तीन वर्षमा रामेछापको १७.४३ प्रतिशत नागरिकको मात्रै स्वास्थ्य बिमा

 सोमवार, बैशाख ६, २०७८ | onlinenews
Share this

रामेछाप– सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रम रामेछापका सबै नागरिकको पहुँचमा अझैँ पुग्न सकेको छैन । नेपालको संविधान २०७२ को धारा ३५ मा व्यवस्था गरिएको स्वास्थ्य सम्बन्धी हकमा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित गरिने छैन, भनिएको छ ।
संविधानले ग्यारेण्टी गरेको नागरिकको स्वास्थ्य सुरक्षालाई व्यवहारतः कार्यान्वयनमा ल्याउन सरकारले ‘स्वास्थ्य विमा ऐन, २०७४’ जारी गरेको छ । अहिलेसम्म ७५ जिल्लामा स्वास्थ्य विमा बोर्ड स्थापना गरेर स्वास्थ्य विमा गराउने काम भइरहेको छ । दुई नगरपालिका ६ गाउँपालिका गरि आठ स्थानीय तह रहेको रामेछापमा ६४ वडा रहेका छन् । वि.स. २०६८ सालको जनगनणा अनुसार रामेछापको कुल जनसंख्या दुई लाख एक हजार ४ सय २३ छ । बिमा कार्यक्रम लागु भएको ३९ महिनामा जिल्लाका जम्मा ३५ हजार नागरिकले मात्रै स्वास्थ्य बिमा गराएका छन् ।
२०७४ पौष २६ गतेबाट जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन भएको थियो । हालसम्म ज्येष्ठ नागरिक सहित ११ हजार ८ सय ५३ परिवारका ३५ हजार १ सय १४ जनाले स्वास्थ्य बिमा गराएको स्वास्थ्य बिमा बोर्ड रामेछापका दर्ता अधिकारी यज्ञराज ढुङ्गेलले जानकारी दिए ।
२०६८ सालको जनसंख्यालाई आधार मान्दा ३९ महिनाको अवधिमा जिल्लाका जम्मा १७ दशमलव ४३ प्रतिशत नागरिक मात्रै स्वास्थ्य बिमाको पहुँचा पुगेको देखिन्छ । दर्ता अधिकारी ढुङ्गेलका अनुसार जिल्लाको मन्थली नगरपालिकाका ११ हजार ४ सय ४४ जना, सुनपाति गाउँपालिकाका ६ हजार ५ सय ६७ जना, रामेछाप नगरपालिकाका तीन हजार ४ सय ४५ जना, लिखुतामाकोशी गाउँपालिकाका २ हजार ३ सय ९० जना, गोकुलगंगा गाउँपालिकाका २ हजार ४ सय ७१ जना, उमाकुण्ड गाउँपालिकाका २ हजार १ सय ५३ जना र खाँडादेवी गाउँपालिकाका ३ हजार २ सय ७९ जना र दोरम्बा शैलुङ्ग गाउँपालिकाका ३ हजार ३ सय ६५ जनाले स्वास्थ्य बिमा गराएका छन् ।
स्वास्थ्य बिमा बोर्डले जिल्लाका २ नगरपालिका र ६ गाउँपालिकाको ६४ वटै वडामा दर्ता सहयोगि मार्फत स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरिरहेको छ । पाँच जनासम्मको परिवारले वार्षिक ३५ सय रुपैयाँ तिरेपछि एक वर्षका लागि एक लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा लिन पाउने स्वास्थ्य बिमा बोडको नियमावलीमा उल्लेख छ । पाँचजना भन्दा बढी सदस्य भएका परिवारले प्रतिब्यक्ति सातसय रुपैयाँ तिरेपछि स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध हुन पाउँनेछन् । रामेछापका नागरिकको स्वास्थ्य बिमा कार्यक्रममा निकै नै टिठ लाग्दो सभागिता देखिएको छ ।
स्वास्थ्य विमामा नागरिकको पुहँच कम देखिनुले दुई वटा प्रश्नहरु (स्वास्थ्य बिमाप्रति नागरिकको उदासिनता हो, या त बिमा कार्यक्रम गराउन खटिएका अधिकारीको उदासिनता हो ?) जन्माएको सरोकारवालाहरु बताउँछन् । नागरिकलाई स्वास्थ्य बिमाको पहुँचमा ल्याउन सम्बन्धित सरोकारवाला निकायको समयमै ध्यान दिनु जरुरी रहेको सरोकारवालाहरुको भनाई छ ।

Share this

प्रतिकृया

Add