नेपालमा अर्कालाई सम्पत्ती कमाइदिँदा भ्रष्टाचार भएको छ : न्यौपाने
शनिबार, मंसिर १, २०८१
रामेछाप–सडक सञ्जार विस्तार र पक्की पुल निर्माण भएसँगै झोलुङ्गे पुल बेवारिसे बनेका छन् । पम्की पुल र सडक विस्तार हुनुअघि यात्रालाई नदीबाट सुरक्षित गराउँने साथै पैदल यात्रालाई छोट्याउने झोलुङ्गे पुलहरू अहिले बेवारिसे बनेका हुन् ।
लाखौँ रुपैयाँ खर्चेर निर्माण गरिएका झोलुङ्गे पुलका सामग्री नासिन र चोरिन लाग्दा समेत राज्यका कुनै निकायलाई चासो छैन् । राज्यका निकायहरु मौन छन् । प्रमुख घाटहरूमा निर्माण भएका झोलुङ्गे पुलको प्रयोग घट्दै गएपछि पुल संरक्षण र मर्मत सम्भारमा राज्यले बेवास्ता गर्दै आएको छ ।एबेला निकै महत्वपूर्ण मानिने रामेछापको गाकुलगंगा गाउँपालिकाको शिवालयमा पर्ने झोलुङ्गे पुल अहिले जीर्ण बनेको छ । त्यो पुलले दोलखा र रामेछापलाई जोड्नुका साथै सगरमाथा आधार शिविर जाने लाखौं पर्यटकलाई सुविधा पुर्याएको थियो ।
नजिकै मोटरयवल पुल निर्माण नभएपछि पर्यटक घटेकाले उक्त पुलबाट आउजाउ गर्नेको सङ्ख्या पनि घट्दो छ । तर स्थानीयलाई भने अझै उक्त पुलले घण्टौंको पैदल यात्रालाई छोट्याइरहेको छ । स्थानीयले सोहि पुलबाट गाउँघर र मेलापात जान आउन दोलखा र रामेछाप गर्दै आएका छन् । सिवालय पुलका पार्टपुर्जा खुस्किएका छन । वर्षौदेखि रंङ्गरोगन नगर्दा पुलमा प्रयोग भएका फलाम खिया पर्न थालेका छन् । २०४१ सालमा उक्त निर्माण भएपछि त्यसैसँग जोडिएर सिवालयमा बजार विस्तार भएको थियो । अहिले पर्यटक नहुँदा बजार पनि सुनसान बनेको छ ।
रामेछापमा सिवालय मात्र हैन, पहिले निकै महत्व राख्ने अन्य ठाउँका तथा घाटका झोलुङ्गे पुलहरु पनि जीर्ण बन्दै गएका छन् । पूर्वी जिल्ला भोजपुरदेखि काठमाडौं जाउआउमा प्रयोग हुने मन्थली (२०३५), पुछिघाट (२०४१) र राणाकालमा निर्माण भएको साँघुटार पुल जीर्ण बनेका छन् । त्यसबाहेक रामेछाप –सिन्धुली जोड्ने सुनकोशीमा निर्माण भएको धनेघाट (२०२८), खुर्कोट (१९६८), (२०२५) र काभ्रे जोड्ने लुभु (२०३६) उस्तै जीर्ण छन् । तामाकोशी नदीमा रामेछापको आन्तरिक गाउँ जोड्ने बान्द्रे (२०२७) र अम्बासबेसी खिम्ती (२०२५) पनि उस्तै ओझेलमा परेका छन् ।
रामेछापमा अधिकांश पुल निर्माणमा संलग्न रामेछाप नगरपालिकाका सव–इन्जिनियर हरिचन्द्र बरालका अनुसार टावरवाला पुल निर्माण गर्न प्रति मिटर ८० हजार रुपैयाँ लाग्छ । उक्त सबै पुलहरू करिव २ सय मिटर हाराहारीका हुन । हालको मूल्यमा एउटा पुल निर्माण गर्न कम्तिमा १ करोड ५० लाख भन्दा बढी खर्च लाग्ने बरालको भनाइ छ ।स्थानीयलाई आवश्यकता छैन, पहुँचवालाहरू सडक मार्गको प्रयोग गर्न थालेपछि पुराना घाटहरूमा रहेका झोलुङ्गे पुलेको संरक्षणमा कसैको चासो छैन । चुचरेका दिलबहादुर कार्की भन्छन् – पहिले यहि पुल नहँुदा हाम्रा कयौं अग्रजले बगेर ज्यान गुमाए । पुलले हामीलाई सहज बनायो तर अहिले हाम्रै हेलामा पर्यो ।
स्थानीय तहको गठन नहुँदा जिल्लामा झोलुङ्गे पुलको रेखदेख र मसिना मर्मत सम्भार तत्कालीन जिल्ला विकास समितिले गर्दै आएको थियो । हरेक पुलमा पुल हेरालु राखिएका थिए । उनीहरूले पुल संरक्षण र हेरालुको काम गरे वापत न्यूनतम पारिश्रमिक पाउँथे । त्यसबाहेक पुलको मर्मत सम्भार स्थानीय विकास मन्त्रालयले गर्ने गरेको थियो । जिल्ला विकास समितिले पनि पुल मर्मतमा मनग्यै खर्च गर्ने गरेको पूर्व जिल्ला सदस्य भुवन विक्रम घिमिरेले बताए । अहिलेका स्थानीय सरकार पुल मर्मतका लागि उदासिन रहेको घिमिरेले गुनासो छ ।
संघीयताको कार्यान्वयनसँगै पुल हेरालु र मर्मत सम्भारको काम स्थानीय सरकारको जिम्मामा गयो । बरालका अनुसार रामेछाप जिल्लामा रामेछाप नगरपालिकाले मात्र पुल मर्मत सम्भारका साथै पुल हेरालुको व्यवस्था गर्दै आएको छ । अन्य पालिकामा त्यो व्यवस्था छैन । ‘हामीले गत वर्ष मात्र साँघुटार, नवलपुर र धनेघाट पुलको मर्मत गरेका छौँ’ बरालले भने – नगरपालिका भित्र पुल हेरालुको रूपमा ११ जनालाई पारिश्रमिक दिएर जिम्मेवारी दिइएको छ । हेरालुले मासिक ५ सय भत्ता पाउने उनले बताए । रामेछाप जिल्लामा पर्ने विभिन्न नदी र खोलामा गरी कुल १ सय ७७ वटा झोलुङ्गे पुल रहेका छन् । ति मध्ये अधिकांश पुल टावर नभएका होचा (सम्पेन्डेड ) छन् ।