शिक्षालयको भवन निर्माणमा ठेकेदारको चरम लापर्बाही

 आइतवार, पुस ८, २०७५ | onlinenews
Share this

रामेछाप- जिल्लाको सदरमुकाम मन्थलीस्थित सानीमदौमा निर्माणाधिन रामेछाप कृषि शिक्षालयको भवन (रामेछाप पोली टेक्निक इन्ष्टिच्यूट) निर्माणमा ठेकेदारको चरम लापर्वाही देखिएको छ । शिक्षालयको निर्माणाधिन भवनमा गुणस्तरहिन निर्माण सामाग्री प्रयोग गर्नुका साथै भवनको पिलरमा प्रयोग गरिएको रड समेत स्टिमेट अनुसारको छैन ।
स्टिमेट अनुसार पिलरमा २० एमएमको रड प्रयोग गर्नुपर्ने भए पनि १६ एमएमको रड प्रयोग गरिएको छ । भवन निर्माणमा १ नम्बर इटा प्रयोग गर्नुपर्ने स्टिमेट रहेको तर ३ नम्बर इटा प्रयोग गरिएको स्थानीय युवराज सुवेदीले बताए ।
भवनको गाह्रोमा अधिकांश टुक्रा इटा प्रयोग गरिएको छ । ढुवानीको क्रममा भाँचिएका र टुक्रिएका इटाहरु समेत गाह्रो लगाउन प्रयोग गरिएको हो । गुणस्तरहिन निर्माण सामाग्री प्रयोग भएको थाहा पाएपछि गुणस्तरीय निर्माण सामाग्रि प्रयोग गर्न पटक–पटक सुझाव दिंदा पनि निर्माण ब्यवसायिले अटेर गरेको सुवेदीको आरोप छ ।
एक नम्बर इटा प्रयोग गर्नुपर्नेमा निर्माण ब्यवसायिले तीन नम्बर इटा झारेपछि, तीन नम्बर इटा फिर्ता गरि एक नम्बर इटा ल्याउन अनुरोध गर्दा निर्माण ब्यवसायिले अटेर गरि त्यही इटा प्रयोग गरेको सुवेदीले बताए । भवनको ढोकामा नेपाली अग्राखको काठ प्रयोग गर्ने भनिए पनि मलेसियाको काठ ल्याइएको सुवेदीको भनाई छ ।
स्थानीयको सुझावलाई बेवास्ता गरि निर्माण ब्यवसायिले २० एमएमको रड हाल्नु पर्ने पिलरमा १६ एमएमको रड हालेपछि सिटीइभिटीईबाटै इन्जीनियर झिकाई निरीक्षण गराएर १६ एमएमको रड राखेर निर्माण गरिएको पिलर फुटाई स्टिमेट अनुसारको पिलर निर्माण गर्न आग्रह गरिएको रामेछाप कृषि शिक्षालय ( रामेछाप पोली टेक्निक इन्ष्टिच्यूट) का प्रमुख रामनारायण यादवले जानकारी दिए ।
निर्माण ब्यवसायिले चरम लापर्वाही गरेको स्थानीयको आरोप छ । शिक्षालयको निर्माणाधिन भवनमा थुप्रै त्रुटिहरु पाइएकाले निर्माण ब्यवसायि र सम्बन्धित प्राविधिकसँग छलफल गरि त्रुटि भएको कामलाई सुधार गर्न लगाउने मन्थली नगरपालिका–१ का अध्यक्ष नारायणदाश श्रेष्ठले बताए ।
सिटीइभिटीई अन्तर्गत नेपाल सरकारको ३ करोड ३० लाखको लगतमा कृषि शिक्षालयको साढे २ तले भवन निर्माणको जिम्मा ज्ञान ज्योति विल्डर्सले पाएको थियो । निर्माण ब्यवसायि देवेन्द्र चौलागाईले इटाको अफसिजन भएकाले इटा कम्जोर परेको स्वीकार गर्दै अन्य निर्माण सामाग्री भने गुणस्तरहिन नरहेको दावि गरेका छन् ।
शिक्षालय भवनको लागि ल्याइएको ढोका स्टिमेटमा फरक परेकाले त्यसलाई फिर्ता गरि अर्को मगाइएको पनि चौलागाईले बताए । भवन निर्माणको क्रममा भएका अन्य त्रुटिहरुलाई पनि सुधार गर्ने उनले बताएका छ ।
ज्ञान ज्योति विल्डर्सले रामेछाप कृषि शिक्षालयकै यस अघि निर्माण गरिएको भवन पनि नबुझाउँदै चिर्किने र भत्किने भएपछि शिक्षालयले भवन बुझ्न अस्वीकार गरेको छ । निर्माण कार्य नसकिंदै प्लस्टर भत्किएपछि भत्किएको ठाउँमा टालटुल पारेर भवन हस्तरण गर्न लाग्दा शिक्षालयले भवन बुझ्न अस्वीकार गरेको हो । भवन पूर्णरुपमा नसखारेसम्म नबुझ्ने पनि शिक्षालयले जनाएको छ ।

Share this

प्रतिकृया

Add