विकास भ्रष्टाचारको लागि अघि सारिएको प्रोजेक्टजस्तो भएको छ : प्रकाण्ड

 आइतवार, भदौ १६, २०८१ | onlinenews
Share this

 

रामेछाप- नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले अहिले नेपालमा विकास भनेको भ्रष्टाचार गर्न अघि सारिएको प्रोजेक्टजस्तो भएको बताए । राज्य सत्ताको नेतृत्व गरिरहेका नेताहरु भ्रष्टाचार, कमिसनखोरमा लिप्त रहेको र राज्यको ढुकुटी रित्याएर आफ्नो व्यक्तिगत खातामा सम्पत्ती जम्मा गरिरहेको उनले आरोप लगाए । मुठ्ठीभर दलालहरुले देशको ढुकुटी लुटिरहेको उनको भनाइ छ ।

कम्युनिष्ट नेतृत्व र समाजवादी चरित्रको इमान्दार नेता नेतृत्वमा नआएसम्म भ्रष्टाचार, कमिशनखोर र लुटतन्त्रको अन्त्य सम्भव नहुने बताए । भ्रष्ट नेतृत्वकै कारण सामाजिक सुरक्षा समेत कमजोर बन्दै गएको बताए । उनले भने– ‘सामाजिक सुरक्षा यतिसम्म कमजोर भएको छ किन बिहान घरबाट निस्किएका हाम्रा नानी बाबुहरु बेलुका घर फर्किन्छन् कि फर्किदैनन् टुङ्गो छैन । हाम्रा दिदीबहिनीहरु कतिबेला बलात्कृत हुन्छन् भन्ने तराहितराही छ ।’ व्यापार व्यवसाय धारासायी बन्दै गएको छ ।

उनी भन्छन् नेपालको अर्थतन्त्रमा अहिलेजस्तो सङ्कट कहिल्यै आएको थिएन । अहिले सरकार समान्य खर्च समेत धान्न सक्ने अवस्थामा छैन । राष्ट्रियता धेरै खतरामा रहेको भन्दै देश सोचेकोभन्दा अनपेक्षित रुपमा अप्ठेरोमा परेको उनले दाबी गरे ।

उनले भने– पहिला देश भारतबाट खतरामा थियो तर अहिले अमेरिकाबाट बढी खतरमा रहेको छ । अमेरिका आफ्नो पुनारो प्रभूत्वलाई कायम राख्न चाहन्छ भने नयाँ शक्तिहरु अमेरिकाको प्रभूत्वलाई भत्काउन चाहन्छन् । त्यसकारण अमेरिका आफ्नो प्रभूत्व कायम राख्न खेल खेलिरहेको छ, जसको कारण विश्वनै जटिल ठाउँमा छ उनले भने । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना सत्ताच्यूत हुनुमा पनि अमेरिकाकै खेल रहेको उनले दाबी गरे ।

 

विद्यार्थीहरुले कक्षा ११÷१२ विदेश जाने योग्यता बनाउनको लागि मात्र बढिरहेको भन्दै नेपालमा समाजवादी चरित्रको कम्युनिष्ट नेतृत्व र इमान्दार नेता नेतृत्वमा नआएसम्म नेपाली जनताले देशमा कहिल्यै आफ्नो भविष्य नदेख्ने बताए ।
सरकार र सत्ताको नेतृत्व गरिरहेका नेतृत्वले जनयुद्ध र जनआन्दोलनको स्प्रिटलाई पक्रन नसकेको भन्दै त्यसका लागि समाजवादी चरित्रको नेतृत्व आवश्यक रहेको बताए ।

पूर्वमन्त्री समेत रहेका नेता खड्गबहादुर विश्वकर्माले नेपाल कम्युनिष्ट पार्टीले समाजवादी चरित्रको संयुक्त समाजवादी मोर्चा निर्माणको लागि पहल गरिरहेको पनि बताए । समाजवादी चरित्र भएका, इमान्दार कम्युनिष्ट र लोकतन्त्रवादीहरुबिच संयुक्त मोर्चाको विषयमा सकारात्मक छलफल भइरहेको पनि उनले बताए ।

सरकार र सत्ताको नेतृत्व गर्दै आएका नेताहरुले आफूलाई रुपान्तरण गर्न जरुरी रहेको भन्दै उनीहरु रुपान्तरण नभए जनतालाई साथमा लिएर पुनः युद्धमा फर्कन समेत नेपाल कम्युनिष्ट पार्टी तयार रहेको बताए । उनीहरु रुपान्तरण हुन तयार भएनन् भने फेरि युद्ध छेड्ने हो, यसको विकल्प छैन उनले भने । अहिले सत्ताको नेतृत्वमा रहेकाहरु रुपान्तर भएमा र उपयुक्त वातावरण बनेमा आगामी २०८४ सालमा हुने निर्वाचनमा आफ्नो पार्टीले पनि भाग लिने नेता विश्वकर्माले बताए । उनले भने– एकपट जनताले नेपाल कम्युनिष्ट पार्टीलाई हेर्न चाहेका छन्, उपयुक्त वातावरण बन्यो भने २०८४ को निर्वाचनमा भाग लिन्छौ र सरकारको नेतृत्व गर्छौैँ ।

नेता विश्वकर्माले रामेछाप जिल्लामा पनि भ्रष्टाचार र कमिशनखोर ब्याप्त रहेको भन्दै जनतालाई साथमा लिएर त्यसको विरुद्ध अभियान चलाउने बताए । जनतलाई अप्ठ्यारो परेको ठाउँमा सहयोग गर्दै अघि बढ्ने उनको भनाइ छ । अहिलेकै अवस्थामा देश चल्न सक्ने र जनता टिक्न सक्ने अवस्था नरहेको नेता विश्वकर्माको भनाइ छ ।

Share this

प्रतिकृया

Add