ऐन नबन्दा प्रशासनिक क्षेत्रमा समस्या : सभामुख घिमिरे

 बुधबार, फाल्गुन १६, २०८० | onlinenews

 

 रामेछाप– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले निजामती सेवा ऐन नबन्दा प्रशासनिक क्षेत्रमा समस्या भएको बताए । विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसदबाट चाँडै पास हुने पनि सभामुख घिमिरेले बताए ।

मङ्गलवार रामेछापको मन्थली नगरपालिकामा सरोकारवालासँग भएको सामूहिक भेटघाट कार्यक्रममा सभामुख घिमिरेले सकेसम्म छिटो शिक्षा विधेयक पास गर्ने कुरामा आफू प्रयत्नरत रहेको बताउनुभयो । सम्भवतः संसद्को यही सत्रबाट शिक्षा विधेयक पास हुने उहाँको विश्वास छ । उहाँले भन्नुभयो ‘‘संसदबाट चाँडै शिक्षा विधेयक पास गर्न प्रयत्न जारी छ । सोमबार मात्रै शिक्षासँग सम्बन्धित समितिलाई यो शिक्षा विधेयकमाथि छलफल चलाउनु र प्राथमिकतामा राख्न भनेको छु । आशा गरौँ, संसद्को यहीँ सत्रमा विद्यालय शिक्षा विधेयक कानुन बन्छ ।’’

विद्यालय शिक्षा विधेयक सम्बन्धी कानुनहरू बनेपछि शिक्षा क्षेत्रमा देखिएका एक हदसम्मका समस्याहरू समाधान हुने उहाँको विश्वास छ । उहाँले भन्नुभयो ‘‘विद्यालय शिक्षा विधेयको रुपबाट अहिले समितिमा छलफलमा छ । संविधान सम्मत ढङ्गबाट कतिपय कानुनहरू नबन्दा, ऐनहरू पास नहुँदा कानुनको अभावमा हिजो अप्ठेरो भयो । अहिले शिक्षा विधेयकलाई तत्काल एक हदसम्मको मात्रै भए पनि पास गर्ने प्रयत्नहरू भइरहेका छन् ।’’

समितिबाट सबका सब भनेजस्तो नभए पनि अहिले एक हदसम्मको मात्रै भए पनि पास गरेर ल्याउनका लागि आफूले प्रयत्न गरिरहेको उहाँको भनाइ छ । शिक्षा क्षेत्रको सुधार गर्नुको विकल्प छैन भन्ने मनसायले शिक्षा क्षेत्रको विकासलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको मन्थली नगरपालिकालाई शिक्षा क्षेत्रको विकास गर्ने अभियानमा प्रभावकारी ढङ्गले लाग्न आग्रह गर्नुभयो । निजामती सेवा ऐन नहुँदा सबै तका सरकारकारलाई प्रशासनिक क्षेत्रमा काम गर्न अप्ठेरो भइरहेको पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘‘निजामती सेवा ऐन नहुँदा सङ्घीय, प्रदेश र स्थानीय सरकारलाई प्रशासनिक क्षेत्रमा काम गर्नलाई अप्ठेरो भएको छ । यो कुरा सरकारले महसुस गरेको छ । यसलाई सरकारले पटक पटक पेस गर्दा पनि ढिलाइ भइरहेको छ ।’’ अहिलेको सरकाले यो विषयको महसुस गरेर संसद्मा निजामती सेवा ऐन पेस गर्ने तयारी गरिरहेकाले सरकारले पेस गरेपछि संसद्मा प्राथमिकताका साथ अगाडि बढाइने उहाँको भनाइ छ ।

प्रतिकृया

Add