रामेछाप नगरपालिकाको वडामा थापा जेठा र कार्की कान्छा

 सोमवार, जेष्ठ ८, २०७४ | onlinenews

९ जेष्ठ २०७४ रामेछाप– रामेछाप नगरपालिकाबाट निर्वाचित ९ जना वडा अध्यक्ष मध्य वडा नं.१ का नरबहादुर थापा ६५ वर्ष पूरा भइसक्नु भएको छ । त्यस्तै वडा नं. ७ का शमिर कार्कीले भर्खरै २५ वर्ष मात्र पूरा गर्नुभएको छ । उमेरमा देखिएको अन्तरजस्तै थापासँग पञ्चायति व्यवस्था, बहुदलीय व्यवस्था, प्रजातन्त्र र लोकतान्त्रिक व्यवस्थाको राम्रो अनुभव छ । तर उमेरले कान्छा शमिरलाई २० वर्ष अघि भएको स्थानीय निकायको निर्वाचनको समेत सम्झना छैन ।
उमेरले ४० वर्ष फरक रहेका उनीहरुलाई वडाका जनताले समान हैसियत र जिम्मेवारी सहित नगरपालिकाको प्रतिनिधि चयन गरेका छन् । थापा एमालेबाट निर्वाचित् हुनुभएको हो भने कार्की काँग्रेसबाट ।
निर्वाचन अघि थापाले परिवारको गुजाराको लागि राजनीतिको अलावा लेखापढी ब्यवसाय गर्दै आउन्भएको थियो भने कार्की राजनीतिसँगै मनिट्रान्सफर र निर्माण व्यवसायि समेत हुनुहुन्थ्यो ।
उमेरले पाका भए पनि थापा अंशबण्डा, लेनदेन, तमसुक, छोडपत्र, लगायतका कागज तयार गर्न आँखामा चस्मा लगाउनु नपर्ने बताउनुहुन्छ । कक्षा ८ सम्मको औपचारिक अध्ययन पूरा गर्नुभएका थापाले लामो समयदेखि गाँउमा विभिन्न पदीय जिम्मेवारी समेत सम्हाल्दै आउनु भएको थियो ।
यता शमिरले भने–सरकारमा पहिलो पटक प्रतिनिधित्व गर्ने अवसर पाउनु भएको छ ।
थापा तात्कालिन पञ्चायति व्यवस्था हुँदा २०३४ सालबाट २०३९ सालसम्म गाँउ पञ्चायतको वडा अध्यक्ष हुनुहुन्थ्यो । फेरि जनताले २०३९ देखि २०४२ सम्म उपप्रधान पञ्च बनाइदिए । उहाँले जनतालाई दिएको विश्वास, प्रभावकारी कामको कारण २०४२ देखि २०४६ सम्म निर्विरोध गाँउ पञ्चायतको प्रमुख बनाइदिए ।
२०४७ सालको बहुदलीय व्यवस्था लागू भएपछि उहाँ २०५१ सालमा काँग्रेसबाट पहिलोचोटी चुनावी मैदानमा उत्रनुभयो तर जीत उहाँको पक्षमा आएन । फेरि २०५४ मा काँग्रेसबाट एमालेमा प्रवेश गरि गाँउ कमिटिको अध्यक्षको भुमिकामा हुनुहुन्थ्यो ।
२०५६ को ताका द्वन्दका कारण गाँउमा बस्न सक्ने अवस्था भएन । बाँच्नकै लागि काठमाडौं जानुभयो तर उहाँ तत्कालिन सेनाबाट छलिन सक्नु भएन । उहाँलाई तत्कालीन शाही नेपाली सेनाले २०५८ सालमा  भूमिगत माओवादीलाई सहयोग गरे वापत १९ दिन हिरासतमा लियो । यतिबेला उहाँ हिरासतका दिन कल्पना समेत गर्न सक्नुहुन्न ।
थापा र कार्कीले संघीय व्यवस्थापछि भएको पहिलो स्थानीय तहको निर्वाचन मार्फत जनताले दिएको म्यान्डेड पुरा गर्न कटिबद्ध रहने बताउनु भएको छ । भूकम्प पीडितलाई घर निर्माण लागि यथासक्य चाँडो सहयोग गर्ने, गुनासो भरेका जनताको आवाजलाई सम्वन्धित् निकायसम्म पु¥याउने योजना पहिलो प्राथमिकतामा रहेको बताउनुहुन्छ कार्की । त्यस्तै खानेपानी, मोटरबाटो लैजाने पनि कार्कीको योजना भित्र परेका छन् । जनताले दिएको आश्वासन पुरा गरी छाड्ने समेत प्रतिबद्धता ब्यक्त गर्नुभएको छ कार्कीले । दश जोड दुईसम्मको अध्ययन गर्नु भएका शमिर युवा पुस्ताको पनि अगुवा हुनुहुन्छ । यता थापा पनि जीवनको अन्तिम घडीसम्म जनताको सेव गर्ने सपना छ । हिजोदेखि जनताकै सुख अनि दुःखमा साथ दिए, अब जनताकै मनोभावना अनुरुपको काम गरी जनता कै काखमा मर्ने सोच छ, थापाले भन्नुभयो ।

प्रतिकृया

Add