बाँकेका अधिकांश मतदाताहरु परिचय पत्र लिनै आएनन्

 बुधबार, मंसिर २०, २०७४ | onlinenews

बाँके– दोश्रो चरण अन्तर्गत बिहीबार ४५ जिल्लामा हुने निर्वाचनको लागि सबै मतदान केन्द्रबाट परिचयपत्र वितरण गर्ने व्यवस्था मिलाइए पनि बाँकेका अधिकांश ठाउँमा मतदाताहरु परिचय पत्र लिन नगएको पाइएको छ ।
तराई मानव अधिकार रक्षक सञ्जाल थर्ड एलायन्स उप क्षेत्रीय कार्यालय नेपालगञ्जले बुधबार डुडुवा गाउँपालिका अन्तरगतका वडाहरु र नेपालगंज उपमहानगर पालिका–६ मा परिचाय पत्र लिन आउँने मतदाताको संख्य अत्याधिक न्यून पाइएको जनाएको छ ।
नेपालगञ्ज–६ हडियाबाबा मतदान केन्द्रमा २ हजार ८३ मतदाता रहेकामा २ सय जनाले मात्र परिचय पत्र लिएको मतदान अधिकृत मधुसुधन रेग्मीले जानकारी दिए । अधिकृत रेग्मीले फुल्टेक्रामा मतदाता शिक्षाको कमीका कारण मतदाताहरु परिचयपत्र लिन नआएको बताए ।
यस्तै डुडुवा गाँउपालिका–२ को नेराप्रावि सन्तलियमा रहेको मतदान केन्द्रमा १ हजार २ सय २८ मतदाता मध्य १ सय ३१ जनाले मात्र मतदाता परिचाय पत्र लिएको उनले बताए ।
मतदान अधिकृत कृष्ण बहादुर केसीले स्थानीय तहको निर्वाचनमा परिचय पत्र लिइसकेकाहरु पुन लिन नआएको बताउदै नयाँ मतदाताहरुमा निर्वाचन सम्बन्धी शिक्षाको कमीका कारण परिचय पत्र लिन नआएकोे बताए ।
थर्ड एलायन्सका उप क्षेत्रीय प्रमुख आलम खानले मतदाता शिक्षा गाउँसम्म पुग्न नसकेको कारण मतदाताहरु परिचय पत्र लिन नआएको बताए । प्रमुख खानले सिमा नाकासँग जोडिएका वडाहरुलाई विशेष ध्यानमा राखी शान्ति सुरक्षालाई मजबुत बनाई स्वतन्त्र र भय रहित वातावरणमा निर्वाचन सम्पन्न गर्न र मतदाताको अधिकारको संरक्षण गर्न सम्बन्धीत सबैसँग अपिल गरेका छन् ।
खानले संयमित र शान्तिपूर्ण ढङ्गबाट निर्वाचन प्रक्रिया अगाडि बढाउन राजनितिक दलहरुलाई समेत आग्रह गर्दै मतदाताहरुलाई निर्भयतापूर्वक आफनो मताधिकारको प्रयोग गर्न पनि अपिल गरेका छन् ।
निर्वाचनमा खटिएका कर्मचारीलाई निर्वाचनमा निष्पक्ष भूमिका निर्वाह गर्न र मानव अधिकारको पूर्णसम्मान गर्न थर्ड एलायन्सले आग्रह गरेको छ । साथै निर्वाचनको समाचार संकलन गर्न खटिएका पत्रकारहरु, मानव अधिकारकर्मी, पर्यवेक्षकहरुलाई सहज रुपमा समाचार संकलन र अनुगमन गर्ने वातावरण बनाउन पनि सम्बन्धित पक्षसँग अनुरोध गरेको छ ।

प्रतिकृया

Add