लकडाउनको कारण १ करोड घाटा, जिल्लाको एकमात्र ह्याचरी बन्द हुने अवस्थामा

 शनिबार, बैशाख २७, २०७७ | onlinenews
Share this

२७ वैशाख, रामेछाप– लामो समयको लकडाउनको कारण रामेछाप जिल्लामा सञ्चालीत पोल्टी ब्यवसाय बन्द हुने अवस्थामा पुगेको छ । लकडाउन भएसँगै दैनिक एक लाख भन्दा बढी घाटा हुँदै गएपछि जिल्लामा रहेको एकमात्रै ह्याचरी बन्द हुने अवस्थामा पुगेको छ ।
रामेछाप जिल्लाकै ठूलो पोल्टी ब्यवसायको रुपमा रहेको नेशनल फार्मले लकडाउन भए यता दैनिक १ लाख भन्दा बढी घाटा ब्यहोर्दै आएको छ । लकडाउन भएपछि कारोबार बन्द भएको छ । अण्डा दिने कुखुरा ८ हजार रहेको नेशनल फार्ममा दानामा मात्रै दैनिक ८० हजार रुपैयाँ खर्च हुने सञ्चालक रुद्रकुमार श्रेष्ठले बताए ।


स्टक राखिएको दाना समेत सकिएको र थप दाना आयात गर्न आर्थिक अभावको कारण भएको कुखुरा पनि बचाउन नसक्ने अवस्था आएको श्रेष्ठले गुनासो गरे । उनले थपे अहिले अवस्थामा कसैले पनि उधारो सामान दिदैन । २०७१ सालमा तीन जना युवाहरु मिलेर नेशनल फार्म मार्फत रामेछाप जिल्लामा पहिलो पटक ह्याचरी सञ्चालनमा ल्याएका थिए ।
रामेछाप जिल्लालाई कुखुराको मासु र अण्डामा आत्मनिर्भर बनाउने उद्देश्यले तीन जना युवाहरु रुद्रकुमार श्रेष्ठ नेपाली सेना, विश्वास श्रेष्ठ माध्यमिक विद्यालयको विज्ञान विषय शिक्षक र भरत श्रेष्ठ तत्कालीन जिल्ला विकास समितिमा प्राविधिकको जागिर छोडेर पोल्टी ब्यवसायमा लागेका थिए ।


रामेछाप जिल्ला केही वर्षयता कुखुराको मासुमा आत्मनिर्भर हुँदै आएको थियो । जिल्लामा पोल्टी ब्यवसाय बढेसँगै कुखुराको मासुमा जिल्ला आत्मनिर्भर बनेको हो । लामो समयको लकडाउनको कारण अहिले पोल्टी ब्यवसाय धरापमा परेको छ ।
जिल्लाको एकमात्रै अण्डा र चल्ला उत्पादन गर्ने ह्याचरी उद्योग बन्द हुने अवस्थामा पुगेको छ । चल्ला र अण्डा बिक्री नभएपछि लकडाउन भएयता स्थानीय ह्याचरी बन्द छ तर रातारात तराइबाट चल्ला र अण्डा जिल्ला भित्रीरहेको छ ।
जिल्ला प्रशासन कार्यालय रामेछापले बाहिरबाट आउने तरकारी पूर्णरुपमा रोक लगाउने भनेको छ तर रातारात तराई हुँदै इण्डियाबाट तरकारी र कुखुराको चल्ला हजारौंको संख्यामा भित्रीरहेको छ । स्थानीय उद्योग बन्द भएका छन् । स्थानीय स्तरमा उत्पादीन तरकारी कुहिएर गएका छन् तर बाहिरबाट तरकारी आयात भइरहको छ ।


स्थानीय उत्पादनलाई प्रयोग गर्ने हो भने रामेछाप जिल्लामा तरकारी र कुखुरा बाहिरबाट आयात गर्नुपर्ने अवस्था छैन । तर स्थानीय सरकार र जिल्लाको यतातिर ध्यान जान सकेको छैन ।
८ करोड लगानी रहेको नेशनल फार्मको नाममा अहिले बैंक र सहकारीमा गरि ५ करोड ऋण रहेको सञ्चालक रुद्रकुमार श्रेष्ठले बताए । लकडाउनको कारण कारोबार बन्द हुँदा बैंकको किस्ता समेत तिर्न सक्ने अवस्था नरहेको उनको भनाई छ ।
तीन महिने किस्तामा लिएको ऋण बैंक र सहकारीको किस्ता मासिक रुपमा ६ लाख रुपैयाँ पर्ने र अहिले लकडाउनको कारण किस्ता बुझाउन २ किस्ता बाँकी रहेको उनले बताए । दुई किस्ता एकै पटक तिर्नुपर्दा ३६ लाख रुपैयाँ किस्तामा मात्रै जान्छ उनले भने ।


लकडाउनको कारण अहिले बंैक चुप बसेपनि असार मसान्तमा त हामीलाई पेल्छ, कारोबार छैन किस्ता कसरी तिर्ने भन्ने चिन्तामा र्छौ उनले गुनासो गरे । कुखुुरालाई दाना खुवाएर मात्र राख्नु पर्दा लकडाउनको अवधिमा ६० लाख रुपैयाँ घाटा लागिसेको उनले बताए । बजार सीमित समय मात्र खुल्ने भएकाले अण्डा पनि बिक्री नभएको र चल्लाको कारोबार पनि नहँुदा ब्यवसाय नै बन्द हुने अवस्थामा पुगेको श्रेष्ठको भनाई छ । लकडाउनको घोषणा भएसँगै ब्यवसाय ठप्प भएपछि २२ लाख लागत मूल्य बराबरको चल्ला खाल्डोमा पुर्नुपरेको र अहिलेको घाटा ६० लाख सहित ८२ लाख रुपैयाँ घाटा लागिसेको उनले बताए । कर्मचारी तलब र खाना सहित गर्दा १ करोड भन्दा बढी घाटा भइसकेको उनको भनाई छ ।


नेशनल फार्मले हप्तामा २० हजार चल्ला उत्पादन गरेर बिक्री वितरण गर्नुका साथै बाहिरबाट कच्चा पदार्थ झिकाएर दाना पनि उत्पादन गर्दै आएको थियो । उद्योग बचाउनको लागि आपूmहरुलाई थप ऋणको आवश्यकता परेकोले स्थानीय सरकारले ऋण निकाल्नको लागि सहजीकरण गरिदिएमा आपूmहरु अझै पनि निराश भइनसको उनको भनाई छ ।
आपूmसँग धितो भएर पनि ऋण नपाएको गुनासो गर्दै स्थानीय सरकारले सहजीकरण गरिदिए आपूmहरु धितो राखेर ऋण निकाल्न तयार रहेको उनले बताए । हामीलाई अनुदान चाहिँदै ऋण भए हुन्छ, त्यसको लागि हामीसँग पर्याप्त धितो पनि छ, उनले भने । साथै सहकारीमा भन्दा बैंकमा ब्याज कम लाग्ने भएकाले सहकारीमा भएको ऋणलाई बैंकमा सार्न पनि आपूmहरुलाई सहजीकरण आवश्यक परेको उनले बताए । थप ऋण निकाल्न नसकिएको अवस्थामा ब्यवसाय पनि बन्द हुने र आपूmहरु पनि सडकमा पुगिने अवस्था रहेको श्रेष्ठले सुनाए ।

Share this

प्रतिकृया

Add