शुभ जीवनको सेवामा थप विस्तार, एन.आइ.सि.यू सेवाले सेवाग्राहीमा खुशी

 बिहिबार, साउन ७, २०७८ | onlinenews
Share this

प्रकाश न्यौपाने


रामेछाप– शुभजीवन हस्पिटलले आफ्नो सेवाको गुणस्तरलाई अझ वृद्धि गर्दै एनआइसियू सेवा सुरु गरेको छ । सिन्धुली जिल्लाको खुर्कोटमा रहेको ख्यातिप्राप्त यस हस्पिटलले नवजात शिशुहरुको सघन उपचार कक्ष (न्युनेटल इन्टेन्सिप केयर यूनिट–एनआइसियू) स्थापना गरी सेवा सुरु गरेको हो ।
सिन्धुली जिल्लामा रहेका सम्पूर्ण अस्पतालहरु मध्ये यस हस्पिटलले यो सेवा संचालन गर्ने मध्येमा पहिलो बनेको छ । प्रसूति सेवाको लागि यो अस्पताल रामेछाप, दोलखा, खोटाङ, ओखलढुङ्गा, भोजपुर, उदयपुर, सिन्धुली लगायत जिल्लाका मानिसहरुका लागि सहज बनाएको छ ।


एनआइसियू सेवा सुरु गरेसँगै आफूहरुले दिँदै आएको सेवा अझ प्रभावकारी भएको शुभ जीवन हस्पिटलका डाक्टर राजन न्यौपानेले बताए । विगतका दिनदेखि नै अत्यन्तै चिन्ताजनक अवस्थामा अस्पतालमा आइपुगेका सुत्केरी व्यथा लागेका महिलाहरुलाई अपरेशन गरी सेवा दिइरहेको थियो । यो एनआइसियू सेवा सुरु गरिसकेपछि अपरेशन वा सामान्य प्रसूतिबाट बच्चा जन्मिइसकेपछि सो नवजात बच्चाले आमाको दूध चुस्न सकेन, स्वासप्रस्वास्मा समस्या आयो, या अन्य कुनै कारणले बच्चालाई खतरा रहेको भए सो खतरा ८० प्रतिशतसम्म कम हुनेछ । यसअघि यस अस्पतालले दिँदै आएको सेवामा एनआइसियू सेवा चाहिने भएमा कि त धुलिखेल अस्पताल या त कान्तिबाल अस्पताल पुर्याउनुपर्ने झण्झटबाट अब सेवाग्राहीहरु मुक्त भएका छन् ।

यस कारण भित्रियो एनआइसियू

शुभजीवन हस्पिटलमा एनआइसियू सेवा सुरु गर्ने लक्ष्य पहिलादेखि नै रहेको हस्पिटलकी व्यवस्थापक अमृता पौडेल बताउँछिन् । उनी भन्छिन्, ‘हामीलाई एनआइसियू सेवाको अवाश्यकता केही वर्ष अघिदेखि नै रहेको थियो तर विभिन्न कारणले सो सेवा सुरु गर्न सकेका थिएनौं । तर केही दिन अघि घटेको एक घटनाले एनआइसियूलाई निकै छिटो हामीसम्म ल्याइपुर्यायो ।’

घटना यस्तो थियो

साविक जस्तै केहीदिन अघि एकजना प्रसूति व्यथा लागेकी महिला अस्पतालमा भर्ना भइन् । उनको अवस्थाका कारण सामान्य रुपमा सुत्केरी हुन नसक्ने देखेपछि अस्पतालले अपरेशन मार्फत् सुत्केरी गराउनु पर्ने बतायो । परिवारले मान्यो, बिरामीलाई पनि यस कुरा राम्रै लाग्यो । सबैको सहमतीमा अपरेशन गरियो । अपरेशन सफल समेत भयो । जब आमा र बच्चाको जिऊ छुट्यिो तर बच्चाले दूध चुस्न सकेन । सो अवस्था आएपछि आफूहरुसँग एनआइसियू नभएको कारणले बच्चालाई धुलिखेल अस्पताल रेफर गरियो ।
खुर्कोटबाट बच्चालाई धुलिखेल अस्पताल पठाउँदा सम्म बच्चाको अवस्था सामान्य भएको डाक्टर न्यौपाने बताए । बाटोमा जाँदाजाँदै परिवारले बच्चालाई दूध चुसाउने प्रयास गर्दा आमाको स्तनबाट झरेको दूध बच्चालाई सर्किएर धुलिखेल अस्पतालको आइसियूमा बच्चाको निधन भएको थियो ।


यो घटनाले खुर्कोटलाई ततायो । मृतकका आफन्त र खुर्कोट बजारका केही व्यक्तिहरु समेत स्थानीय जनप्रतिनिधिहरुको रोहवरमा शुभजीवन आइपुगे । सबैले डाक्टरको लापर्वाहीको कारणले बच्चाको मृत्यु भएको हो भन्ने आरोप लगाए । विवाद चुलिँदै गएपछि खुर्कोटमा रहेको इलाका प्रहरी कार्यालय, गोलोन्जोर गाउँपालिकाको स्वास्थ्य शाखाको रोहवरमा विवाद समाधान त गरियो तर गाउँपालिकाको अनुगमन भन्दा पहिले अस्पतालले प्रसुतिसेवा संचालन गर्न नपाउने शर्त राखियो । अस्पतालले पनि सोही बमोजिम आफ्नो सेवालाई बन्द गर्यो ।
केही दिन पछि गाउँपालिकाको अनुगमन टोली अस्पताल आइपुग्यो । अस्पतालको अनुगमन भयो । अनुगमनले अझ निर्दयी भएर एनआइसियू स्थापना नगरेसम्म कुनैपनि प्रसूति सेवा संचालन नगर्नू भन्ने आदेश दिएर फर्कियो । गाउँपालिका स्वास्थ्य शाखाले निर्देशन गरेको एनआइसियू सेवा संचालन भएपछि अस्पताल पुनः नियमित स्वास्थ्य सेवा प्रवाहमा फर्किएको छ ।

डा. न्यौपाने भन्छन्, समस्या अझै टरेको छैन ।

शुभजीवन हस्पिटलमा आफूहरुले एनआइसियू सेवा संचालन गरेपनि त्यसले भोलिका दिनमा समस्या बल्झाउन सक्ने डा न्यौपानेको कथन छ । भन्छन्, ‘हिजोका दिनमा बिना एनआइसियू नै मैले करिब ३ सय भन्दा बढी महिलाहरुको अपरेशन त खुर्कोटमा नै गरें । विगत ५ वर्षको दौरानमा न कहिल्यै एनआइसियू चाहियो न त आइसियू नै । किनकी कस्तो अवस्थामा अपरेशन गर्यो भने आमा र बच्चाको अवस्था सामान्य हुन्छ भन्ने एउटा डाक्टरलाई थाह हुन्छ । यदि यति कुरा पनि थाहा हुँदैन भने जिउँदो मान्छेको जिउमा ब्लेड चलाउने हिम्मत उसले गर्दैन । तर बद्नियतवश यस अस्पतालमाथि विभिन्न समयमा फोहोरी राजनीति हुँदै आएको छ । एनआइसियू सेवा संचालन गरेपछि एउटा बच्चालाई एकरात सो वार्डमा राख्नुपर्ने भयो भने त्यसको खर्च नै करिब १० देखि १२ हजार हुन आउँछ । धुलिखेल, काठमाडौं जहाँ पनि त्यस्तै रेन्जमा खर्च आउँछ नै । तर भोलि एनआइसियूको चार्ज बढी लियो भनेर अर्को लफडा आउँछ भन्ने मलाई लाग्छ डा. न्यौपानेले भने ।’
हाल यस अस्पतालले एनआइसियू स्थापना गर्न अस्पतालले १६ लाख लगानी गरेको छ । यसैपनि आइसियूको शुल्क अस्पतालहरुमा महंगो हुने नै गर्छ । यद्यपि सेवाको प्रभावकारीताको दृष्टिले यस अस्पतालले एनआइसियू सेवा संचालन गर्दा आसपासका सेवाग्राहीहरुलाई फाइदा पुग्ने सो अस्पतालमा भेटिएका बिरामीका आफन्त देवु तामाङले बताइन ।
आफूहरुले एनआइसियू सेवा संचालन गरेपनि शतप्रतिशत बिरामीको जीवनदान दिन नसक्ने डा न्यौपानेको भनाई छ । उनी भन्छन्, ‘डाक्टरलाई भगवानको रुपमा हैन, मान्छेको रुपमा बुझिदिनुस् । थोरै मात्रै संवेदना बोकेको कुनै डाक्टरले छँदाखाँदाको जिउँदो मान्छेलाई मार्न सक्दैन । किनकी त्यो डाक्टर पनि मान्छे हो डा. न्यौपानेले भने ।

Share this

प्रतिकृया

Add