प्रचण्ड पत्नी सीता दाहालको निधन

 बुधबार, असार २७, २०८० | onlinenews

२९ असार, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी धर्मपत्नी सीता दाहालको निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा आमाको निधनपछि छोरीहरु रेनु र गंगा दाहाल भावविह्वल बनेका छन् ।

बुधबार बिहान आमाको निधन भएपछि भरतपुर महानगरपालिकाको मेयर समेत दाहाल विमानस्थलबाट सिधै नर्भिक पुगेकी थिइन् । रेनुकी बहिनीसमेत गंगा पनि उस्तै भावविह्वल बनिन् ।

आमाको पार्थिव शरीर नजिक उभिएका उनीहरु आँखामा बलिन्द्र आँशु बनाउँदै ‘आमा’ भन्दै बेस्सरी रोए । छोरीहरु भावविह्वल बनेपछि नजिकै रहेका प्रचण्डले छोरीहरुलाई सम्झाउने र सम्हाल्ने प्रयास गरेका थिए । आफूपनि भावुक भएका प्रचण्डले छोरीहरुको काँधमा हात राखेर ‘अब जे नहुनु भयो म छु तिमीहरुको साथमा’ भन्दै सम्हाल्ने प्रयास गरेका थिए ।

प्रचण्डको भावुकताका बीच छोरीलाई सम्हाल्दै गर्दाको दृश्य निकै भावुक रहेको थियो । लामो समय पार्किन्सन सम्बन्धी रोगबाट ग्रसित सीता दाहालको विभिन्न अस्पतालमा उपचार भएको थियो । तर, स्वास्थ्यमा उनको थप जटिलताहरु आउँदा पछिल्लो समय नाजुक अवस्था बनेको थियो । यस्तो बेलामा प्रचण्डले व्यस्तताका बीच पनि श्रीमती सीताको निकै ‘केयर’ गर्ने गरेको सचिवालयका अधिकारीहरु बताउँछन् ।

समयमा औषधी खुवाएको–नखुवाएको, स्वास्थ्य अवस्थाबारे उनले उपत्यकाबाहिर र काममा व्यस्त हुँदासमेत सहयोगीहरुलाई फोन गरेर अपडेट लिने गरेको सचिवालयका एक सदस्यले बताए । यस्तै फुर्सदमा सीताको नजिक बस्ने कुराकानी गर्नेसहित निकै माया र हेरचाह गर्ने गरेको पनि ती अधिकारीको भनाइ छ । सीताको उपचारका लागि प्रचण्ड भारतदेखि सिंगापुर र अमेरिकासम्म धाएका थिए ।

यस्तै देशभित्रै पनि उनले आयुर्वेदिकदेखि विभिन्न उपचार समेत गराए । विक्रमसम्बत २०११ असार २१ गते कास्की जिल्लाको हेम्जामा आमा हरिकला पौडेल र बुवा महेश्वर पौडेलको कोखबाट जन्मिएकी सीता दाहालको २०२६ सालमा प्रचण्डसँग विवाह भएको थियो । विक्रमसम्बत २०२८ सालदेखि नै कम्युनिष्ट आन्दोलनमा आबद्ध सीता जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल नेकपा माओवादी केन्द्र को केन्द्रीय सल्लाहकार रहेकी थिइन् ।

पार्टी कामका लागि पञ्चायत कालमा लामो समय भूमिगत जीवन बिताएकी दाहाल जनयुद्ध सुरुवात भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रिय रहँदै आएकी थिइन् । जनयुद्धका आँधीमय वर्षहरूमा सिङ्गो पार्टीको अभिभावकका रूपमा पार्टीभित्रका चुनौती, सङ्कट, विवाद समाधानका निम्ति दाहालले समन्वयकारी भूमिका निर्वाह गरेकी थिइन् ।

हाल भरतपुर महानगरपालिका वडा नं १४ स्थायी ठेगाना भएकी दाहालका चार सन्तानमध्ये जेठी छोरी ज्ञानु दाहालको क्यान्सर र छोरा प्रकाश दाहालको हृदयाघातका कारण निधन भइसकेको छ ।

सल्लाहकार दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बुधबार बिहान ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिनेछ भने दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ ।

दाहालको निधनमा विभिन्न दलका नेताहरुले पनि दुःख व्यक्त गरेका छन् भने आजका विभिन्न औपचारिक र अनौपचारिक कार्यक्रम समेत स्थगित भएका छन् । दाहालको बुधबार बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा निधन भएको हो ।

प्रतिकृया

Add