विपद् ब्यवस्थापनमा आधारित बृत्तचित्र बिमोचन

 सोमवार, फाल्गुन १४, २०७४ | onlinenews

रामेछाप । जिल्ला दैवी प्रकोप उद्धार समिति रामेछापको संयोजनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सामुदायिक विकास समाज, मिसन इष्टलगायत संघसंस्था र जिल्ला दैवी प्रकोप उद्धार समिति अन्तर्गतका विषयगत क्षेत्रहरुको साँझेदारीमा निर्माण गरिएको विपद् ब्यवस्थापन सम्बन्धि बृत्तचित्र बिमोचन गरिएको छ ।
गत भाद्र २० गते रामेछापको सदरमुकाम मन्थलीस्थित हवाई मैदानमा गरिएको विपद्को बेला खोज, उद्धार र पुनस्थापना सम्बन्धि नमूना अभ्यासमा आधारित “विपद् प्रतिकार्यमा आधारित नमूना अध्यासको बृत्तचित्र” नाम बृत्तचित्र बिमोचन गरिएको हो ।
बृत्तचित्र नेपाली सेनाका श्री नम्बर ९ बाहिनीपति सहायक रथी सुरेश कुमार कार्कीले एक कार्यक्रमकोबीच बिमोचन गरेका हुन् ।
बिमोचन गरिएको बृत्तचित्रमा बाढी, पहिरो, हावाहुरी, चट्याङ, आगलागी र भूकम्पजस्ता प्रकोपबाट निम्तन सक्ने विपद्को सामना कसरी गर्न सकिन्छ भन्ने विषयलाई आधार मानिएको छ ।
रामेछाप जिल्ला हावाहुरी, चट्याङ, सुख्खा पहिरो र बाढिजस्ता प्रकोपको उच्च जोखिममा रहेकोले प्रतिकार्यमा सहयोग पु¥याउने उद्देश्यले सोही विषयमा आधारित बृत्तचित्र निर्माण गरिएको नन्दा बक्स गणका गणपति प्रमुख सेनानी प्रमोदकुमार थापाले बताए ।
यो बृत्तचित्रले सार्वसाधारण ब्यक्तिहरुलाई समेत विपद् प्रतिकार्यमा कसरी जुट्नुपर्छ भन्ने जानकारी दिने पनि प्रमुख सेनानी थापाले बताए ।
विपद् प्रतिकार्य सम्बन्धि जनजागरण फैलाउन र विपद् प्रतिकार्यमा हुने गरेको कमीकम्जोरीहरुलाई सुधार गर्ने उद्देश्यले यो बृत्तचित्र निर्माण गरिएको पनि थापाले बताए । बिमोचन गरिएको सो बृत्तचित्र जिल्लाका नगरपालिका, गाउँपालिका र विद्यालयहरुलाई पनि प्रदान गरिएको छ ।

सोही अवसरमा सामुदायिक विकास समाज अन्तर्गत मिसन इष्ट नेपालको सहयोगमा खरिद गरिएको विपद् प्रतिकार्य सामाग्री जिल्ला दैवी प्रकोप उद्धार समिति रामेछापलाई हस्तान्तरण गरिएको छ ।
सो सामान दैवि प्रकोप उद्धार समितिले लगत्तै नेपाली सेनाको नन्दा बक्स गणलाई हस्तान्तरण गरेको छ ।
हस्तान्तरण गरिएको सामानहरुमा ढलान काट्ने आधुनिक उपकरण, विपद् उद्धार कार्यमा प्रयोग गरिने डोरी, स्टेचर लगायतका ५ लाख बराबरको सामान रहेका छन् ।

प्रतिकृया

Add