कृषि विकास कार्यालयको खर्च जम्मा २० प्रतिशत

 आइतवार, जेष्ठ ६, २०८१ | onlinenews

 

रामेछाप- चालु आर्थिक वर्षको १० महिनामा कृषि विकास कार्यालय रामेछापले जम्मा २० प्रतिशत मात्र बजेट खर्च गरेको छ । रामेछाप जिल्लामा कृषि क्षेत्रको विकासका लागि आएको बजेट खर्च हुन नसक्दा वर्षेनी फिर्ता जाने गरेको छ । आर्थिक वर्ष २०७९/०८० मा तत्कालीन कृषि ज्ञान केन्द्र हालको कृषि विकास कार्यालयमा कृषि क्षेत्रका विकासका लागि आएको ५ करोडभन्दा बढी रकम खर्च हुन नसकेर फ्रिज गएको थियो ।

रामेछाप र दोलखा जिल्लामा कृषि क्षेत्रको विकासका लागि आफ्नो गतिविधि सञ्चालन गर्दै आएको यस कार्यालयले आर्थिक वर्ष २०७९/०८० मा १२ करोड ४८ लाख ६६ हजार रुपैयाँ बजेटमा जम्मा ५४ दशमलव २० प्रतिशत अर्थात ६ करोड ७६ लाख ७७ हजार ३ सय ७२ रुपैयाँ मात्रै खर्च गरेको थियो । ४५ दशमलव ८० प्रतिशत अर्थात पाँच करोड ७१ लाख ८८ हजार ६ सय २८ रुपैयाँ बजेट खर्च हुन नसकी फिर्ता भएको थियो ।

चालु आर्थिक वर्ष २०८०/०८१ को दश महिनाको बजेट खर्चको अवस्थालाई हेर्दा यो वर्ष पनि यसा कार्यालयको खर्च न्यून रहेको छ । चालु आर्थिक वर्षको साउनदेखि वैशाख महिनासम्म यस कार्यालयले २० प्रतिशत मात्रै बजेट खर्च गरेको छ । यो वर्ष नौ करोड ८८ लाख ९४ हजार रुपैयाँ बजेट रहेकोमा वैशाखसम्म २०.६९ प्रतिशत अर्थात दुई करोड ४६ लाख १ हजार १ सय ६८ रुपैयाँ बजेट खर्च भएको कृषि विकास कार्यालय रामेछापका प्रमुख मीनबहादुर पुनले जानकारी दिए । उनले भने कार्यालयबाट सञ्चालन हुने अधिकांश कार्यक्रमहरू जेठ र असारमै बढी सम्पन्न हुन्छ, त्यसैले अहिले रामेछाप र दोलखा जिल्लामै तीव्र रूपमा कार्यक्रमहरू सञ्चालन भइरहका छन् त्यसैले खर्च कम देखिएको हो ।

आर्थिक वर्षको दश महिना सकिँदा जम्मा २० प्रतिशत मात्रै बजेट खर्च हुनु राम्रो लक्षण नभएको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख भूपेन्द्रबहादुर मल्ल बताउछन् । उनले भने– दश महिनामा जम्मा २०.६९ प्रतिशत मात्रै बजेट खर्च हुनु राम्रो होइन । बनेका कार्यक्रमहरूको समयमै सम्झौता, सञ्चालन र सम्पन्न गर्न कार्यालय जिम्मेवार ढङ्गले लाग्नुपर्ने देखिन्छ ।

प्रतिकृया

Add