रामेछाप मन्थलीको चिस्यान केन्द्र अझै आएन सञ्चालनमा

 शनिबार, भदौ १६, २०८० | onlinenews

 

रामेछाप– रामेछापको मन्थली नगरपालिका–१ सानीमदौमा निर्माण गरिएको चिस्यान केन्द्र अझै सञ्चालनमा आउन सकेको छैन । निर्माण सम्पन्न भएको डेढ वर्ष बितिसक्दा पनि चिस्यान केन्द्र सञ्चालनमा आउँन नसकेको हो ।
प्रदेश सरकारले हस्तान्तरण नगरेकाले सञ्चालन हुन नसकेको मन्थली नगरपालिकाको भनाइ छ । जिल्लामा उत्पादन हुने जुनार, आलु, किबिलगायतका फलपूmल तथा तरकारी भण्डारण गर्ने उद्देश्यले निर्माण गरिएको चिस्यान केन्द्र गत वर्ष नै सञ्चालनमा आउनु पर्ने भए पनि सञ्चालन हुने विषय अझै अन्योलमा छ । बागमती प्रदेश सरकारको ५ करोड र मन्थली नगरपालिकाको २ करोड १० लाख आर्थिक साझेदारीमा निर्माण भएको चिस्यान केन्द्र उपयोगविहीन भएको हो । चिस्यान केन्द्र सञ्चालनमा आएपछि ५ सय मेट्रिकटन सामान भण्डार गर्न सकिने प्राविधिक सुमन गौतमले जानकारी दिए ।

चिस्यान केन्द्रको भवन निर्माण गरिए पनि घेराबारा नगरिएकाले अहिलेकै अवस्थामा सञ्चालन गर्दा असुरक्षित हुने स्थानीय पूर्ण सुवेदीले बताए । घेराबारालगायतका बाँकी संरचना निर्माण गरी चिस्यान केन्द्र तत्काल सञ्चालनमा ल्याउनु पर्ने सुवेदीको भनाइ छ ।

निर्माण कार्य डेढ वर्ष पहिले नै सम्पन्न भए पनि सरकारको ढिलासुस्तीका कारण चिस्यान केन्द्र समयमै सञ्चालनमा आउन नसकेको निर्माण व्यवसायी उत्तम पौडेलले बताए । चिस्यान केन्द्र प्राविधिक परीक्षण समेत भइसकेकाले छिट्टै हस्तान्तरण गर्ने तयारी भइरहेको पौडेलको भनाइ छ ।

चिस्यान केन्द्रको भवन निर्माण सम्पन्न भए पनि घेराबारा, कार्यालय, पाले बस्ने घर, शौचालयलगायतका संरचना निर्माण हुन बाँकी नै रहेको मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले बताए । प्रदेश सरकारको ७० प्रतिशत र मन्थली नगरपालिकाको ३० प्रतिशत आर्थिक लगानीमा चिस्यान केन्द्र निर्माण गरिएकाले प्रदेश सरकारले हस्तान्तरण नगरी बाँकी काम गर्न नमिल्ने बताए । घेराबारालगायतका निर्माण गर्न बाँकी संरचनाहरु पनि प्रदेश सरकार र नगरपालिकाको साँझेदारीमा गर्ने कि नगरपालिकाले गर्ने भन्ने विषयम समेत टुङ्गो लाग्न बाँकी रहेको नगरप्रमुख श्रेष्ठले बताए ।

साझेदारीमा काम गर्ने हो वा नगरपालिकालाई जिम्मा दिने हो, त्यसको निश्चित गरेर हामीलाई जिम्मा दियो भने बाँकी कामको लागि प्रक्रिया अघि बढाउँछौँ, उनले भने । प्रदेश सरकारको मातहतमा संरचना निर्माण भएकाले प्रदेशले स्थानीय सरकारलाई जिम्मा नदिई बाँकी काम गर्न नमिल्ने भएकाले चिस्यान केन्द्र सञ्चालनमा आउन नसकेको नगरप्रमुख श्रेष्ठको भनाइ छ ।

प्रतिकृया

Add