रामेछापमा सवारी साधनमामा सवार यात्रु दिन प्रतिदिन ठगिदै

 मङ्लबार, असार २९, २०७८ | onlinenews
Share this

नवराज विश्वकर्मा


रामेछाप– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणको नियन्त्रण तथा रोकथाम र व्यवस्थापनका लागि देशका विभिन्न जिल्लाहरुमा निषेधाज्ञा जारी छ । यस्तै रामेछाप जिल्लाले पनि कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि थप खुकुलो बनाउँदै यही असार ३१ गते बिहिबारसम्म निषेधाज्ञा जारी राखेको छ ।
निषेधाज्ञा खुकुलो हुँदै गएपछि जिल्लाभित्र मात्रै चल्ने गरी सवारी साधन सञ्चालन गर्न दिइएको छ । आम नागरिकलाई यात्रा तथा आवागमनमा थप सहजता होस् भन्ने उद्देश्यले सवारी साधन सञ्चालनमा ल्याई प्रतिबन्ध हटाउने प्रशासन र सरोकारवालाहरुको निर्णय न्यायोचित नै मान्न सकिन्छ । तर, सवारी चालकहरुले निषेधाज्ञालाई फाइदा लुट्ने अवसरका रुपमा लिएर मनोमानी ढङ्गबाट बढी भाडा लिदा युवा ठगिएको गुनासाहरु आएका छन् ।
सर्वसाधराण यात्रुहरु ठगिएको घटना रामेछापमा दिन प्रतिदिन बढ्दै गएका छन् । सोमबार एकै दिन यात्रुसँग बढी भाडा असुल्ने तीन वटा सवारी साधन प्रहरीको कारबाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय रामेछापको संयुक्त टोलीले जिल्लाभित्र चल्ने सवारी साधनलाई चेकजाँच गर्नेक्रममा यात्रुसँग तोकिएको भाडादर भन्दा बढी भाडा असुल्ने तीन सवारी साधनलाई कारबाही गरेको हो ।
खुर्कोटबाट मन्थलीको प्रचलीत भाडा दर ८० रुपैयाँ रहेकोमा यात्रुसँग दुई सय रुपैयाँ भाडा लिने बा ५ ख ८६८५ नम्बरको बसलाई कारबाही गरिएको छ । तोकिएको भाडा दर भन्दा बढी लिएको १ सय २० रुपैयाँ भाडा सम्बन्धित यात्रुलाई फिर्ता गराइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
यस्तै, रामेछाप नगरपालिकाको वडा नं. १ गोठगाउँदेखि मन्थलीसम्मको भाडा दर १ सय ५० रुपैयाँ रहेकोमा बसमा सवार दुई जना यात्रुसँग ६ सय रुपैयाँ भाडा लिने बा ५ ख ५८१७ नम्बरको बसलाई पनि ट्राफिक नियम बमोजिम आवश्यक कारबाही गरी तीन सय रुपैयाँ भाडा फिर्ता गराइएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक श्रीशंक श्रेष्ठले जानकारी दिए । सूचना अधिकारी श्रेष्ठका अनुसार काठमाडौँदेखि मन्थलीसम्मको भाडा दर पाँच सय रुपैयाँ रहेकोमा बसमा सवार दुई जना यात्रुसँग १ हजार ५ सय रुपैयाँ भाडा असुल्ने प्रदेश ३–०२–००६ ख ०६०४ नम्बरको बस पनि कारबाहीमा परेका छन् । त्यस बसले बढी भाडा बापत लिएको रकम पाँच सय रुपैयाँ यात्रुलाई फिर्ता गराइएको छ । यसैगरी, सोही बसले नै काठमाडौँबाट तिल्पुङसम्मको प्रचलीत भाडा दर ६ सय रुपैयाँ रहेकोमा बसमा सवार एक जना यात्रुसँग आठ सय रुपैयाँ लिएकोले दुई सय रुपैयाँ फिर्ता गरिएको प्रहरीले जनाएको छ ।
सोही बसले काठमाडौँबाट रस्नालुसम्मको प्रचलीत भाडा दर सात सय रुपैयाँ रहेकोमा बसमा सवार यात्रुसँग १ हजार ५ सय रुपैयाँ लिएको पाइएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । यात्रुसँग लिएको आठ सय रुपैयाँ फिर्ता गरिएको उनले बताए । यसअघि केही दिनअघि बढी भाडा लिने सवारीलाई प्रहरीले कारबाही गरेको थियो । यस्ता घटना यसरी वृद्धि हुँदै जानुले बसमा सवार नागरिकहरुको बीचमा ठूलो चुनौती खडा गरेको छ । एउटा बसमा यात्रा गर्ने नागरिकको जिउ धनको रक्षा र माल सामानको सुरक्षा गर्नु सवारी चालक तथा सह–चालकको दायित्व हो । तर, आफ्नो दायित्व र कर्तव्यबाट विमुख हुँदै मौकाको फाइदा लुट्न उद्दत रहेका यस्ता सवारी सञ्चालकलाई सम्बन्धित सुरक्षा निकाय र प्रशासनले समयमै सचेत गराउनु आवश्यक रहेको नागरिक अगुवाहरुको भनाई छ ।
यसैबीच, जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव निरीक्षक विकल्व भट्टराईले बढी भाडा असुल्ने सवारी सञ्चालकसँग यात्रु आफैँ पनि सचेत हुनुपर्ने बताए । सवारी साधनमा सवार यात्रुले आपूmले तिर्नुपर्ने भाडाको विषयमा जानकारी राख्नुपर्ने उनको भनाई छ ।
बढी भाडा माग्ने वित्तिकै आफूले भाडा दिन नहुने ट्राफिक प्रमुख भट्टराइले बताए । पछिल्लो समय काठमाडौँ जानका लागि सवारी पास चाहिने भएकोले अहिले लामोदुरीका सवारी धेरै चलेका छैनन् । जिल्लाभित्र मात्रै सञ्चालन हुने सवारी साधनले पनि यात्रुसँग बढी भाडा लिने गरेका पाइएको उनले बताए । त्यस विषयमा आफूहरुले छड्के अनुगमन गर्दा बढी भाडा लिने सवारी साधनलाई कारबाही गरिएको जानकारी दिए । अब यस्ता प्रवृत्ति नियन्त्रण गर्न आफूहरुले जिल्ला भएर चल्ने सवारी साधनहरुलाई जुनसुकै बेला पनि रोकेर अनुगमन गर्ने बताए । यात्रुसँग बढी भाडा लिने र आफूले लिन चाहेको बढी भाडा दिन अस्वीकार गर्ने यात्रुलाई बीचबाटोमै झारिदिने, गाली, बेइज्जती गर्ने लगायतका गतिविधि गर्ने सवारी सञ्चालकलाई ट्राफिक नियम बमोजिम कारबाही गरिने चेतावनी समेत दिएका छन् । यात्राको क्रममा आफूमाथि यस्ता गतिविधि भएको खण्डमा जुनसुकै बेला प्रहरीको नम्बर १०० मा सम्पर्क गर्न समेत उनले आम सर्वसाधरणमा अनुरोध गरेका छन् ।

Share this

प्रतिकृया

Add