रामेछापमा १७ सय परिवारले गरे स्वास्थ्य विमा

 बिहिबार, साउन २४, २०७५ | onlinenews
Share this

राजिव कार्की


रामेछाप- जिल्लाका १७ सय ४ परिवारले स्वास्थ्य विमा गराएका छन् । आर्थिक अवस्था कमजोर भएका नागरिकलाई स्वास्थ्यको मूल प्रवाहमा ल्याउने उद्देश्य सहित सरकारले सामाजिक स्वाथ्य विकास समितिमार्फत ल्याएको स्वास्थ्य बिमा कार्यक्रममा ति परिवार आवद्ध भएका हुन् । रामेछापमा २०७४ सालको पौष अन्तिम साताबाट स्वास्थ्य विमा कार्यक्रम सुरु भएको थियो । कार्यक्रम सुरु भएपछिको ७ महिनाको अविधिमा १७ सय ४ परिवारका ६८ सय ४ जना विमा कार्यक्रममा अवद्ध भएका छन् । जसमा ३३ सय १२ पुरुष र ३४ सय ९२ जना महिला रहेको जिल्ला दर्ता अधिकारी यज्ञराज ढुंगेलले जानकारी दिए ।
अधिकारी ढुंगेलका अनुसार जिल्लामा सवैभन्दा धेरै मन्थली नगरपालिकाका नागरिकहरुले स्वास्थ्य विमा गराएका छन् । हालसम्म मन्थलीका १५ सय ५८ जना स्वास्थ्य विमा कार्यक्रममा आवद्ध हुँदा रामेछाप नगरपालिकाका २ सय ७३ जना मात्रै आवद्ध छन् ।
त्यस्तै लिखु तामाकोशी गाउँपलिकाका ५ सय ६५,गोकुलगंगा गाउँपालिकाका १ हजार ६१,उमाकुण्ड गाउँपालिकाका ११ सय ९६, खाँडादेवी गाउँपालिकाका ३ सय ६३, दोरम्वा गाउँपालिकाका ८ सय ४५ र सुनापति गाउँपालिकाका ९ सय ४३ जना स्वास्थ्य विमा कार्यक्रममा आवद्ध भएको दर्ता अधिकारी ढुंगेलले जानकारी दिए ।
उनले भगौलिक कठिनाई, गरिबी, नागरिकहरुको चेतनास्तर, आवश्यक पुर्वाधारको अभाव, सम्झौता गरिएका अस्पतालहरुमा फार्मेसी तथा औषधिको व्यवस्थापन लगायतका विभिन्न चुनौतीका कारण जिल्लाका सवै नगरिकलाई स्वास्थ्य विमा कार्यक्रममा आवद्ध गराउन नसकिएको बताउँदै आँफुहरु प्रयासरत रहेको बताए ।
विमा गरेका नागरिकहरुले जिल्ला अस्पताल रामेछाप,मन्थली गेलु र खिम्तीमा रहेका प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला आँखा केन्द्र, तामाकोशी सहकारी अस्पताल ,जिल्ला अस्पताल दोलखा र धुलिखेल अस्पतालबाट ५० हजारसम्मको स्वास्थ्य सेवा लिन सक्नेछन् । स्वास्थ्य विमामा आवद्ध हुनको लागि ५ जनासम्म सदस्य रहेको परिवारले २ हजार ५ सय र ५ जनाभन्दा माथिको संख्या भएमा ४२५ रुपैयाँ थप शुल्क तिर्नुपर्नेछ ।

Share this

प्रतिकृया

Add