दुःख भुलाउन रोपेको फूलले आम्दानी दिन्छ भन्ने लागेकै थिएन

 शुक्रबार, जेष्ठ ४, २०८१ | onlinenews

 

पर्सा– श्रीमान विदेश गएपछि मनग्य पैसा कमाएर हुर्कदै गरेका छोराछोरीलाई सक्षम बनाउने सपना देखेकी थिइन् ठोरी गाउँपालिका–४ सुन्दरटोलकी पाशाङ लामाले । गाउँकै साहुबाट सयकडा ३ रुपैयाँ ब्याज तिर्नेगरी १ लाख ५५ हजार रुपैयाँ ऋण लिएर मलेसिया जान घरमै आएका एजेन्टलाई पैसा बुझाए पासाङका श्रीमानले । २०६५ सालको वैशाखमा उनका श्रीमान मलेसिया उड्न भनी काठमाडौँ पुगे । काठमाडौँ आएपनि उनी मलेसिया उड्न भने पाएनन् । उनले शहर पुगेपछि बल्ल थाहा पाए आफूले पैसा दिएको मान्छे उसैले नाम लिएको मेनपावर कम्पनीमा काम नै गर्दैन रहेछन् ।

मेरो श्रीमानको आफ्नै हातले १ लाख ५५ हजार रुपैयाँ पहिलोचोटी एकमुष्ट समात्न पाएको थियो । ऋण गरेको पैसा एकैचोटी अर्काले खाइदिएको थाहा पाएपछि उनलाई आगोभित्र पसे जस्तै भएछ । न बिदेश न साथमा पैसा ? श्रीमान बेहोसी हुनुभयो भने म पनि बेसुरे भएछु, पासाङले सुनाइन् । बिदेश जान हिँड्नु भएको श्रीमान ९ दिन काठमाडौँ बसेर फर्कदा मनोरोगी भएर फर्किएपछि आशाको आकाशमा सङ्कटको बादल माडारिन सुरु भयो, त्यहीबाट पासाङको परिवारमा दुःख थपिए ।

पासाङ्को घर पर्सा राष्ट्रिय निकुञ्ज नजिकै छ । उनको सानो घर निकुञ्जको बनमा पाइने बनमाराले बनाएकी छन् भने निकुञ्जकै खरले छानो छाएकी छन् । त्यहि घरभित्र बसेर साँवाअक्षर समेत नचिनेकी पासाङले मनमनै बुनेका सुनौला सपना, दलालको आश्वासनले काँचको गिलास जस्तै निमेषभरमै फुटे । श्रीमान समेत मनोरोगी भएर फर्किएपछि उनलाई आफ्ना दुई छोरी, एक छोरा र श्रीमान समेतको साहारा बनिदिनु पर्ने बाध्यता आइलाग्यो ।

पासाङका लागि वैदेशिक रोजगारी भुँइको टिप्न खोज्दा गोजीको पनि झ¥र्यो भनेजस्तै भयो । परदेशबाट श्रीमानले कमाएर ल्याउनु होला भनी दलालको भर गर्दा उल्टै साहुको ऋण थपियो । छिप्पिदै गएको मनोरोगबाट श्रीमान थलिदँै गए । जति उपचार गरेपनि श्रीमानको होस फर्काउन सकिनन् पासाङले, अन्तमा रोगकै कारण ८ बर्षपछि श्रीमान सधैँका लागि अस्ताए । श्रीमानको मृत्युपछि पासाङले आफू बाँच्नुको अर्थ देख्न छोहिन् । आफ्नो जीन्दगी बेकार र भारी लाग्न थाल्यो, उनलाई । ईश्वरको अन्याय चुपचाप सहनुको बिकल्प समेत भएन पासाङलाई । कहिलेकँही श्रीमान गएकै बाटो रोजौ भन्ने नलागेको पनि होइन उनलाई तर भोको पेटले छोराछोरीको सुनौलो भविष्यको सपना देखाएकी मैले छोराछोरी टुहुरो पारेर जीवन समाप्त पार्न सकिँन । एकदिन, दुईदिन गर्दै आफूलाई सम्हाल्दै गएँ उनले रुँदै विगतका भोगाइहरु सुनाइन् ।

श्रीमानको मृत्युको पीडा त छँदैछ, छोराछोरीको पढाई लेखाई र घरखर्च टार्न बुझाउन हम्मेहम्मे पर्यो पासाङलाई । उनका लागि दिन र रात नै एकाम्य लाग्न थाले । दिन खाए साँझ र साँझ खाए दिन खाने सामल हुँदैन थियो । बनीबुतो गरेर ल्याएको कोदोको पिठोको ढिंडो उरालेर उज्यालो अनुहार देखाउँदै नानीहरुलाई खुवाइवरी सुताएर आफू एकान्तमा बसेर डाँको छोडेर रुन्थे पासाङले सुनाइन् । छोराछोरी ढिँडो खान्न भनी झगडा गरेको सम्झँदा अहिले पनि मलाई भक्कानो फुट्छ, पासाङले आँसू लुकाउन सकिनन् । “श्रीमानले मुक्ति पाउनु भो । छोराछोरी सानै छन् । उता श्रीमानले विदेश जान भनी लिएको ऋण बढ्दै जान थाल्यो । घरमा जेथो छैन । अर्काको बनीबुतो गरिखाने मलाई साहु दिनदिनै कचकच गर्न आउन थाले । मैले संसार नै अँध्यारो देख्न थालेपनि छोराछोरीलाई कहिले पनि आँशु देखाईँन उनले भनिन् ।

पासाङसँग ऋण तिर्ने उपाय थिएन । ऋण तिर्नैका लागि २ जना साहुको ३४ कठ्ठा खेत ठेक्कामा लिइन् पासाङले । ठेक्कामा लिएको खेतमा धान, मकै लगाइन् । खेतमा फलेका धानको बालामा चामल र मकैको घोगामा मकै मात्र होईन पासाङका आशा पनि छिप्पिँदै थिए । तर दैबको नियति उस्तै भएपछि कसको के लाग्छ र ? पर्सा राष्ट्रिय निकुञ्जका जंगली जनावरले फस्टाएको बाली नष्ट गर्थे । जनावरले नष्ट गरेर बचेको बालीबाट साहुको भागको ठेक्का भर्थिन् । साहुलाई बुझाएर बाँकी रहेको १ चौथाई अन्न आफ्नो भागमा आउँथ्यो यसरी बर्षभरी हातपाउ खियाएर कमाएको अन्न बेचेर घर खर्च र छोराछोरीको पढाइलेखाइको लागि खर्च गर्थिन् । बाँकी बसेको पैसाले श्रीमान बिदेश जान भनेर लिएको ऋण, ८ बर्षसम्म मनोरोगको उपचार गराउँदा लागेको ऋण तिर्नकै लागि ७ वर्ष अर्काकै खेतमा काम गर्नुपर्यो पासाङले ।

छोराछोरी हुर्कर्दै गए । ठूला भइसकेका छोराछोरीको आहारा पनि बढ्यो । छोराछोरीमाथिको जिम्मेवारीको चाङ् झन् अग्लो हुँदै गए । पहिलेको ऋण छिनाउन ७ बर्षसम्म असिना पानी नभनी खेतमा काम गर्नुपर्यो । अव झन् के गरी परिवारको जिम्मेवारी पूरा गर्ने मन आत्तिन थाल्यो पासाङको । भविष्य सम्झँदा अन्धकार बाहेक केहि देख्दै थिइन् उनी । अब परिवारको गुजारा नचल्ने भयो । अब उनका अघि कमाउने बिकल्प केहि थिएन । उनको मनले नमान्दा नमान्दै पनि परिवारकै पेट भर्न स्कुल पढ्दै गरेकी छोरीलाई बिदेश पठाउने निर्णयमा पुगिन् पासाङ्ग ।

छोरी बिदेश पठाउने निर्णयले बिगत व्यूँझायो पासाङको । फेरि ऋण गरेको पैसाले झन् परिवारमा चिन्ता थपिन्छ की ? भन्ने चिन्ता टुसायो । अरुको हेरेर मन बुझाउँदै साहुसँग २ लाख ऋण लिइन् । पहिलेको ऋण दश नङ्ग्रा खियाएर छिनाएपछि उनलाई गाउँलेले सहानुभुति राख्थे । २०७५ सालमा जेठी छोरी कुवेत उडिन् । छोरीको काम र घरमालिक राम्रो परेछ । उबेला गरेको धर्म सम्झिइन् । छोरीको बिदेश भनेजस्तै भयो । अब भने उनको मुहार फेरियो ।
छोरीले कुवेत जाँदा लागेको ऋण ८ बर्षमा चुक्ता गरिन् । जेठी छोरीकै सल्लाहमा कान्छि छोरीलाई पनि युएई पठाइन् । तर अर्की छोरी युएई पठाउन ऋण खोज्नु परेन । जेठि छोरीले युएई जान लाग्ने पैसा पठाईदिईन् पासाङले सुनाइन् ।
छोरीहरुले बिदेशमा कमाएर आमालाई पैसा पठाउन थालेपछि दुःखका दिन सक्किए भन्ने लाग्यो पासाङलाई । आफूले कमाएको ठेक्काको खेत कमाउन छाडेपछि आम्दानीका लागि उनले पनि सजिलो बाटो रोजीन् । उनले घर नजिकै चिया पसल खोलिन् । तर चिया पसलले आम्दानी उनले सोचेजस्तो दिएन् ।

ठोरी गाउँपालिकाले सुरक्षित आप्रवासन कार्यक्रम सञ्चालन गरिरहेको थियो । डिप्रोक्स नेपालको प्राविधिक सहयोगमा गाउँपालिकाले चलाएको वित्तीय साक्षरता कक्षाको बारेमा पासाङले थाहा पाइन् । कक्षामा जाँदा सुरुसुरुका हप्ता खासै चासो लागेन उनलाई । तर चौथो हप्तादेखि उनलाई कक्षामा छलफल भएको बिषयले मन छोयो । बल्ल कक्षाको महत्व बुझेँ उनी भन्छिन् । कक्षामा बसेपछि आफूले चलाएको चिया पसलबाटै कमाउन सकिने रहेछ भन्ने बुझिन् उनले ।
कक्षामा बसेपछि बचतको महत्व बुझेर सहकारी संस्थामा खाता खोलेर महिनै पिच्छे ५ हजार रुपैयाँ बचत गर्न थानि । कक्षामा कमाउने उपायहरुको बारेमा छलफल हुँदा झन् धेरै उपायहरु पत्ता लाग्यो । बल्ल आफूले मन बहलाउन बनाएको फूल बगैंचामा पैसा फलेको कुरा थाहा पाइन् । बगैंचामा फूल फुलेको देख्दा पासाङलाई फुलेका फूल दुःखको साथी जस्तै लाग्थ्यो । कहिलेकँहि आफैभित्र आफू हराउँदा पनि बगैंचामा फुलेका फूल हेरेर मन बुझाउँथिन् उनी । तर फूल हेरेर मन बुझाउने भन्दा बाहेक उनले फूलबाट फाइदा लिन सकेकी थिइनन् । कक्षामा बसेपछि फूलखेतीलाई नै व्यवसायीक बनाउन सकिने रहेछ भन्ने थाहा पाइन् । उनले चिया पसलबाट भएको आम्दानीबाट आफूसँग भएको १ कठ्ठा जमिनमा सयपत्री र मखमली फूल रोपिन् । आफूले रोपेको ३ महिनादेखि फूल फूल्न थाल्यो । थोरै जमिनमा रोपेको भएपनि फूलले आफूलाई चित्त बुझ्ने आम्दानी दियो । बगैंचाबाट सुरुमा फुलेको फूल बेचेर २ हजार ५ सय रुपैयाँ आम्दानी भयो । फेरि फूल रोपिन् । दोस्रो पटकको आम्दानी भने ३ गुणा बढ्यो । अहिलेसम्म उनले ७ पटक फूल बेचेर १ लाख रुपैयाँभन्दा धेरै कमाइसकेकी छन् ।

अहिले पासाङले चलाएको चिया पसलमा सामान थपेकी छन् । चियासँगै नास्ता पनि थपिएपछि पसलमा बिक्री पनि बढेको छ । पसलमा ग्राहक तान्न उनले पसल नजिकै बगैंचा बनाएर मोवाइलको अगाडिको क्यामेराबाट आफ्नै फोटो खिच्न मिल्ने ठाँउ बनाइदिएकी छन् । यो जुक्ति पनि कक्षामा बसेपछि थाहा पाएको उनी बताउछिन् । पासाङले फूलखेतीबाट पैसा कमाएको देखेर उनीसँगै सहभागी भएका सुन्दरटोल वित्तीय साक्षरता तथा मनोपरामर्श कक्षाका काजीमाया, सुकमाया र अम्बरले पनि फूलखेती गरेका छन् । फूलखेती गर्ने कक्षाका सबैले अघिपछि भन्दा यसपालीको तिहारमा फूल बेचेर धेरै पैसा कमाउने लक्ष्य राखेका छन् । उनहरुको पौरखलाई गाउँपालिकाले समेत प्रोत्साहन गरेको छ । गाउँपालिकाले पालिकाको कुनै पनि कार्यक्रममा खादाको प्रयोग नगर्ने नीति बनाएको छ । आजभोली फूलखेतीबाट सफलता पाएकी उनलाई आफूले ठेक्कामा लिएको जग्गामा फूलखेती मात्र गरेको भए छोरीहरुलाई विदेश पठाउनु पर्ने बाध्यता टर्ने रहेछ भन्ने लाग्छ । अहिले पासाङको जेठी छोरीको बिबाह भइसकेको छ । अब उनको रहर कान्छि छोरीलाई युएइबाट घर बोलाएर आमाछोरी फूल खेती गर्ने रहेको छ ।

पर्सा जिल्लाको ठोरी गाउँपालिकाका वित्तीय साक्षरता सहजकर्ताको सहयोगमा सागर विक्रम बस्नेत

प्रतिकृया

Add