रामेछाप नगरको बजेट ७३ करोड

 मङ्लबार, असार १२, २०८१ | onlinenews
Share this

 

रामेछाप- रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ को लागि ७३ करोड ६ लाख ६८ हजार ४ सय ८३ रुपैयाँको बजेट ल्याएको छ । आइतवार सम्पन्न रामेछाप नगरपालिकाको १५ औँ नगरसभाले पारित आगामी आर्थिक वर्षको बजेट साथै नीति तथा कार्यक्रमको बारेमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।

रामेछाप नगरपालिकाका प्रवक्ता समीर कार्कीले वार्षिक नीति तथा कार्यक्रम र बजेटको बारेमा पत्रकार सम्मेलन मार्फत जानकारी दिएका हुन् । नगरपालिकाले मेघा विद्यालय सञ्चालन गर्ने, विद्यालयमा साथीबाट सिक्ने र साथीलाई सिकाउने कार्यक्रम सञ्चालन गर्ने, साँघुटार स्वास्थ्य चौकीलाई नगर अस्पतालको रुपमा विकास गर्ने, ‘दही मही खाऔँ, कोल्ड ड्रिङ्स भगाऔँ’ अभियान सञ्चालन कार्यक्रम ल्याएको पत्रकार सम्मेलनमा प्रवक्ता कार्कीले जानकारी दिए । त्यसैगरी अधुरा र क्रमागत पूर्वाधार विकास आयोजना र कार्यक्रमहरुलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

नगर क्षेत्र भित्रका सरकारी तथा सार्वजनिक जग्गाहरुको एकिन गरी खोजी र संरक्षण गर्ने, शुल्कमा आधारित फोहोर सङ्कलन तथा व्यवस्थापनको प्रबन्ध मिलाइने पनि कार्कीले जानकारी दिए । १५ औँ नगरसभाबाट आर्थिक विधेयक २०८१, विनियोजन विधेयक २०८१, न्यायिक समितिको प्रतिवेदन, रामेछाप नगरपालिकाको स्थानीय मदिरा उत्पादन, ब्रान्डिङ् तथा बिक्री वितरण व्यवस्थापन सम्बन्धि विधेयक २०८१ को मस्यौदा विधेयक पनि स्वीकृत भएको प्रवक्ता कार्कीले जानकारी दिए ।

शैक्षिक गुणस्तर बृद्धिका लागि नगरपालिकाको वडा नम्बर १ मा रहेको चण्डेश्वरी माध्यमिक विद्यालयलाई प्रशासकीय केन्द्र मानी ‘मेघा’ विद्यालय सञ्चालन गर्ने, कक्षा ५ र ८ मा नगर स्तरीय परीक्षा सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । मातृ तथा नवजात शिशु कार्यक्रमको लागि संस्थागत सुत्केरी सेवा विकासका लागि बर्थिङ सेन्टरलाई व्यवस्थित गर्दै निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने पनि नीति तथ कार्यक्रममा उल्लेख छ ।

‘ज्येष्ठ नागरिकसँग मेयर कार्यक्रम’, घरपालुवा जनावरहरूलाई खोप तथा बन्ध्याकरण, माटोको दिगो उर्वरा शक्ति वृद्धि गर्न प्राङ्गारिक मल तथा गड्यौला मललाई प्रोत्साहन गर्ने, रैथाने बालिको संरक्षण र सम्वद्र्धन गर्ने, साँघुटारमा मत्स्यपालन व्यवसाय प्रवर्धन गर्ने साथै वडा नम्बर २ मा मौरी स्रोत केन्द्र स्थापना गरी प्रवक्ता कार्कीले जानकारी दिए ।

पर्यटन प्रवर्धनका लागि वडा नम्बर ६ को लामसाङ्डाँडामा बुद्धको मूर्ति स्थापना गरी बुद्ध पार्क निर्माण गर्ने, शहीद गङ्गालला र पुष्पलाल श्रेष्ठको जन्मस्थल, ताराखसे पोखरी, भालुखोप भ्यूटावर, बिटार पार्क, केबलेश्वर महादेव मन्दिर, बालकन्या मन्दिर, बाबियाखर्क महाकाली मन्दिर लगायतका स्थानीय मठ मन्दिरहरूलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा विकास, संरक्षण तथा प्रवर्धन गर्न पूर्वधार तयार गर्ने नगरको नीति तथा कार्यक्रममा उल्लेख छ ।

Share this

प्रतिकृया

Add