रामेछापमा बलात्कारको घटना वृद्धि

 मङ्लबार, मंसिर १४, २०७८ | onlinenews
Share this

नवराज विश्वकर्मा


रामेछाप । पछिल्लो समय रामेछापमा बलात्कारका घटना बढिरहेको छ । गएकोे चार महिनामा जबरजस्ती करणी सम्बन्धी दश वटा घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारीा दिएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार साउन, भदौँ, असोज र कात्र्तिक महिनामा सात वटा बलात्कारको घटना र तीन वटा जबरजस्ती करणी उद्योगको घटना दर्ता भएका छन् ।
मंसिर महिनामा मात्रै तीन वटा करणीसम्बन्धी घटना दर्ता भएका छन् । यही मंसिर ३ गते उमाकुण्ड गाउँपालिका वडा नं. ७ भुजीका १८ वर्षीय प्रकाश भनिने पदमबहादुर श्रेष्ठले विद्यालयबाट घरतर्फ फर्किदै गर्दा आठ वर्षीया र पाँच वर्षीया बालिकामाथि बलात्कारको प्रयोस गरेका थिए ।
मंसिर ७ गते रामेछाप नगरपालिका वडा नं. ८ भोटेटारका ७२ वर्षीय मंगल तामाङले चाउँचाउँ किन्नका लागि पसलतर्फ जाँदै गरेकी ८ वर्षीय बालिकालाई बलात्कार गरे ।
त्यसैगरी, सोलुखुम्बु जिल्लाको दुधकुण्ड गाउँपालिका वडा नं. १ घर भई हाल रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं. १ लाछेवरमा डेरागरी बस्दै आएका ३९ वर्षीय चित्रबहादुर विकले पनि ८ गते बुधबार एक महिलामाथि बलात्कारको प्रयास गरेका थिए ।
दैनिकजसो बलात्कार घटना बढनुले महिला तथा बालिकाहरुको सुरक्षा तथा स्वतन्त्रतामाथि चुनौती थपिएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीले बलात्कारका घटना न्यूनिकरणमा स्थानीय तह, समाज, घरपरिवार, पत्रकारलगायत सबै पक्ष जिम्मेवार ढङ्गले लाग्नुपर्ने बताए ।
घटना नियन्त्रणका लागि भएका कानूनी व्यवस्थाहरुको प्रचारप्रसारमा पनि ध्यान दिनुपर्ने प्रजिअ पहाडीले बताए । प्रशासनको प्रयासले मात्रै यस्ता घटना नियन्त्रण गर्न सम्भव नहुने उनको भनाई छ ।
प्रशासनले अपराध भइसकेपछि अपराधको अनुसन्धान र अभियोजन तथा अपराध नियन्त्रणका लागि भएका कानूनी व्यवस्थाको कार्यान्वयन गर्ने बताउँदै प्रशासनको एक्लो प्रयासले मात्रै अपारधिक घटना नियन्त्रण गर्न नसकिने उनले बताएका छन् ।
सामाजिक जनचेतना र कानूनका परिपालनाको माध्यमबाट करणीसम्बन्धी घटना नियन्त्रणमा लिन सकिन्छ, उनले भने । प्रहरी र प्रशासनबीचको समन्वयमा गाउँगाउँमा पुगेर मासिक रुपमा सचेतनामुलक कार्यक्रम सञ्चालन भइरहेको प्रजिअ पहाडी बताए ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक नवराज ढुंगानाले प्रहरीको एक्लो प्रयासले मात्रै यस्ता घटनामा न्यूनिकरण हुन नसक्ने बताए । प्रहरी नायव उपरीक्षक ढुंगानाले पछिल्लो समय बालबालिका हुने अपराध, भ्रूण हत्या, बाल हत्या, बलात्कार लगायतको घटना, बढ्दो क्रममा रहेको बताए । यस्ता घटना न्यूिनकरणमा प्रहरीको एक्लो प्रयास मात्रै पर्याप्त नहने बताए ।
सामाजिक सञ्जालको दुरुपयोगबाट पनि महिला तथा बालबालिका पीडित हुने गरेको डिएसपी ढंगानाले बताए । प्रहरी प्रशासन कानूनमा भएको व्यवस्था कार्यान्वयन गर्ने निकाय भएको बताउँदै आफूहरुले कुनै पनि घटनाबारे सूचना प्राप्त हुनसाथ पीडकलाई कानूनको दायरामा ल्याएर अनुसन्धान तथा कारबाही गर्ने लगायतका काम गरिएको डिएसपी ढुंगानाले बताए । यस्ता घटना नियन्त्रण तथा न्यूनिकरणका लागि परिवार आफैँ सचेत हुनुपर्ने, खराब व्यक्तिको संगतबाट टाढा रहनुपर्ने, एक्लै नहिड्ने, आफ्नो बालबालिकामाथि निगरानी बढाउने र घटनाबारे जानकारी प्राप्त हुनसाथ प्रहरीलाई खबर गर्न पनि उनले सबैमा आग्रह गरे । ढुंगानाले यस्ता घटना नियन्त्रणमा नागरिक समाजले सक्रीय भूमिका निर्वाह गर्नुपर्ने बताए ।
बलात्कारका घटनाका विरुद्धमा राजनीतिक दलका भाषणमा मात्र नभई मानव अधिकारकर्मी, महिला अधिकारकर्मी र नागरिक समाजबाट पनि बेलाबेलामा जोडतोड्ले आवाहरु उठ्ने गरेका छन् । तर, त्य भाषण र कार्यक्रमहरुमै सीमित भएको पाइन्छ ।
मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद १८ मा करणी सम्बन्धी कसूरको व्यवस्था गरिएको छ । त्यहाँ बलात्कार घटनाबाट पीडित व्यक्तिको उमेरानुसार पीडकलाई फरक फरक सजायको व्यवस्था गरिएको छ । कानूनमा घटनाको प्रकृति हेरि जन्म कैदको समेत ब्यवस्था गरिएको छ ।

Share this

प्रतिकृया

Add