निषेधाज्ञा उलंघन गर्ने सवारीसाधन पक्राउ

 सोमवार, बैशाख २७, २०७८ | onlinenews
Share this

रामेछाप- जिल्ला प्रहरी कार्यालय रामेछापले निषेधाज्ञा उल्लंघन गर्ने सवारी साधनसहित दुई जना पक्राउ गरेको छ । हाल नयाँ भेरियन्ट सहितको नोवेल करोना भाइरसको संक्रमण तीब्र रुपमा बढिरहेको अवस्थामा निषेधाज्ञा गरिएको अवस्थामा सामाजिक सञ्जाल फेसबुक मार्फत प्रचारप्रसार गरि यात्रुहरु खोजी बनेपा, धुलिखेल, नेपालथोक, सित्खा, गोगनपानी, मुगिटार र मन्थली हुँदै खिम्ती, फर्पु, नामाडी, बेताली, रस्नालु ठोसे हुँदै प्रिती डाँडाखर्क र पुजारी गाँउसम्म यात्रु ओसारपसार गर्ने बा. ५ ख २६३३ नम्बरको यात्रुबाहक बसलाई प्रहरीले नियन्त्रण लिएको हो ।
सामाजिक सञ्चालमार्फत यात्रुहरु खोजेर ओसारपसार गरि निषेधाज्ञाको उल्लंघन गर्ने रामेछापको मन्थली नगरपालिका–११ नाटिला बस्ने वर्ष ४९ को मिनबहादुर थापामगर र ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिका–१ कुवापानी बस्ने वर्ष ३३ को जगदिस सुवेदीलाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको हो ।
चोरबाटो प्रयोग गरि यात्रु लिएर रामेछाप जिल्लको गोकुलगंगा गाउँपालिका–२ स्यूरानी पुलहुँदै दोलखा जिल्लाको जिरीतर्फ जाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ल प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।
सामाजिक सञ्जाल फेसबुक मार्फत यात्रुहरु खोज्ने यात्रुहरुबाट चर्को भाडा असुली इजाजत नभएको बैकल्पिक (चोर) बाटोको प्रयोग गरी यात्रुहरुलाई ओसारपसार गर्ने गरेको सुचनाको आधारमा प्रहरीले खोजी गरि उनीहरुलाई पक्राउ गरेको हो ।
निषेधाज्ञाको पूर्ण रुपमा उल्लंघन गरेकाले संक्रामक रोग ऐन २०२० अनुसार आवश्यक कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय, रामेछाप पठइएको पनि जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
संक्रामक रोग ऐन, २०२० को दफा ३ को उप दफा १ अनुसार अपहेलना गर्ने ब्यक्ति उपर १ महिना कैद वा १ सय रुपैयाँ सम्म जरिवाना वा दुबै सजाय हुने ब्यवस्था छ ।

Share this

प्रतिकृया

Add