मन्थली नगरले निर्धारण गरेको बहाल कर पुसबाट लागू हुने

 बिहिबार, भदौ २०, २०८१ | onlinenews
Share this

 

रामेछाप-  रामेछाप जिल्लाको मन्थली नगरपालिकाले निर्धारण गरेको बहाल करण आगामी पुस महिनाबाट लागू हुने मन्थली नगरपालिका प्रवक्ता गोपाल श्रेष्ठले बताएका छन् । आगामी पुस हुने नगरपालिकाको हिउँदे अधिवेशनमा बहाल कर सम्बन्धी प्रतिवेदन अनुमोदन गरी बहाल कर लागू गर्ने तयारी भइरहेको मन्थली नगरपालिकाले जनाएको छ ।

नगरको हिउँदे अधिवेशनपछि आवश्यक प्रक्रिया पूरा गरी बहाल करसम्बन्धी ऐन कार्यान्वयनमा ल्याउने रहेको नगरपालिकाका प्रवक्ता श्रेष्ठले जानकारी दिए । प्रवक्ता श्रेष्ठकाअनुसार नगरले नयाँ बहाल कर सम्बन्धी आवश्यक अध्ययन गरी प्रतिवेदन तयार परिसकेको छ । यसका बारेमा सरोकारवाल निकायसँग पनि छलफल भइरहेको र नगरको आगामी हिउँदे अधिवेशनबाट अनुमोदन गरी कार्यान्वयनमा लैजाने तयारी छ ।

नगरपालिकाले तयार पारेको बहाल कर कार्यान्वयनमा आएपछि व्यवसायीहरू थप मारमा पर्छन् भन्नेजस्ता अपव्याख्या गरिएकाले अहिले केही समस्या देखिएको उनले बताए । उनले भने घर बहाल कर घर धनीले नै तिर्ने हो । यसमा कुनै दुबिधा छैन । तर यहाँ घर बहाल कर पनि भाडामा रहेका व्यवसायीले नै तिर्नुपर्छ भन्नेजस्ता अपव्याख्या गरियो । जसका कारण केही समस्या भएको छ तर अहिले सबैले बुझिसकेका छन् । अब नयाँ बहाल कर कार्यान्वयनमा आउँछ, प्रवक्ता श्रेष्ठले भने । जाने बुझेकै केही मान्छेहरूले नै नगरपालिकाले तयार पारेको बहाल करका बारेमा नकारात्मक प्रचार तथा व्याख्या गरेपछि समस्या आएको उनको भनाइ छ ।

केही अमुक मान्छेहरूले नगरको नयाँ बहाल कर सम्बन्धी प्रतिवेनलाई विवादित बनाए । घरधनीले बहालमा बस्नेहरूसँग लिएको बहालको केही निश्चित पैसा राज्यलाई तिर्नुपर्छ । यो यहाँ मात्रै होइन देशभरीकै व्यवस्था हो । यसलाई लिएर केही आंशिक रूपमा आलोचनात्मक टिप्पणी भए । तर कालान्तरमा सबैले स्वीकार गर्नुको अर्को विकल्प छैन । मन्थली नगरपालिका मन्थली बजारलाई कसरी हुन्छ राम्रो र व्यवस्थित मन्थली बनाउन लागिपरेकाले यहाँ बसोबास गर्ने नागरिक, यहाँका घरधनी व्यवसायीहरूले पनि आ आफ्नो दायित्व पुरा गर्नुपर्छ उनले भने ।

मन्थली नगरपालिकाले गएको साउन दोस्रो हप्ता नयाँ बहाल कर सम्बन्धी प्रतिवेदन तयार पारेको थियो । वरिष्ठ शाखा अधिकृत दीपक सुवेदीको संयोजकत्वमा गठित ६ सदस्यीय समितिले ‘क’, ‘ख’,‘ग’,‘घ’ र ‘ङ’ पाँच वर्गमा वर्गिकरण गरेर तयार पारेको प्रतिवेदन सार्वजनिक भएको थियो ।

रामेछाप उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवीन कुमार थापा मगर, शाखा अधिकृत गोविन्द कट्टेल, कानुन अधिकृत सुदर्शन कुमार राय, सब–इन्जिनियर होमबहादुर खड्का, अमिन सिताराम खत्री र वरिष्ठ सहायक दीलकुमार मानन्धर सदस्य रहेको समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक भएपछि मन्थलीका घरधनी र भाडामा बसेका व्यवसायीहरूलाई मारमा पार्ने गरी तयार पारिएको भन्दै मन्थलीका घरधनी तथा व्यवसायीहरूले बिरोध समेत गरेका थिए ।

Share this

प्रतिकृया

Add

तपाईको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *