विव्यसको अधिकार खोसेको भन्दै सर्वोच्चमा रिट, कात्तिक १३ गते पेसी

 शनिबार, अशोज २७, २०८० | onlinenews

 

 रामेछाप- मन्थली नगरपालिकाले विभिन्न विद्यालयहरुमा गरेको प्रधानाध्यापक नियुक्तिको विषयलाई लिएर सर्वोच्च अदालतमा रिट परेपछि कात्तिक १३ गतेको लागि पेसी तोकिएको छ ।
नगरपालिकाको प्रत्यक्ष हस्तक्षेपमा विद्यालय व्यवस्थापन समितिको अधिकार खोसी नेकपा एमाले निकट शिक्षक सङ्गठनमा आवद्ध शिक्षकहरुलाई प्रधानाध्यापकमा नियुक्ति गर्ने उद्देश्यले नगरपालिकाले सो कदम चालेको भन्दै नेकपा माओवादी केन्द्र रामेछापका नेता तथा मन्थली नगरपालिका–१३ हरिसिद्धि माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष रामबहादुर तामाङले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

नगरपालिकाले विद्यालय व्यवस्थापन समितिका अध्यक्षको अधिकार खोसेर गलत प्रक्रियाबाट प्रअ नियुक्ति गरिएकोले आफू कानुनी प्रक्रियामा गएको तामाङको भनाइ छ । तामाङले उत्प्रेषण परमादेशलगायत चाहिने आदेश गरी पाउँ भनी मन्थली नगरपालिका, नगर कार्यपालिका, नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा समिति, प्रधानाध्यापक छनोट समिति नगरपालिकाले नियुक्त गरेका ४० जना प्रधानाध्यपक समेतलाई विपक्षी बनाइ सर्वोच्चमा रिट गरेका थिए । मन्थली नगरपालिकाले प्रधानाध्यापकको लागि परीक्षा गराएर ४० विद्यालयमा प्रधानाध्यापक नियुक्त गरेको थियो ।

रिट नं. ०८० डब्लु ओ ०२९९ नम्बरको मुद्दामा सर्वोच्चले असोज २१ गते आदेश र सूचनाको प्रतिलिपिसहित सबै विपक्षीहरुलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न जिल्ला अदालत रामेछापमार्फत म्याद दिएको छ । सर्र्वाेच्च आदालतले दिएको म्याद बिहिवार विपक्षहरुले जिल्ला अदालत रामेछापमार्फत बुझेको पनि निवेदक तामाङले जानकारी दिए ।

रिटको विपक्षी बनाइएकाहरुमा नव नियुक्त प्रधानाध्यापकहरु नागकन्या माध्यमिक विद्यालय मन्थलीकी सुमित्रा खड्का, मन्थली माध्यमिक विद्यालयका प्रधानाध्यापक टंकप्रसाद दहाल, निलकण्ठेश्वर मावि कठजोरका कुशप्रसाद दाहाल, कालीदेवी आधारभूत विद्यालय टेकानपुरकी जानुका श्रेष्ठ, बालकल्याण आवि धारापानीका लेखबहादुर खत्री, ताम्राकौसिका आवि टेकनपुरका ललितबहादुर कार्की, गुन्जेश्वरी आवि पात्लेका लेखबहादुर थापा, महादेव आवि ठाँटीका रुद्रकुमार श्रेष्ठ, सेतीदेवी मावि सालुका गगनबहादुर श्रेष्ठ रहेका छन् ।

त्यसैगरी सेतीदेवी आवि तीनचोके सालुका रेजिन्द्र दङ्गाल, आवि सामलीस्थानकी उषा भट्टराई, देवीस्थान आवि सिम्लेकी शोभा काफ्ले, सिद्धेश्वर मावि गैराथोकका गणेश श्रेष्ठ, भिमेश्वर आवि डाँडागाउँकी थममाया मोक्तान, भैरवी मावि सुनारपानीका दिनेशकुमार कार्की, कालिकादेवी मावि भलुवाजोरका राजेश कर्ण, भिमेश्वर आवि डाँडाखर्ककी मुकुना घिमिरे सुवेदी, देवीस्थान आवि जमुनाबोटका प्रलाद सुवेदी, खाँडादेवी आवि सेलेघाटकी अमृता सिन्ह कर्ण, पञ्चकन्या आवि कुनाउरीका गोपाल घिमिरे, सिद्धेश्वर आवि हात्तीटारका भिमबहादुर नेपाली, आवि बेतिनीका भरतकुमार तामाङ, रुद्राक्षेश्वर मावि मुगिटारका हर्कबहादुर भुजेल, निलकण्ठेश्वर आवि बडिमुहानका डिल्लीप्रसाद ढुङ्गेल, सृजनात्मक आवि ओडारेकी सुनिता कार्की राय रहेका छन् ।

नवचन्द्र आवि पात्लेका बेदबहादुर बुढाथोकी, दुर्गादेवी आवि भटौलीकी सुनिता तामाङ, सेतीदेवी आवि ठेडिखोलाकी दुर्गाकुमारी श्रेष्ठ, नवदुर्गा आवि आसिखेतका राजु मुङ्ग्राती, भिमेश्वर रुद्र मावि चिसापानीका देवकुमार श्रेष्ठ, जगदम्बा आवि चिउरीपानीका राजकुमार श्रेष्ठ, कालिदेवी आवि पडारेका शालिग्राम घिमिरे, नर्मदेश्वर आवि गाइखुराकी हिरा बोहरा पुरी, विद्याश्रम आवि जखनीटारकी दिपा थापा, सरस्वती मावि चनखुका श्रीप्रसाद घिमिरे, शारदा मावि गेलुका अर्जुन श्रेष्ठ, कालिका आवि जल्किनीका सुशीलकुमार भण्डारी, रानीकुञ्ज आवि डाँडागाउँका भलकबहादुर श्रेष्ठ पशुपति आवि भुलभुलेका प्रह्लाद खत्री, भिमेश्वर आवि कर्थलीका कुमार तामाङ, मिल्ती जनज्योति आवि बिस्लीकी सफल गोले रहेका छन् ।

प्रधानाध्यपाक भनी विपक्षी बनाइएकाहरुमध्ये मन्थली नगरपालिका–१० सरस्वती मावि चनखुका श्रीप्रसाद घिमिरे र मन्थली नगरपालिका–८ जगदम्बा आवि चिउरीपानीका राजकुमार श्रेष्ठले भने हाल आपूm प्रअको जिम्मेवारीमा नरहेको बताएका छन् ।

प्रअको परीक्षामा पास भएका घिमिरेलाई मन्थली नगरपालिकाले गएको साउन १६ गते च. नं. १५९ बाट प्रधानाध्यापकको जिम्मेवरी दिई पठाएकोमा उनलाई विद्यालयले हाजिर नगराएपछि पुनः भदौ ११ गते च. नं. ४२६ को पत्रबाट मनपाले यसअघि कामकाज गर्दै आएको श्री मनकामना मावि नाटिलामै फिर्ता पठाएको थियो । सरस्वती मावि चनखुका प्रअ गोविन्दबहादुर कार्कीले समेत राजीनामा दिएपछि सो विद्यालय प्रअविहीन अवस्था छ ।
त्यसैगरी प्रअ भनिएका जगदम्बा आवि चिउरीपानीका राजकुमार श्रेष्ठले आपूm सो विद्यालयको शिक्षक मात्र भएको बताउँछन् । उनले आपूm प्रअ छनोट प्रक्रियामै सामेल नभएको बताएका छन् ।

प्रतिकृया

Add