आर्थिक वर्षको अन्तिममा सडक कालोपत्रे सुरु

 शुक्रबार, जेष्ठ २६, २०७४ | onlinenews
  • राजिव कार्की

२६ जेष्ठ २०७४ रामेछाप– आर्थिक वर्ष सकिनै लाग्दा रामेछाप नगरपालिका ८,रामेछाप माथिल्लो बजार (जिरो प्वाइन्ट) देखि जिल्ला अस्पताल रामेछाप सम्मको ५ सय मिटर सडक कालोपत्रे गर्ने काम धमाधम सुरु भएको छ ।
माथिल्लो बजार हुँदै अस्पतालसम्म पुग्ने साँघुरो सडक फराकिले पार्ने, तार जाली हाल्ने र स्तरोन्नति सहितको काम तीव्र गतिमा अगाडी बढाइएको हो । नगरपालिका अन्तर्गतको उपभोक्ता समिति मार्पत सडक स्तरोन्नति तथा कालोपत्रेको काम अगाडि बढाइएको हो
चालु आर्थिक वर्ष २०७३÷०७४ को असार मसान्तमा सम्पन्न गर्ने गरि रामेछाप नगरपालिकाबाट ९२ करोड रुपैयाँ बजेट विनियोजन भए पनि सडकको स्टामेट गर्न ढिलाई भएका कारण काम सुरु हुन सकेको थिएन ।
आर्थिक वर्ष सकिनै लाग्दा विनियोजित बजेट फ्रिज हुने सम्भावना बढदै गएपछि उपभोक्ता समितिले सडक सुधार तथा स्तरोन्नतिको काम थालेको हो ।
हाल सडकको खाल्डाखुल्डी पूर्ने , फराकिलो पार्ने, ढल निकासा, कटिङ वाल उठाउने, तार जाली भर्ने काम भैरहेको छ । सरकारी मापदण्डअनुसार सडकको स्तरोन्नतिका लागि स्थानीय बासिन्दाले जग्गा निःशूल्क उपलब्ध गराएका छन् । नगरपालिकाको ९२ लाख बाहेक स्थानीय उपभोक्ता समिति र बासिन्दाले १५ प्रतिशत श्रमदान गर्ने स्थानीय जिवन श्रेष्ठले जानकारी दिनुभयो ।
रामेछापको माथिल्लो बजारको जिरो किलोदेखि जिल्ला अस्पताल सम्मको सडक लम्वाइ ५ सय मिटर भए पनि तत्काल २ सय ५० मिटर मात्रै कालोपत्रे हुने भएको छ । नगरपालिकाबाट विनियोजित रकम पूरै सडक कालोपत्रे गर्न अपुग भएकाले हाललाई २ सय ५० मिटर मात्रै सडक कालोपत्रे गरिने सडक उपभोक्ता समितिले जनाएको छ ।
बाँकी सडकको कालोपत्रेको लागी पनि छिट्टै प्रक्रिया सुरु गरिने नगरपालिकाले जनाएको छ । जिल्ला अस्पतालसम्मको सडक विस्तारसंगै कालोपत्रे हुने भएपछि त्यस क्षेत्रका स्थानीय बासन्दिा हर्सित भएका छन् ।
सडक निर्माणपछि अस्पताल आउने विरामी, एम्बुलेन्स तथा दैनिक यात्राका लागि सहज हुने स्थानीयको अपेक्षा छ ।

प्रतिकृया

Add