बाम्तीमा मोतियाविन्दु शल्यक्रिया शिविर

 शुक्रबार, फाल्गुन १८, २०८० | onlinenews

 

रामेछाप- रामेछाप जिल्लाका उमाकुण्ड गाउँपालिकाको बाम्तीभण्डारमा दुई दिने आँखाको मोतियाविन्दु शल्यक्रिया शिविर सञ्चालन गरिएको छ । उमाकुण्ड गाउँपालिका–२ बाम्तीभण्डारमा आयोजना गरिएको शिविरमा ५० जना मोतियाविन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ ।

गाउँपालिकाको वडा–वडाबाट छनोट भएका मोतिया बिन्दुका बिरामीहरुको शिविर मार्फत शल्यक्रिया गरिएको उमाकुण्ड गाउँपालिकाले जनाएको छ । पालिकाले आफ्ना नागरिकको आँखा स्वास्थ्यलाई विशेष महत्व दिएर शिविर सञ्चालन गरिएको बताएको छ ।

शल्यक्रिया शिविर सञ्चालन गर्नुअघि फागुन १ गते देखि ८ गतेसम्म वडास्तरमा आँखा जाँच शिविर सञ्चालन गरेको थियो । वडास्तरीय शिविरका क्रममा उमाकुण्ड गाउँपालिकामा १ हजार ३ सय ४९ जनाको आँखा जाँच गरिएको थियो । जसमा ४ सय ४५ जना पुरुष र ८ सय ४ जना महिला रहेका थिए ।

शिविरबाट छनोट भएका ५० जनाको मोतिया बिन्दुका बिरामीहरूको बाम्तीमा शिविर सञ्चालन गरी शल्यक्रिया गरिएको हो । शल्यक्रियामा डा. रोजिता पराजुली लगायत ११ जनाको स्वास्थ्यकर्मीहरुको टोली सहभागि रहेको थियो । उमाकुण्ड गाउँपालिकाको आयोजना र रामेछाप सर्किजल आँखा केन्द्र मन्थली, तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँको सहकार्यमा आयोजनामा मोतियाविन्दु शल्यक्रिया शिविरमा सञ्चालन गरिएको थियो ।

प्रतिकृया

Add