‘१६ वर्ष पारी नागरिकता जारी’ अभियानः नागरिकतामा पतिको नाम राख्नु अनिवार्य छैन : प्रजिअ निरौला

 शनिबार, माघ १३, २०८० | onlinenews

 

रामेछाप- रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले विवाहपछि महिलाले आफ्नो नागरिकतामा पतिको नाम राख्नु अनिवार्य नभएको बताइन् । विवाहपछि नागरिकतामा पतिको नाम राख्नु अनिवार्य छैन भन्ने अज्ञानताका कारण कतिपय सन्दन्र्भमा महिलाहरू समस्या पर्ने गरेको बताइन् । श्रीमानले छोडेमा र श्रीमतीले अर्को विवाह गर्नु परेको अवस्थामा नागरिकतामा पतिको नाम कायम भएकै कारण महिलाहरूले समस्या झेल्नु परेको प्रजिअ निरौलाले बताइन् । प्रजिअ निरौलाले भनिन्, ‘नागरिकतामा पतिको नाम राख्नै पर्छ भन्ने कानुनी व्यवस्था छैन । समयमै नागरिकता बनाउने हो भने यो समस्याको समाधान हुन्छ । त्यसैले हामीले ‘१६ वर्ष पारि नागरिकता जारी’ भन्ने अभियान सञ्चालन गरेका हौँ ।’

नागरिकतामा पतिको नाम कायम गरेकै कारण कतिपय अवस्थामा महिलाहरूले समस्या भोगिरहनु परेको कारण जिल्ला प्रशासन कार्यालय रामेछापको अगुवाइमा जिल्लाका सबै पालिकाहरूमा यो अभियान सञ्चालन गरिएको प्रजिअ निरौलाले बताइन् । शनिवार मन्थली नगरपालिकामा आयोजना गरिएको अपराध सम्बन्धी सचेतनामूलक र जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएकी हुन् । छोरा वा छोरी दुवैको १६ वर्ष पुग्नासाथ नागरिकता बनाइदिने हो भने बुबाआमाको छोराछोरीप्रतिको आधा दायित्व पूरा हुने साथै नागरिकताको कारण आउने समस्या समाधान हुने प्रजिअ निरौलाको भनाइ छ ।


जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लाका सबै पालिकाहरूमा सञ्चालन गरेको ‘१६ वर्ष पारि नागरिकता जारी’ अभियानअन्तर्गत जिल्लाका अन्य ७ वटा पालिकामा सम्पन्न गरी मन्थली नगरपालिकामा शनिवार आयोजना गरेको थियो । जिल्ला प्रशासन कार्यालयले पालिकास्तरीय उक्त अभियान सञ्चालन गरेपछि वडाबाट गरिने सिफारिसलगायतका कार्यहरूमा सुधार आएको प्रजिअ निरौलाले बताइन् । अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रशासन कार्यालयमार्फत प्रवाह हुने सेवाहरूका बारेमा जानकारी गराउनुका साथै अपराध नियन्त्रण सम्बन्धी अपनाउनु पर्ने सचेतनाका बारेमा समेत छलफल गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालयमा आउने ९० प्रतिशत समस्या समयमै नागरिकता नलिएकै कारण उत्पन्न भएको पाइएपछि अभियान सञ्चालन गरिएको प्रजिअ निरौलाको भनाइ छ । जिल्ला प्रशासन कार्यालय रामेछापले गत भदौ १६ गतेबाट सञ्चालन गरेको उक्त अभियानअन्तर्गत अन्तिम पालिकाको रुपमा मन्थली नगरपालिकाबाट अभियान समापन गरेको हो ।

नागरिकता लगायतका सरकारी डकुमेन्ट बनाउन आवश्यक कागजातको बारेमा जिल्ला प्रशासन कार्यालय रामेछापका नायब सुब्बा लक्ष्मण भुजेलले जानकारी गराएका थिए । उनले नेपालको संविधान र ऐन कानुनअनुसार प्रदान गरिने वंशज, अङ्गीकृत, गैरआवासीय नेपाली र सम्मानार्थ नेपाली नागरिकताका बारेमा जानकारी दिँदै नागरिकता सिफारिस गर्दा वडा अध्यक्ष र वडा सचिवले ध्यान दिनुपर्ने कुराका बारेमा प्रस्ट्याएका थिए ।

सरकारी डकुमेन्ट बनाउन आवश्यक कागजातको बारेमा जानकारी नहुँदा नागरिकले दुःख पाउने भएकोले त्यसबारेमा जनप्रतिनिधिलाई जानकारी दिन पनि यो अभियान सञ्चालन गरिएको उनको भनाइ थियो । नायब सुब्बा भुजेलले जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा र वडा कार्यालयले सिफारिस तथा प्रमाणित गर्दा अपनाउनु पर्ने सजगता, जिल्ला प्रशासन कार्यालयले प्रवाह गर्ने सेवाका लागि वडाले सिफारिस गर्दा आवश्यक पर्ने कागजात, प्रक्रिया, पालना गर्नुपर्ने ऐन नियम तथा सिफारिको ढाँचाका बारेमा समेत स्पष्ट पारेका थिए ।

सो कार्यक्रममा मन्थली नगरपालिका–७ का वडाध्यक्ष भुवनहरि प्रसाईँले जिल्ला प्रशासनले सञ्चालन गरेको ‘१६ वर्ष पारि नागरिकता जारी’ अभियानले अनभिज्ञताका कारण दुबिधा भएको विषयहरूमा प्रस्ट बनाएको बताए । अभियानले सेवा प्रवाहको विषयमा जनप्रतिनिधिलाई धेरै ज्ञान प्राप्त भएको उनको भनाइ छ । मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईँले प्रशासनले सञ्चालन गरेको यो अभियानले नागरिकको मौलिक हक भन्दा पहिलो रहेको नागरिकताको सवालमा धेरै कुरा प्रस्ट पारेको बताए ।

प्रतिकृया

Add