रामेछापमा हालसम्म १ लाख ७७ हजार ९१६ मतदाता कायम

 शनिबार, फाल्गुन ७, २०७८ | onlinenews
Share this

नवराज विश्वकर्मा


रामेछाप । रामेछापका १ लाख ७७ हजारभन्दा बढी मतदाता कायम भएका छन् । जिल्लामा हालसम्म कायम भएको मतदाता संख्या १ लाख ७७ हजार ९ सय १६ जना रहेको जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ । निर्वाचन कार्यालयका अनुसार हालसम्म कायम रहेको मतदाता संख्या अनुसार जिल्लाको मन्थली नगरपालिकामा ३६ हजार ९ सय ७५, रामेछाप नगरपालिकामा २४ हजार ७ सय ४८, उमाकुण्ड गाउँपालिकामा १६ हजार २ सय ४, खाँडादेवी गाउँपालिकामा २२ हजार ३ सय ७५, गोकुलगंगा गाउँपालिकामा १८ हजार ४ सय ६४, दोरम्बा शैलुङ गाउँपालिकामा २० हजार ७ सय ५६ जना, लिखुतामाकोशी गाउँपालिकामा १९ हजार ७ सय ७३ जना र सुनापती गाउँपालिकामा १८ हजार ४ सय २१ जना मतदाता रहेका छन् । मतदाता परिचयपत्र हराएको, नष्ट भएको वा प्रयोग गर्न नमिल्ने अवस्था भएमा वडा कार्यालयको सिफारिससहित जिल्ला निर्वाचन कार्यालयमा गएर सम्बन्धित व्यक्तिहरुले फागुन २० गतेभित्र निवेदन दिन सकिने छ । सरकारले निर्वाचन घोषणा गरेको दिनसम्म १८ वर्ष पूरा भएका मतदाताहरुले स्थानीय तहको निर्वाचनमा भाग लिन पाउनेछन् । सरकारले आगामी २०७९ साल वैशाख ३० गतेका लागि ७ सय ५३ वटै स्थानीय तहको एकै पटक निर्वाचन गर्ने भनेर मिति घोषणा गरिसकेको छ । सोही सन्दर्भमा रामेछापका राजनीतिक दलहरु पनि निर्वाचनको तयारीमा जुटिसकेका छन् । जिल्लामा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपाबीच प्रतिश्स्पर्धा हुने गर्दछ । रामेछापमा विशेषतः नेकपा एमाले र नेपाली काँग्रेसबीच तीब्र प्रतिश्पर्धा हुने गर्दछ । तर, अहिले नेकपा एमाले बाहेक अन्य राजनीतिक दलहरु निर्वाचनको तयारीमा खासै जुटेका छैनन् । एमालेले आफ्ना चुनावी अभियान र तयारीबारे कार्ययोजना सार्वजनिक गरिसकेको छ । अन्य राजनीतिक पार्टीहरु भने मौन देखिएका छन् ।

Share this

प्रतिकृया

Add