गौश्वाराको समृद्धिको आधार कृषि र पर्यटनः वडा अध्यक्ष मगर

 मङ्लबार, बैशाख ७, २०७८ | onlinenews

रामेछाप जिल्लाको दोरम्बा शैलुङ्ग गाउँपालिका वडा नं. ४ का अध्यक्ष चन्द्रबहादुर मगर ‘टलक’ सँग गरिएको कुराकानीको सम्पादीत अंश

वितेका चार वर्षमा वडामा नयाँ काम के गर्नभयो ?

हामीले निर्वाचित भएर आएपछि वडामा धेरै नयाँ कामहरु गरेका छौं । दोरम्बा गाउँपालिकाको गौश्वारा हरेक कुरामा पिछडिएको ठाउँ हो । यहाँ विकास गर्न निकै कठिन थियो । भौगोलिक कठिनाइको कारण निर्माण सामग्री ढुवानीमा निकै कठिन थियो । हामी निर्वाचित भएको समयमा एउटा मुल सडक थियो तर यातायात नियमित सञ्चालन हुन सकेको थिएन । म वडा अध्यक्षमा निर्वाचत भइसकेपछि गौश्वारको विकासलाई ध्यानमा राखेर चुनावको बेला जनतासँग गरेको प्रतिवद्धता अनुसार मैले काम गरेको छु । प्रतिवद्धता अनुसार अहिले टोलटोलमा सडक पुगेको छ । खानेपानीका सुविधा केही ठाउँ बाहेक सबै ठाउँमा पुगेको छ । वडामा रहेका ६ वटा विद्यालयहरु मध्य ५ वटा विद्यालयको सुविधा सम्पन्न भौतिक संरचना निर्माण भइसकेका छन् भने एउटा विद्यायलयको काम तीब्र गतिमा भइरहेको छ । विद्यालयको भौतिक संरचना निर्माणसँगै वडाभित्रका विद्यालय जाने उमेर पुगेका सबै बालबालिकाहरुलाई विद्यालय पठाउँन सफल भएका छौं । स्वास्थ्य क्षेत्रमा सुधार भएको छ । स्वास्थ्य चौकीको भवन निर्माण हुने क्रममा रहेको छ । कृषि क्षेत्रको प्रवद्र्धन गर्न उन्न जातको बिऊविजनको लागि वडाले आवश्यक बजेट विनियोजन गर्दै आएको छ । वडाले कृषि, शिक्षा, स्वास्थ्य र सडकलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । गौश्वाराको बस्केमा पालिका स्तरीय रंगशाला निर्माण गर्न स्थानीय युवाहरुले माग गरिरहेका छन् । त्यो ठाउँमा रंगशाला निर्माण गर्न सकिएमा गौश्वाराको मात्रै नभएर दोरम्बा शैलुङ्ग गाउँपालिकाकै आर्थिक समृद्धिमा टेवा पुग्ने छ । भौगोलिक रुपमा समेत अत्यन्तै सुन्दर ठाँउ रहेकाले त्यस ठाउँमा रंगशला निर्माण गर्न सकिएमा धेरै पर्यटकहरु समेत भित्र्याउन सकिने अवस्था छ । रंगशालासँगै पर्यनट क्षेत्रको रुपमा विकास गर्न सकिएमा दोरम्बा शैलुङ्ग गाउँपालिकाको आर्थिक समृद्धिको आधार बन्न सक्नेछ ।

 गौश्वार रामेछाप जिल्लाको विकट मानिने ठाउँ हो, तपाई वडा अध्यक्ष भएपछि त्यहाँको जनजीवनमा के फरक आयो त ?

गौश्वारा रामेछाप जिल्लाको विकट र विकास निर्माणदेखि सबै हिसाबले पिछडिएको ठाउँ थियो । गौश्वाराको विकासमा सरकार र जिल्लाका राजनीतिक पार्टीहरुको ध्यान पुग्न सकेको थिएन । विगतका दिनमा केही घटनाका विषयलाई लिएर गौश्वारालाई नकारात्मक रुपमा हेर्ने गरिन्थ्यो । तर, अहिले गौश्वारा सभ्य गाउँको रुपमा परिचित भएको छ । जसका लागि म अध्यक्षमा निर्वाचित भएपछि देशभरीकै पहिलो अभियानको रुपमा ‘जनहितको लागि सु–स्वास्थ्य राष्ट्रिय अभियान’ गौश्वाराबाट सुरु गरे । जसले गौश्वारालाई धेरैनै सकारात्मक परिवर्तन गरेको छ । यो अभियानबाट मदिरा, जुवा, तास खेल्ने, झैझगडा गर्नेजस्ता गतिविधिहरु न्यूनिकरण भएका छन् । जसले शान्त समाज निर्माणमा टेवा पु¥याएको छ । यसलाई मैले एउटा महत्वपूर्ण उपलब्धिको रुपमा लिएको छु ।

 वडा कार्यालयले प्रवाह गर्ने सेवाबाट सेवाग्राही कत्तिको सन्तुष्ट पाउनु भएको छ ?

वडा कार्यालयले प्रवाह गर्ने सेवाबाट सेवाग्राहीहरु सन्तुष्ट हुनुहुन्छ । वडाले प्रवाह गर्ने सेवालाई हामीले चुस्तदुरुस्त पारेका छौं । वडा कार्यालयसम्म आइपुग्न नसक्ने सेवाग्राहीहरुलाई घरमै पुगेर पनि सेवा दिएका छौं । मैले यहाँ भन्ने भन्दा पनि तपाईले गाउँमै गएर सेवाग्राहीहरुसँग बुझ्नु भयो भने अझ राम्रो होला । वडा अध्यक्षको हैसियतले मैले वडा कार्यालयले गर्ने सिफारिस मात्रै नभएर वडाबासी जनतालाई समस्या पर्दा पनि रातदिन नभनी सहयोग गरेको छु । गौश्वारा विकट ठाउँ भएकाले वडामा सुविधा सम्पन्न अस्पताल छैन । जटिल खालका विरामीलाई अहिले पनि धुलीखेल वा काठमाडौं पु¥याउनु पर्ने बाध्यता छ । बढि समस्या हामीलाई स्वास्थ्य क्षेत्रमै पर्ने गरेको छ । गाउँमा सुत्केरी हुन नसकेको महिलालाई म आफैले हेलिकप्टर चार्टर गरेर काठमाडौं पु¥याएको छु । शक्त विरामी परेका बालबालिकाहरुलाई पनि मैले हेलिकप्टरबाट उद्धार गरेको छु । त्यतिमात्रै हैन मानसिक समस्या भएका वडा भित्रका मानिसहरुलाई समेत वडा कार्यालयकै पहलमा सुधार केन्द्रमा पु¥याएर उपचार गर्ने काम गरिएको छ । अस्पतालमा उपचार खर्च तिर्न नसकेका विरामीहरुको पनि उद्धार गरेको छु । कोरोना महामारिको बेलामा स्थानीयलाई सुरक्षित रहन सचेतना अभियान सञ्चालन गर्दै स्वास्थ्य सुरक्षाका सामग्रहीहरु समेत वडा कार्यालय मार्फत वितरण गरियो । लकडाउनको बेला रोजगारीको सिलसिलामा काठमाडौं रहेका र घर फर्कन चाहनेहरुलाई म आफै काठमाडौं पुगेर सुरक्षित रुपमा उद्धार गरि गाउँ ल्याएँ । वडा कार्यालयले प्रवाह गर्ने सेवा साथसाथै यी कामहरुबाट पनि वडाबासीहरु सन्तुष्ट हुनुहुन्छ भन्ने मलाई विश्वास छ । मेरा वडाबासीलाई संकट नपरोस भन्ने कामना गर्दछु यदि भवितब्य परिहालेमा म सँधैभरी जनताकै साथमा हुनेछु ।

 वडाको आम्दानीको मुख्य श्रोत चाहिँ के हो ?

दोरम्बा शैलुङ्ग गाउँपालिका–४ गौश्वाराको आम्दानीको श्रोत भनेको पर्यटन र धार्मिक पर्यटन नै मुख्य हो । त्यससँगै आलू हो । गौश्वारामा नेपालकै सबै भन्दा मिठो आलू उत्पादन हुने भएकाले आलूलाई उचित मूल्यमा बजारसम्म पु¥याउन सकिएमा स्थानीयको आर्थिक जिवन स्तरमा सुधार ल्याउन सकिने छ । त्यसैगरी गौश्वाराको जंगलमा एक सय भन्दा बढी जातको जडिबुट्टी पाइने भएकाले जडिबुट्टि प्रशोधन तथा निर्यात गर्न सकिएमा वडाको मात्रै नभएर पालिकाकै राम्रो आम्दानीको श्रोतको रुपमा विकास गर्न सकिने छ । त्यसैगरी सानो शैलुङ्ग, दोरम्बा शैलुङ्ग गाउँपालिका–४ मै पर्दछ । दोलखा र रामेछापको संगम स्थल शैलुङ्गको पनि धेरै भाग दोरम्बा शैलुङ्ग गाउँपालिका वडा नं. ४ मै पर्दछ । हामीले वडाको मुख्य आम्दानीको रुपमा यीनै विषयहरुलाई लिएका छौं । गौश्वाराको जंगलमा सुकेका र ढलेका रुखहरु अध्याधिक छन् । यी काठहरुलाई ब्यवस्थित गरि निर्यात गर्न सकेमा त्यसबाट पनि राम्रो आम्दानी गर्न सकिने छ ।

प्रतिकृया

Add