कर्मचारी अभावका कारण काम गर्न सकिएन् : मुख्यमन्त्री पौडेल

 मङ्लबार, माघ १५, २०७५ | onlinenews
Share this

राजिव कार्की


रामेछाप– प्रदेश नम्वर ३ का मुख्य मन्त्री डोरमणी पौडेलले कर्मचारीको अभावमा जनअपेक्षाअनुसारका काम गर्न नसकिएको बताएका छन् ।
जिल्ला समन्वय समिति रामेछापले सदरमुकाम मन्थलीमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा मुख्यमन्त्री पौडेलले प्रदेश लोकसेवा आयोग गठन नभइसकेको र कर्मचारी नियुक्ति गर्ने अख्तियारी समेत प्रदेश सरकारलाई नभएका कारण काम गर्न गाह्रो भएको बताए ।
“५२ जना दरवन्दी रहेको मन्त्रालयमा त १५ जना कर्मचारी छन् ,अनि सोचेअनुसारका काम कारबाही कसरी अगाडी बढ्छ” मुख्यमन्त्री पौडेलले भने “कर्मचारी तथा ऐन नियमको अभाव रहे पनि प्रदेश सरकारले सफलतापूर्वक काम गरिरहेको पनि मुख्यमनत्री पौडेलले बताए ।
मुलुकमा राजनीतिक संक्रमणकालको अन्त्य भए पनि प्रशासनिक संक्रमणकाल अझै बाँकी रहेको पौडेललको भनाई छ । मुख्यमन्त्री पौडेलले फागुनभित्र कर्मचारी समायोजन भइसक्ने र प्रदेशको कामले गति लिने पनि विश्वास व्यक्त परे ।

१० देखि १५ वर्षे योजना बनाउनुस्

मुख्यमन्त्री पौडेलले रामेछापका जनप्रतिनिधिलाई १० वर्षे र १५ वर्षे आवधिक योजना बनाएर काम गर्न सुझाव दिएका छन् ।
स्थानीय तहको विकासमा प्रभाव पार्ने योजना छनोट गर्न र सुशासनसहित विकास निर्माणको कामलाई पारदर्शी ढंगले अगाडि बढाउन मुख्यमन्त्री पौडेलले स्थानीय सरकारलाई सुझाव दिएका हुन् ।
स्थानीय तहका जनप्रतिनिधहरु ठेकेदार बन्ने प्रवृत्ति गलत भएको बताउदै मुख्यमन्त्री पौडेलले गलत काम रोक्नु पर्नेमा जोड दिए । उनले जनप्रतिनिधिले परिणाममुखी काम गरेमा मात्रै सफल हुने धारणा राखे ।

जनताको हितलाई केन्द्रमा राखेर योजना बनाउनुस्

मुख्यमन्त्री पौडेले जनताको हितलाई केन्द्रमा राखेर योजना बनाउन स्थानीय सरकारलाई निर्देशन समेत दिएका छन् ।
रामेछापमा खानेपानीको निकै समस्या छ, यो समस्या समाधान गर्न प्रदेश सरकार गम्भीर छ, मुख्यमन्त्री पौडेलले भने । स्थानीय तहका प्रमुख÷उपप्रमुख बसेर योजना तय गर्न पनि मुख्यमन्त्री पौडेलले स्थानीय तहलाई आग्रह गरेका छन् ।
देशलाई समृद्ध बनाउन तीन तहकै सरकार मिलेर अगाडि बढ्नु पर्ने मुख्यमनत्री पौडेलको भनाई छ । रामेछाप पर्यटकीय हिसावले समेत धनी रहेको भन्दै यसका सम्भाव्यता अध्ययन गरेर काम अगाडि बढाउन प्रदेश सरकार लागि पर्ने बताए ।
मुख्यमन्त्री पौडेलले सदरमुकाम मन्थलीस्थित हाटेचौर पुगेर तीन लालको शालिकमा माल्यार्पण पनि गरेका थिए । कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ, शहीद गंगालाल श्रेष्ठ र कृष्णलालको शालिकमा मुख्यमन्त्री पौडेलले माल्यार्पण गरेका हुन् ।
यस्तै जिल्ला प्रशासन कार्यालय रामेछापले आयोजना गरेको सरकारी कर्मचारीसँगको भेटघाट कार्यक्रममा मुख्यमन्त्री पौडेलले कर्मचारीहरुलाई आफ्नो कर्तव्य र जिम्मेवारीमा दत्तचित भएर लाग्न निर्देशन दिएका छन् ।
त्यसैगरी जिल्ला समन्वय समिति रामेछापले आयोजना गरेको रामेछापको विकाश र समसामयिक विषयमा छलफल, अन्र्तक्रिया कार्यक्रममा मुख्यमन्त्री पौडेलसँगै तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेल, रामेछाप प्रदेशसभा ‘क’ का सांसद शान्तिप्रसाद पौडेललगायत रामेछापका आठ वटै स्थानीय तहका प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष र वडा अध्यक्षहरुको सहभागिता रहेको थियो ।

Share this

प्रतिकृया

Add