पहिरो पीडितलाई रेडक्रसद्धारा राहत प्रदान

 शनिबार, भदौ २२, २०८१ | onlinenews
Share this

रामेछाप- नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापले दोरम्बा शैलुङ गाउँपालिका–१ का पहिरो पीडितहरुलाई राहत प्रदान गरेको छ । यही भदौ ८ गते राति परेको भारी वर्षाका कारण ठाउँठाउँमा गएको पहिरोका कारण विस्थापित भएका पीडितहरुलाई शनिवार नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापले त्रिपाल, ओढ्ने कम्मल, ओच्छ्याउने म्याट, त्रिपाल बाँध्नको लागि नाइलनको डोरी साथै प्रतिपरिवार एक सेटका दरले पकाउने र खाने भाँडाहरु प्रदान गरेको हो ।
जताजतै गएको पहिरोका कारण घरमा बस्न नमिल्ने गरी जोखिममा परेपछि बारीका पाटा तथा खुला चौर र जङ्गलमा पाल टाँगेर बसेका विस्थापितहरुका लागि राहत प्रदान गरिएको हो । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–१ को दलेचौर, सल्लेनी, मझुवा टोल, पाखा टोल, मङ्सिरे लगायत बस्तीका ५४ घर परिवार पहिरोका कारण विस्थापित भई खुला चौर, बारीका पाटा तथा बनमा पाल टाँगेर बस्दै आएका छन् ।

नेपाल रेडसक्र सोसाइटी जिल्ला शाखा रामेछापका मन्त्री दुर्गाबहादुर श्रेष्ठ, उपसभापति कल्पना केसी, कार्यालय प्रमुख शम्भु बुढाथोकी लगायतको टोली राहत सामग्रीसहित पीडितहरु बसेकै ठाउँमा पुगेर ५४ घर परिवारलाई प्रतिपरिवार १ थान पाल, एक सेट भाँडा, परिवार सङ्ख्या ४ जना भन्दा कम भएकालाई १ थान मन्डी, एक थान म्याट र परिवार सङ्ख्या ४ जना भन्दा बढी भएको घरलाई २ थान मन्डी, २ थान म्याट वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापका मन्त्री दुर्गाबहादुर श्रेष्ठले जानकारी दिए । १ सेट भाँडा र त्रिपाल बाँध्ने डोरी भने सबैलाई प्रदान गरिएको मन्त्री श्रेष्ठले बताए ।

पहिरोको जोखिममा परी घरबाट विस्थापित भएर बसेको १४ दिनपछि नेपाल रेडक्रस सोसाइटीको टोली राहत लिएर पीडित भएको ठाउँमा पुगेको हो । राहत सामग्री लिएर लैजानु अघि रेडक्रसको टोली जोखिम क्षेत्रको स्थलगत निरीक्षणमा गएको हो । गत ८ गते राति नै दोरम्बा शैलुङ गाउँपालिका–२ मा गएको भिषण पहिरोमा पनि ठूलो मानवीय क्षति हुँनुका साथै पहिरोका कारण ठूलो सङ्ख्यामा स्थानीय विस्थापित भएकाले रेडक्रसको टोली पनि उक्त पहिरोपमा परेकाहरुको उद्दार र विस्थापितहरुको लागि राहत व्यवस्थापनमा लागेकाले वडा नम्बर १ मा आउन ढिलाई भएको मन्त्री श्रेष्ठले बताए ।

ढिलै भएपनि रेडक्रसको टोली राहत सामग्री लिएर पीडितहरु बसेको ठाउँमा पुग्दा पीडितहरु खुसी देखिन्थे । १४ दिनसम्म बारी पाटाको चिसो भुइँमा दिन रात काट्नु पर्दा निकै कष्ट भएको र रेडक्रसले ओढ्ने ओच्छ्याउने तथा छाना हाल्नका लागि त्रिपाल दिएकाले अब केही सहज हुने पीडित कृष्ण थामीले बताए । चिसो भुइँमा सुत्नु पर्दा सुत्केरी महिला र बालकालिकाहरुको स्वास्थ्यमा समस्या आएको स्थानीय एक महिलाले बताइन् । उनले भनिन् चिसोका कारण सुत्केरी महिलाहरुमा खोकी लाग्ने, जिउ सुन्निने लगायतका समस्याहरु देखिएको छ । खाने कुराको समेत समस्या हुँदा सिस्नुको भरमा छाक टार्नु परेको उनले गुनासो गरिन् ।

Share this

प्रतिकृया

Add

तपाईको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *