आज बडादशैंको टिका उत्तम साइट ११ बजेर ५५ मिनेटमा

 शनिबार, अशोज १४, २०७४ | onlinenews
Share this

१४ असोज २०७४


आज हिन्दू नेपालीहरुको महान् चाड बडादशैं मान्यजनहरुबाट टीका र आशिर्वाद ग्रहण गरी मनाइँदैछ ।
टीकाको साइत बिहान ११ बजेर ५५ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । बिहान ८ बजेर १ मिनेटमा देवी विसर्जनको साइत रहेको समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिएका छन् । घरमा विधिपूर्वक राखिएको जमरा र टीका देवी दूर्गालाई चढाएपछि पूर्ण घडाको जलले अभिषेक गरी आफ्ना मान्यजनहरूबाट नवदूर्गा भवानीको प्रसाद, टीका र जमरा लगाउने प्रचलन छ ।
टिका दशैंको सबैभन्दा महत्वपूर्ण दिन हो । आजको दिन परिवारमा आफूभन्दा ठूलाबडा तथा मान्यजनको हातबाट नवदूर्गा भवानीको प्रसादको रुपमा रातो टीका, जमरा तथा प्रसाद थापी दीर्घायु प्राप्त होस् भनी आशिर्वाद लिने गरिन्छ ।
विजयादशमीका दिन आफ्ना मान्यजनबाट टीका ग्रहण गर्दा अन्य फूलको सट्टा घटस्थापनाको दिन पूजा कोठामा राखिएको समृद्धिको प्रतिक पहेंलो जमरा प्रयोग गरिन्छ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्ति विजय भएको खुसियालीमा दशैं मनाउने चलन चलेको पौराणिक मान्यता छ ।

 

Share this

प्रतिकृया

Add