कोरोना भाइरस संक्रमण रोकथामका लागि रामेछापमा चार करोड बढी खर्च

 सोमवार, बैशाख ६, २०७८ | onlinenews
Share this

रामेछाप– विश्वव्यापी महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणमा रामेछापका ८ स्थानीय सरकारहरुले चार करोड बढी खर्च गरेका छन् ।
दुई नगरपालिका र ६ गाउँपालिका गरि आठ वटा स्थानीय सरकार रहेको रामेछापमा कोरोना रोकथाम तथा नियन्त्रणमा चार करोड २५ लाख ८३ हजार ९ सय ८ रुपैयाँ खर्च भएको प्रतिवेदन सार्वजनिक भएको छ ।
मानव अधिकार संरक्षण सञ्जाल रामेछापले सोमबार मन्थलीमा एक कार्यक्रमको आयोजना गरि जिल्लामा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा भएको खर्चको प्रतिवेदन सार्वजनिक गरेको हो ।
प्रतिवेदनमा जिल्लाका आठ स्थानीय तहहरुले कोरोना रोकथाम र नियन्त्रणमा अहिलेसम्म गरेका खर्च विवरणहरु उल्लेख छन् । प्रतिवेदन अनुसार कोरोना रोकथाम तथा नियन्त्रणमा मन्थली नगरपालिकाको ७० लाख ९५ हजार रुपैयाँ, रामेछाप नगरपालिकामा ८२ लाख २२ हजार ५ सय २१ रुपैयाँ, उमाकुण्ड गाउँपालिकामा ६७ लाख ३५ हजार ९ सय ८४ रुपैयाँ, गोकुलगंगा गाउँपालिकामा ६३ लाख २ हजार ४ सय ९६ रुपैयाँ, लिखुतामाकोशी गाउँपालिकामा २७ लाख रुपैयाँ, खाँडादेवी गाउँपालिकामा ६६ लाख २४ हजार ३ सय ७६ रुपैयाँ, दोरम्बा शैलुङ्ग गाउँपालिकामा १६ लाख रुपैयाँ र सुनापति गाउँपालिकामा ८ लाख ३३ हजार रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ । पालिकाहरुले क्वारेन्टाइन, आइसोलेसन निर्माण, औषधी, उपकरण बेड खरिद, मानवीय श्रोत परिचालन, स्वयम्सेवक परिचालन, यातायात, राहत वितरण र भिटीएम, आरडिटी खरिद लगायतका शीर्षकमा खर्च गरेका छन् ।
नगरपालिका तथा कोष, गाउँपालिकाको कोष, बागमती प्रदेश सरकार, कर्मचारी र नगर प्रमुखहरुको सहयोगबाट सो रकम खर्च गरिएको प्रतिवेदनमा लेखिएको छ । सञ्जालका अध्यक्ष पाण्डव प्रसाई र सदस्य नबराज पथिकले पछिल्लो समय कोरोनाको महामारी बढिरहेको सन्दर्भमा क्वारेन्टाइन व्यवस्थापनमा खर्च दोहोरिन सक्ने भएकाले आगामी दिनहरुमा त्यसतर्फत थप निगरानी बढाउनुपर्ने बताए ।

Share this

प्रतिकृया

Add