नेपालमा अर्कालाई सम्पत्ती कमाइदिँदा भ्रष्टाचार भएको छ : न्यौपाने
शनिबार, मंसिर १, २०८१
७ असोज २०७६
रामेछाप– नेपाली काँग्रेसले वर्तमान सरकार इतिहासकै चरम भ्रष्टाचारी भएको आरोप लगाएको छ । सरकारले जनतामाथि दमन गरेको, जनतालाई शान्ति सुरक्षा दिन नसकेको, सरकारले अपधारीलाई संरक्षण गर्दा हत्या हिंसा र बलात्कारका घटनाहरु बढेको साथै सरकारले कमिशन खाएर ठूला ब्यापारीबाट असुल गर्नुपर्ने अरबौं कर मिनाहा गरेको काँग्रेसको आरोप छ ।
सरकारले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउनुका साथै न्यून आए भएका जनतालाई अस्वभाविक करको भार थोपरेको र महंगी बढाएको पनि आरोप लगाएको छ । नेपाली काँग्रेसले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियान अन्तर्गत दोश्रो चरणको कार्यक्रम सम्पन्न भएको रामेछाप काँग्रेसले पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।
भाद्र २४ गते विपी जयन्तीको अवसर पारेर राष्ट्रिय जागरण अभियान अन्तर्गत दोश्रो चरणको कार्यक्रम सुरु गरेको नेपाली काँग्रेसले मंगलबार समापन गरेको छ । सरकारले गरेको गलत क्रियाकलापको भण्डाफोर गर्ने उद्देश्यले राष्ट्रिय जागरण अभियान सञ्चालन गरिएको नेपाली काँग्रेस रामेछापले जनाएको छ ।
त्यसैगरी नेपाली काँग्रेसलाई सक्रिय बनाउनु र जनतामा जागरण ल्याउनु अभियानको अर्को उद्देश्य रहेको काँग्रेसले बताएको छ । रामेछाप जिल्लाको प्रदेशसभा ‘क’ मा देविप्रसाद न्यौपाने र प्रदेशसभा ‘ख’ मा बर्मा लामाको नेतृत्वमा राष्ट्रिय जागरण अभियान सञ्चालन गरेको थियो । अभियान सफलतापूर्वक सम्पन्न भएको रामेछाप काँग्रेसले जानकारी दिएको छ ।