हावाहुरीका घाइतेलाई रगत अभाव भएपछि बाँकेमा रक्तदान

 सोमवार, चैत्र १८, २०७५ | onlinenews

बाँके: बारा र पर्सामा हावाहुरीमा परी घाइते भएकाहरुको उपचारका लागि बाँकेमा रक्तदान गरिएको छ ।
आइतबार राति आएको हावाहुरीबाट घाइते भएकाहरुको उपचारमा रगतको अभाव भएको समाचार सार्वजानिक भएपछि मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्र हुरीपपको आयोजना र नेपालगंज ग्यालेरीको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
रगत संकलन गरी हवाइ मार्गबाट काठमाडौं हुँदै बारा र पर्सा पठाइने तयारी भए पनि बारा र पर्सामा रगत प्राप्त भएको जानकारी आएपछि रक्त संचार केन्द्र नेपालगजको जिम्मामा संकलित रगत राखिएको हुरीपपका अध्यक्ष आलम खानले बताए ।
हुरीपपका सचिव असलम भाटको संयोजकत्वमा आयोजना गरिएको खुला रक्तदान कार्यक्रममा सामाजिक अभियानकर्मी, विभिन्न सङ्घसंस्था क्लबलगायत संलग्न रहेका २० जना यूवाहरुले रक्तदान गरेको आयोजकले जनाएको छ ।
आइतबार राति आएको हावाहुरी र आँधीबाट ३५ जनाको मृत्यु भएको प्रदेश नं २ सरकारले पुष्टी गरिसकेको छ । अन्य ५ सय भन्दा बढी घाइते भएका छन ।


रातको समयमा आएको आँधी हुरीले बाराका अधिकांश घरका छाना उडाइदिएको छ । घरको छाना र कतिपय घरै भत्किएपछि अन्न, लत्ताकपडाको अभावमा बृद्धबृद्धा र बालबच्चाहरुको बिचल्ली भएको छ ।
थर्ड एलायन्सका उप प्रादेशिक प्रमुख एंव हुरीपपका केन्द्रीय अध्यक्ष आलम खानले ठूलो जनधनको क्षति हुनेगरी भएको घटनाप्रति दुःख व्यक्त गर्दै प्रकोप प्रभावित बारा र पर्सामा आवश्यक औषधि र दक्ष चिकित्सकहरुको टोली तत्काल व्यवस्था गर्नुपर्ने, घाइतेको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था मिलाउन र मृतका परिवारलाई तत्काल राहत उपलब्ध गराउन अपिल समेत गरेका छन् ।
उनले घाइतेहरुको उद्धार, उपचार तथा मानवीय सहायताका लागि अविलम्ब सहभागी हुन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, नागरिक समाजलगायत सबैलाई अपिल गरे ।

प्रतिकृया

Add