बालबालिका सम्वन्धि नीति तथा कानुन अध्ययन कार्यशाला
आइतवार, भदौ २३, २०८१
निरोज खड्का
क्षेत्रीय सचिव नेपाली काँग्रेस
क्षेत्र नं. १, रामेछाप
केहि दिन अधि एक कार्यक्रममा सम्मानिय प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र पार्टीको खिलाफमा लाग्ने विरुद्ध अरिंगाल जसरी खनिन आफ्ना कार्यकर्तालाई निर्देशन दिए । उनले यस्तै अभिव्यक्ति केहि समय अगाडि पनि सरकार र आफ्नो बचाउमा पार्टीका नेता कार्यकर्ताले नबोलेको, नलेखेको भनेर नेताकार्यकर्ता माझ तिब्र असन्तुष्टि पोखेका थिए । झट्ट सुन्दा देशको प्रधानमन्त्री जस्तो जिम्मेवार र गरिमामय ओहदामा बसेको ब्यक्ति यति तल झरेर प्रस्तुत हुन्छन् भन्दा बिश्वास लाग्दैन तर यथार्थले यस्तै आश्चर्य पत्याउन विवश बनाएको छ । वास्तवमा प्रधानमन्त्रीको अभिव्यक्ति अशोभनीय मात्रै होइन, उच्छृङ्खल एवं सामाजिक सम्बन्ध र सद्भावमा समेत खलल पुर्याउने नियतले प्रकट भएको देखिन्छ ।
दुई तिहाइ समर्थन सहित प्रधानमन्त्री हुँदै गर्दा ओलीको चेहरामा छुट्टै दम्भ र घमण्ड मिश्रित सत्ता उन्माद पढ्न सकिन्थ्यो । दुई तिहाइको बलमा चमत्कारीक ढंगले देशमा कायापलट गर्ने आश्वासन र बग्रेल्ती सपनाका चाङ ओलीबाट बारम्बार प्रस्तुत भएका थिए । अझ रमाइला उखान टुक्का मिश्रित बिकास र समृद्धिका कर्णप्रिय योजनाले नागरिकमा भरपुर मनोरञ्जनसंगै समृद्ध नेपालको आशा पनि जगाएको थियो । तर दुर्भाग्य सरकार गठनको यत्तिका महिना बितिसक्दा सत्तासिन दलको हिजोको चुनावी घोषणापत्र र सुरुवाती अहंकारलाई यथार्थमा परिणत गर्ने गरि कुनै सुखद परिणाम आउने संकेत देखिएको छैन । के सरकारको दुई तिहाइको अंकगणित अब लाज ढाक्ने अवस्थामा पुगेको हो ? होइन भने केका लागि सत्तासिन दलकै कार्यकर्तालाई आक्रामक बन्न उत्तेजित बनाइदै छ ? के फ़ेरि सरकारको अकर्मण्यताको पुरस्कार नागरिकले भय, त्राश र राज्यआतंकमा बाच्नु पर्ने हो ?
बीपी कोइराला प्रधानमन्त्री हुँदा उनले सरकारको गल्ती कमजोरी औल्याउँन, बहिर ल्याउन र आफ्ना विरुद्ध समेत कलम चलाउन संचार माध्यमका लागि छुट्टै खर्चको ब्यबस्था गरेका थिए । आज केपी ओली आफ्ना गल्ती कमजोरी ढाकछोप गर्न कार्यकर्तालाई निर्देशन मात्रै दिइरहेका छैनन् बरु अरिंगाल जसरी एकजुट भइ प्रतिकारमा उत्रन सार्बजनिक उर्दीनै जारी गर्दैछन् । स्वतन्त्र प्रेसलाई अंकुश लगाउन खोजिदैछ । पत्रकारलाई समाचार छापेकै भरमा जेल हाल्ने र टेलिभिजनका कार्यक्रम बन्द गराउने चेष्टाको थालनी भैसकेको छ । माइतीघर मण्डलालाई निषेधित क्षेत्र बनाउदै सर्वसाधारणको बिरोध प्रदर्शनमा रोक लगाएर दमन गर्ने ओलीको सपना सर्बोच्चको आदेशले मात्रै रोकिएको छ । राज्यशक्तिको सम्पुर्ण श्रोत साधन र दुईतिहाई तागतको दरिलो सिंहासनमा बिराजमान रहेको अवस्थामा समेत कार्यकर्तालाई अरिंगाल जस्तो प्रतिवादमा उत्रन निर्देश गर्ने ओलीको दिब्यसन्देशको खास उद्देश्य हो ? निर्धक्क आफ्ना एजेन्डा, योजना र कार्यक्रम कार्यान्वयन गर्न सक्ने सर्वशक्तिमान सत्ताको सिंहासनबाट आवेग, उत्तेजना र आक्रोशको हुटहुटी के का लागि फैलाइदै छ ? प्रधानमन्त्रीको यति धेरै अधैर्य, असहिष्णु र आक्रामक प्रस्तुति हेर्दा उनी आजिवन लोकतन्त्रका लागि लडेको योद्धा भन्न पटक्कै सुहाउँदैन । व्यबहारले उनको लडाइँ लोकतन्त्रका लागि होइन, एकतन्त्रीय कम्युनिस्ट फासिवाद र अतिवादका लागि मात्रै थियो कि भन्ने प्रश्न जन्मनु अस्वभाविक होइन । बिना संकोच प्रश्न उठ्न थालेको छ ओलीमा कहिँ कतै हिटलरको बाटोमा हिड्ने रहर जागृत भएको छ त होइन ?
ओलीकै शासनकालमा देशमा अनशनकारीको गिरफ्तार गरिन्छ । त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट अपराधीको शैलीमा प्राज्ञिक ब्यक्तिको अपहरण गरिन्छ । अस्पतालमा डाक्टरमाथि लठ्ठी बर्साइन्छ । पत्रकार जेल हालिन्छ । छ महिनामा सात पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिन्छ । बलात्कारका घटनामा नक्कली अभियुक्त समातेर चरम यातना दिइन्छ । न्याय माग्ने नागरिक माथी गोली बर्साइन्छ । प्रहरीको हिरासतमै निहत्था नागरिकले मृत्युवरण गर्नुपर्छ । भ्रष्टाचार, तस्कर र कालोबजारी नियन्त्रण गरिन्न । बिना अध्ययन जथाभावी कर आंतक मच्चाइन्छ ।आफैंले ल्याएको यातायात क्षेत्रको सिन्डिकेट हटाउने योजना कार्यान्वयन हुदैन । काम नगर्ने र राज्यलाई अर्बौं धाटा पुर्याउने ठेकेदार माथी कारबाही गरिदैन । टनका टन अबैध सुन भित्रिदै गर्दा मुख्य तस्करहरु पक्राउ पर्दैनन् । दिन प्रतिदिन बढ्दो अपहरण, बलात्कार र हत्याका घटनाले जनस्तरमा आतंक मात्रै होइन, समग्र राष्ट्रकै बेइज्जत गर्दा पनि सरकार रमिते बन्छ । चर्को कुरा गरेर नथाक्ने प्रधानमन्त्री भारतीय सेनालाई नेपालको धर्तीमा बुट बजाउन छुट दिन्छन । संसारमा कहलिएको नेपाली सेनाको दक्षता माथी एउटा मोदीको बिश्वास दिलाउने तागत हाम्रा प्रधानमन्त्रीले राख्दैनन् । के यो सरकारकै कमजोरीको उपज होइन ? अनि के नागरिकले बोल्नै नपाउने ? नागरिकले गुनासो कहाँ गर्ने हो ? स्वाधीनता, सुशासन र न्याय माग्न कहाँ जाने हो ? दुई तिहाईको समर्थन प्राप्त प्रधानमन्त्रीको आफ्नै जनताको विरोध, विमति र असन्तुष्टि सुन्ने नैतिक शक्ति र धैर्यता किन यति कमजोर ? आफुले गर्दा जे पनि जायज हुने, अरुले गर्दा नाजायज, राष्ट्रघात र अपराध कहलिने तपाईंको रामराज्यमा कस्तो स्वाधीनता र कस्तो लोकतन्त्रको अभ्यास हुदैछ प्रधानमन्त्रीज्यु ?
वर्तमान सरकारलाई इतिहासले दुर्लभ अवसर सहितको महान जिम्मेवारी सुम्पेको छ । प्रधानमन्त्रीसंग केवल ओली बंश मन्डलीको जयजयकार र नेकपाको संकुचित घेराबाट मुक्त हुँदै समग्र देश र जनताको बिश्वासिलो प्रतिनिधि भएर राष्ट्रनिर्माणको नवीन सपनामा दत्तचित्त हुनु भन्दा उत्तम विकल्प अर्को छैन । वाग्मतीमा धेरै पानी बगिसक्यो । फजुल भासणसंगै घृणा, द्वेष र आतंकको राजनीति पनि धेरै हेरि सकियो । काम भन्दा पनि चर्को भाषण र अनेकन बहानाबाजिमा रमाउने प्रधानमन्त्री र यो सरकारलाई अब असफल हुने छुट छैन । वर्तमान सरकारलाई उपलब्ध भएको समयनै नेपालको इतिहासमा राष्ट्र निर्माणको सबैभन्दा उपयुक्त समय हो । प्रधानमन्त्रीको मर्यादित कुर्सीमा बसेर आफ्ना कार्यकर्तामा रिस, आवेग र उत्तेजना भर्ने काम केपी ओलीका लागि शोभनीय हुँदै होइन । समग्र जनता र आफ्ना कार्यकर्तालाई एकढिक्का बनाइ विवेक, सपना र जिम्मेवारीबोध सहितको विकासे राजमार्गमा सयर गराउने हिम्मत प्रधानमन्त्रीले राख्न सक्नुपर्छ । नेता कार्यकर्तालाई कालो अरिंगाल बनेर मन नपर्ने जतिको प्रतिकार गर्न उक्साउने अभिव्यक्तिले प्रधानमन्त्रीको बहादुरी होईन, कायरता र लाचारीपन झल्काइरहेको छ, सरकारलाई प्राप्त दुइतिहाइको तागतलाई कुरीकुरी भन्दै गिज्याईरहेको छ । प्रधानमन्त्री ज्यु, आफ्ना लाखौं फुर्सदिला कार्यकर्तालाई छुद्र अरिंगाल बन्न होइन बरु मेहनती माहुरी बनेर श्रम, सीप र पसिनाको उत्कृष्ट सिर्जनाले देश बनाउने महाअभियानमा सामेल गराउनुस । यसैमा देश र जनताको भलाई छ ।