सानो मिल्ती हाइड्रोपावरको नाउमा करोडौं बजेट हिनामिना

 शनिबार, पुस ७, २०७५ | onlinenews

 रामेछाप– सञ्चालकहरु बीचको विवादले रामेछाप जिल्लाको मन्थली नगरपालिका–१३ मा निर्माण हुन लागेको ३ मेघावाटको सानो मिल्ती होइड्रोपावर अलपत्र परेको छ ।
२०७० साल कार्तिक ७ गते विद्युत विकास विभागबाट सानो मिल्ती हाइड्रोपावर प्रा.लि.द्धारा ३ मेघावाट विद्युत उत्पादन गर्ने अनुमति लिएर काम सुरु भएको थियो ।
सञ्चालकहरुकै बीचमा आर्थिक हिनामिनाको विषयलाई लिएर भएको विवादको कारण २०७४ सालको मंसिरदेखि बन्द भएको निर्माण कार्य हालसम्म पनि सञ्चालनमा आउन सकेको छैन ।

आर्थिक हिनामिना गरेर काम समेत बन्द भएको भन्दै सञ्चालक मध्यका एक सञ्चालक तथा सानो मिल्ती हाइड्रोपावरको संस्थापक अध्यक्ष समेत रहेका रामबहादुर तामाङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत दिएका छन् ।
सानो मिल्ती होइड्रोपावरको आर्थिक लेखा परीक्षणमा दक्षिण कोरियामा रोजगारी गरिरहेका ३ सय ६३ जना नेपालीको ११ करोड लगानी रहेको र सो रकम सबै खर्च भइसकेको देखिएको छ । तर, हाइड्रोपावरको काम भने २ किलोमिटर सडक ट्रयाक खोल्ने र तत्कालीन फुलासी गाविसले खनेको ५ किलोमिटर सडकको मर्मत गर्ने बाहेक अरु काम भएको छैन । सानो मिल्ती होइड्रोपावरमा लगानी गर्ने नाउमा दक्षिण कोरियामा काम गरिरहेका नेपालीबाट प्रतिब्यक्ति २ लाखदेखि १० लाखसम्म रकम असुलिएको सञ्चालक मध्यका रामबहादुर तामाङले बताए ।

कोरियाबाट संकलन गरिएको रकम सञ्चालक तेन्जी शेर्पा, सुरेशकुमार लिम्बु र कपिलदेव न्यौपानेको मिलेमतोमा हिनामिना गरिएको रामबहादुर तामाङको आरोप छ । आर्थिक हिनामिनाको विषयलाई लिएर सञ्चालकहरुकै बीचमा भएको पटक–पटकको विवादपछि काम रोकिएको थियो । आर्थिक हिनामिनाको विषयलाई लिएर २०७४ साल साउन ४ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक समितिका तत्कालीन अध्यक्ष तेन्जी शेर्पालाई पदबाट हटाई सुरेश लिम्बुलाई अध्यक्ष पदमा चयन गरिएको थियो । ताप्लेजुङ्गका सुरेश लिम्बु हाल कोरियन नागरिक हुन् । (उनको कोरियाको नाम पारसाङ्ग्यू रहेको छ ।)
सुरेश लिम्बुले पनि कम्पनीको हिसाब पारदर्शी गर्न नसकेपछि सञ्चालकबीच विवाद चर्किदै गयो । सञ्चालक तामाङका अनुसार कोरियामा रोजगारी गर्नेहरुबाट संकलन गरिएको रकम एसएम इन्भेष्टमेन्ट कम्पनीको नाउमा जम्मा गरेर हिनामिना गरि सानो मिल्ती होइड्रोपावरमा लगानी गरिएको छ भनि लगानी कर्ताहरुलाई झुक्याइरहेको छ ।
लगानी कर्ताहरुबाट जति संकलन भएको रकम सबै खर्च भएको देखाइएको छ तर साइडमा काम भने नभएको तामाङको भनाई छ । एसएम इन्भेष्टमेन्ट कम्पनीबाट खर्च गरेको रकम पनि लेखा परीक्षण गर्दा सानो मिल्ती होइड्रोपावरमा खर्च भएको भनि देखाइएको तामाङले बताए ।
एसएम इन्भेष्टमेन्टबाट खर्च भएको रकम लेखा परीक्षकले अडिट गर्न नमिल्ने बताएपछि सञ्चालकहरुले अग्रिम भुक्तानी लिइएको देखाइएको छ । शेयर कर्ताहरुबाट उठाइएको रकम हिनामिना गरेकाले लेखा परीक्षणमा आपूmले हस्ताक्षर समेत नगरेको रामबहादुर तामाङको भनाई छ ।
आयोजना सम्पन्न गर्न ५४ करोडको लागत स्टिमेट रहेको छ । तर ११ करोड खर्च हुँदा २ किलोमिटर सडक ट्रयाक खोल्ले मात्र काम भएको छ । सञ्चालकबाटै आर्थिक हिनामिना भएपछि आर्थिक वर्ष २०७१/०७२ देखि सानो मिल्ती हाइड्रोपावरको साधारणसभा समेत हुन नसेको रामबहादुर तामाङले बताए ।
होइड्रोपावरको निर्माण स्थलसम्म जान भनि ट्रयाक खोल्दा क्षति भएको स्थानीय प्रयोग गर्दै आएको कुलो समेत स्थानीयसँग गरिएको सहमति अनुसार मर्मत नगरिदिंदा स्थानीय समस्यामा परेका छन् ।
आफ्नो ठाउँमा होइड्रोपावर निर्माण भएपछि स्थानीयको लागि फाइदा हुने आशामा हाइड्रोपावर निर्माण स्थलसम्म जाने सडक निर्माण गर्न विनामुआब्जा जग्गा दिएका कृषकहरु पनि होइड्रपावर अलपत्र परेपछि निराश भएका छन् ।

प्रतिकृया

Add