प्रहरीले उजुरी दर्ता गर्न मानेनः पीडित परिवार

 शनिबार, असार १७, २०७४ | onlinenews

         राजिव कार्की
१७ असार २०७४ रामेछाप


     यही असार ८ गते बिहीबार रामेछापको सदरमुकाम मन्थलीमा झुन्डिएको अवस्थामा फेला परेकी १७ वर्षीय इन्दिरा दमाइको, श्रीमान र उनको परिवारले योजनावद्ध रुपमा हत्या गरेको भन्दै मृतकको माइती पक्षले न्यायको लागि आग्रह गरेका छन् ।
महिला संघ जिल्ला शाखा रामेछाप र मृतक दमाइको माइती पक्षले  शुक्रबार सदरमुकाम मन्थलीमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरि मृतक इन्दिराका सासु ससुरा र श्रीमानले कुटपिट गरि हत्या गरेको आरोप लगाएको छ । पत्रकार सम्मेलन मार्फत उनीहरुले न्यायको लागि अपिल पनि गरेका छन् ।
मृतक दमाई ६ महिनाको गर्भवति समेत रहेकाले छोरीको मात्र हत्या नभई पेटमा रहेको बच्चाको पनि हत्या भएको भन्दै हत्यारालाई कानूनी दायरामा ल्याउन न्यायकर्मी, मानव अधिकारवादी संघसंस्था र प्रशासनसँग सहयोगक गरिदिन पत्रकार सम्मेलन मार्फत मृतकको बुबा ढालबहादुरले अपिल गरेका छन् ।
मृतकका बुबा ढालबहादुर दमाइले छोरी झुन्डिएको दलिन र भुँइको उचाई एक मान्छे पनि नभएको, मृतकले राम्रैसँग भुइमा खुट्टा टेकिरहेको र पासो लागेको सल सुर्कानिसम्म नपरेको अवस्था फेला परेकाले त्यो आत्महत्या हुनै नसक्ने बताए ।
१ वर्षअघि मन्थली नगरपालिका–३ कठजोरका २२ वर्षिया हरि नेपालीसँग भागी बिवाह गरेकी इन्दिरालाई यस अघि पनि सासु ससुरा र श्रीमानले समेत मदिरा सेवन गरि दाइजो नल्याएको, रुप नपरेको र पैसा नकमाएको भन्दै गालीगलौज र कुटपिट गर्ने गरेको बुबा ढालबहादुरको आरोप छ ।
कोठाभित्र भएका सरसामान छरपस्ट भएको, ढोकामा चुकुल नलगाएको र शरीरका विभिन्न अङ्गमा कुटपिटको निलडाम रहनु र घटना लगत्तै ज्वाई हरि नेपाली भाग्दै गर्दा सेलेघाटबाट पक्राउ पर्नुले पनि हत्या गरेको पुष्टि हुने ढालबहादुरको भनाई छ । तर, पोष्टमार्टम रिपोर्टमा आत्महत्या देखिनु र प्रहरीले पनि जाहेरी दर्ता गर्न नमान्नु शंकाको विषय भएको उनले बताए ।
घटनाको प्रकृति र नेपालीको परिवारको गतिविधिले मृतक दमाइको आत्महत्या नभई हत्या गरिएको पुष्टि हुने दावी गर्दै किटानी जाहेर दिन जाँदा जिल्ला प्रहरी कार्यालय रामेछापले जाहेरी दर्ता गर्न अस्वीकार गरेको माइती पक्षको भनाई छ ।
मृतकको बुबा ढालबहादुरले भने– ‘रामेछाप जिल्लामा डिएसपी भएर आएदेखि नै पीडक र अपराधिहरुलाई कारबाही र पीडितलाई न्यायको सास फेर्ने वातवरण सिर्जना गरेका डिएसपी कुमोध ढुङ्गेलले आफ्नी छोरीको हत्यारालाई पनि कार्वाही गरि न्याय दिलाउने आशमा जाहेरी लिएर पटक पटक प्रहरी कार्यालय पुग्दा पनि वास्ता नगर्दा दुःख लागेको छ ।’

प्रतिकृया

Add