सेल्टाभिगोसँग बार्सिलोना पराजित भएपछि बाहिरियो

 सोमवार, जेष्ठ ३, २०७८ | onlinenews

काठमाडौं– घरेलु मैदानमा सेल्टाभिगोसँग पराजित भएपछि बार्सिलोना स्पानिसला लिगाको उपाधि होडबाट बाहिरिएको छ ।
गएराति भएको खेलमा एक गोलको अग्रता लिएर पनि जोगाउन नसकेको बार्सिलोनामाथि सेल्टाले २–१ को अन्तरमा जित हात पारेको हो ।
सेल्टाका लागि दुवै गोल सान्टी मिनाले गरे । बार्सिलोनाका लागि कप्तान लिओनल मेसीले गोल गरेका थिए ।
मेसीले क्याम्प नोउमा २८ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर मिनाले ३८ औं मिनेटमा सेल्टाका लागि बराबरी गोल फर्काए ।
८३ औं मिनेटमा क्लेमेन्ट लेङलेट दोहोरो पहेँलो कार्डसहित मैदान बाहिरिँदा बार्सिलोना दश खेलाडीमा समेटियो । त्यसैको फाइदा उठाउँदै सान्टी मिनाले ८९ औं मिनेटमा दोस्रो गोल गर्दै जित हासिल गरेको हो ।
लिगमा एक खेल खेल्न बाँकी छँदा बार्सिलोना ७६ अंकसहित तेस्रो स्थानमा छ । शीर्ष स्थानको एट्लेटो मड्रिडको ८३ र दोस्रो स्थानको रियल मड्रिडको ८१ अंक छ ।

प्रतिकृया

Add