाउँपालिका राखिएको छ । मन्दिर परिसर समुन्द्री सतहदेखि २ हजार मिटर उचाइमा रहेको छ ।
कसरी पुग्न सकिन्छ ?
– मन्थलीबाट मन्दीरकै नामाबाट संचालित खाँडादेवी यातायातको बस टाटासुमो चढेर पुग्न सकिन्छ । चुल्ठेपानी ओर्लिएर करिव २० मिनेटको पैदल यात्रपछि पुग्न सकिन्छ । रिजर्भ गाडी वा मोटरवाइकमा जाँदा एक घण्टामै पुग्न सकिन्छ । मन्दिरसम्म नै सडक सुविधा रहेको छ ।
मुख्य दृश्यालोन
– मन्दिर दर्शन
– गौरिशंकर हिमालको दृश्यावलोकन
– सुनकोशी र तामाकोशी नदीको दृश्यालोकन, शैलुङ डाँडा लगायतका ठाउँहरुको अवलोकन
– दुर्लव जडिवुटी अवलोकन
– वौद्ध धर्म, संस्कृति तथा तामाङ समुदायको जनजीवन
– सीमान्तकृति थामी समुदायको जनजीवन
रामेछाप जिल्लाको सदरमुकामबाट त्रिवेणी नर्वदेश्वर महादेव मन्दिर १२ कि.मि टाढा पर्दछ । मन्दिर तामाकोशी र सुनकोशी नदीको संगम स्थलमा पर्दछ । यस स्थललाई त्रिवेणीघाट पनि भनिन्छ । गुठी संस्थाको व्यवस्थापनमा संरक्षीत यो मन्दिर ३ सय वर्ष पुरानो हो । सुरुमा मन्दिर परिसरमा महादेवको मात्र मन्दिर थियो । पछि रामसीता र कृष्ण मन्दिर थप गरिएको छ । हप्ताको सोमबार र मंगलबार व्रत लिने भक्तजनहरु पुजाआजाको लागि मन्दिर जाने गर्दछन् । बालचतुर्दशीको दिन सो मन्दिरमा मृतकको नाममा बत्ति बाल्दा पितृ पार तरी स्वर्गमा पुग्ने जनविश्वास रहिआएको छ ।
सोही आधारमा मृत्यु भएको आफन्तको नाममा वर्षको एक पटक ३ वर्षसम्म रातभर बत्ती बाली जागाराम बस्ने चलन छ । वत्ति बाल्ने अघिल्लो दिनदेखि नै नदी किनारामा ठूलो मेला समेत लाग्ने गर्दछ । मेला भर्न रामेछाप र छिमेकी जिल्ला सिन्धुली, ओखलढुङ्गा, काभ्रे, दोलखा लगायत जिल्लाका भक्तजन समेत आउने गर्दछन् ।
कसरी पुग्न सकिन्छ ?
– मन्दिर पुग्न सदरमुकाम मन्थलीबाट विहान ६ः०० देखि दिउँसो ३ः०० बजेसम्म काठमाडौं र तराई क्षेत्र जाने जुनसुकै रुटको गाडी चढ्न सकिन्छ । तामाकोशी किनारै–किनार पक्की सडक हुँदै २० मिनेटको यात्रापछि वेनी पुलको मुखमा ओर्लेर झोलुङ्गे पुल तरेपछि महादेव मन्दिर पुग्न सकिन्छ । वि.पी राजमार्ग हुँदै सिन्धुली तथा काठमाडौंबाट घुम्न आउँनेहरुले खाल्टे बजार झोलुङ्गे पुल छेउमा ओर्ली पुल तरेर आउन सकिन्छ ।
मुख्य दृश्यालोकन
– मन्दिरको दर्शन, अवलोकन
– तामाकोशी र सुनकोशी नदी मिसिएको संगम स्थल त्रिवेणी घाट
– स्थानीय अल्पसंख्यक माझी समुदायले सुनकोशीमा खियाइरहेको काठको परम्परागत डुङ्गा
– नदिमा जाल विछ्याई माछा मारिरहेको माझी समुदायको परम्परागत पेशा
– दिउँसो गर्मीमा ट्यु चढी पौडी खेलिरहेका माझी बालबालिका
– वृद्धाआश्रममा ७० वर्ष नाघेका ज्येष्ठ आमाहरुसँग भलाकुसारी
– जापान सरकारको सहयोगमा बनेको वि.पी राजमार्गको दृश्य अवलोकन
चिसापानी गढी सदरमुकाम मन्थलीबाट १४ कि.मि टाढा रहेको छ । मन्थली नगरपालिका वडा नं. ८ मा पर्ने गढी डाँडो १३ सय मिटरको उचाइमा पर्दछ । सिन्धुली गढी दरबारमा सेना पठाउनु अघि चिसापानी गढीमा तालिम दिएर मात्र पठाउने गरेको किम्बदन्ती पाइन्छ । गढी क्षेत्रमा भएका तत्कालिन तरबार, खुँडा, खुकुरी, चुरा, ओखल जस्ता ऐतिहासिक सामाग्रीहरु स्थानीयले सुरक्षित राखेका छन् । गढीबाट गौरीशंकर, नुम्बुर हिमाल, महाभारत डाँडा, मन्थली नगरि लगायत रामेछाप जिल्लाको ७० प्रतिशत भू–भाग देख्न सकिन्छ । पुरानागाउँको बाहुन्चुरा महादेवथान पनि यहाँबाट नजिक पर्दछ । पुर्खाहरुको वीरताको सम्मान गर्न यस ऐतिहासिक ठाउँमा होमस्टे निर्माणदेखि केवुलकार पु¥याउने सम्मको सोचाई स्थानीयको छ । गढी डाँडाको काँखमा शिद्धदेवीको आकृति भएको प्राकृतिक मूर्ति छ । स्थानीयले शिद्धदेवीलाई दशैंको फूलपाती र नयाँ वर्षको दिन फूल अक्षता चढाउने गरेका छन् । यस क्षेत्रको प्रचारप्रसारको लागि डकुमेन्ट्री समेत निर्माण भइसकेको छ ।
कसरी पुग्न सकिन्छ ?
– चिसापानी गढी पुग्न काठमाडांैबाट मन्थली हुँदै पुरानागाउँ, चिसापानीको लागि छुटेको रुटको गाडी चढ्नुपर्ने हुन्छ । गढीको काँखमा रहेको भतेरे टोलमा ओर्ली १५ मिनेटको पैदल यात्रा पछि डाँडामा पुग्न सकिन्छ । काठमाडांैबाट छुटेको सुमो (सानो जिप) करिव १० बजे मन्थली आइसक्छ भने ठूलो बस दिउँसो २ बजे तिर आइपुग्छ । १ घण्टाको कच्चि सडकको १४ कि.मि यात्रा पछि भतेरे टोल पुगिन्छ । मोटर वाइकमा यात्रा गर्दा २० मिनेट मात्र लाग्छ । गढी डाँडा छेउसम्म नै सडक निर्माण भइसकेको छ ।
मुख्य दृश्यालोन
– गौरीशंकर, नुम्बुर हिमाल, छिमेकी सिमाना जोडिएका जिल्ला दोलखा, सोलु, ओखलढुङ्गा, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक जिल्लाका समेत भु–भाग अवलोकन
– महाभारत डाँडो लगायत सदरमुकाम मन्थली नगरी र रामेछाप जिल्लाको ७० प्रतिशत भन्दा बढी भू–भागको दृश्यावलोकन
ड्ड तत्कालिन सेनाले परेट खेल्ने, तालिम गर्ने चौर, आफू सुरक्षित रहेर वैरीलाई अस्त्र हान्न प्रयोग गरिने पर्खाल
– स्थानीयको संरक्षणमा तत्कालिन सेनाले प्रयोग गरेको तरबार, खुँडा, खुकुरी, ओखल, चुरा, शालिग्राम, भाँडाकुडा आदि
– गढी परिसरमा रहेको प्राकृतिक शिद्धदेवीको मूर्ति
– तत्कालिन समय हेर्नको लागि प्रयोग गरिने पानी घडी रहेको घडिछाप जंगल
– तत्कालिन पोखरीबाट जलदेवतासँग भाँडाकुँडा मागी भोज भतेर खाने ऐतिहासिक भतेरे बस्तीको अवलोकन
– विश्वकै दुर्लभ बन्यजन्तु सालक एवं बासस्थान
– मन्थलीबाट गढी आउँदा मूल सडक नजिक पर्ने भिमशेनथान मन्दिर अवलोकन