गैराथोक र अर्चले घ्याप्चे पहिरोको उच्च जोखिममा

 आइतवार, साउन ३१, २०७८ | onlinenews
Share this

रामेछाप– मन्थली नगरपालिकामा पर्ने घ्याप्चे पहिरोको कारण नगरपालिकाको वडा नं. ४ गैराथोक र वडा नं. ३ अर्चलेका बस्ती उच्च जोखिममा परेका छन् । वि.स. २०११ सालदेखि जान थालेको घ्याप्चे पहिरोको कारण कयौं घर परिवार बिस्थापित भइसकेका छन् भने हाल १५ घर पूर्णजोखिममा परेका छन् ।
यसअघि पुनर्बास कार्यक्रम अन्तर्गत १० घर परिवारलाई सुरक्षित स्थानमा सारिएको थियो । पहिरोको रोकथाम नगर्ने र पहिरो निरन्तर गइरहने हो भने गैराथोकका ३ सय घर परिवार विस्थापित हुने अवस्थामा रहेको स्थानीय सोमप्रसाद भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार घ्याप्चे पहिरोको कारण दर्जनौं मानिसले ज्यान समेत गुमाइसकेका छन् । बनमा चराउन लगेको कयौं पशुचौपया समेत पहिरोसँगै रणजोर खोलाले बगाएको उनको भनाई छ । उनका अनुसार घ्याप्चे पहिरोको फेदिमा रणजोर खोला किनारमा रहेका हजारौ रोपी खेत समेत बगर बनाइसकेको छ । पहिरोको कटानको कारण गैराथोका जमिन चक्लाचक्ला परेर वर्षेनी भासिदै गएको छ ।


वि.स. २०११ साल साउनमा पहिलो पटक पहिरो गएको घ्याप्चेले २०४० साल, २०५१ साल र २०६१ सालमा गएको पहिरोले विकराल रुप लिएको स्थानीय जानिफकारहरुको भनाई छ । विगत केहि वर्षदेखि कम हुँदै गएको पहिरो केहीदिन यता एक्कासी बढेको स्थानीय तिर्थराज श्रेष्ठले बताए । एक्कासी पहिरो बढेपछि आसपासका बस्तीका मानिसहरु त्रसित भएका छन् । पानी परेको बेला राति जागै बसेर रात काट्ने गरेको स्थानीय गोमा भट्टराई बताउछिन् । पहिरो गएको बेलामा घर नै पुरै थर्किन्छ, जमिन भासिएजस्तो हुन्छु, पहिरोको कारण पुरै गाउँले त्रसित छन् अर्का स्थानीय मोहन आलेमगरले भने ।
हिउँद बर्खा नै पहिरो जाने घ्याप्चेले खेतीयोग्य जमिन वर्षेनी कटान गर्दा जग्गा लाजपूर्जामा मात्रै सीमित भएको शिक्षक समेत रहेका सोमसप्रसाद भट्टराईले बताए । केही वर्ष पहिले घ्याप्चे पहिरो रोकथामको लागि जलाधार कार्यक्रम अन्तर्गत गैराथोकस्थित रणजोर खोला किनारमा जाली हाल्ने काम भए पनि जाली एक वर्ष पनि नटिकेको भट्टराईको भनाई छ ।
वातावरणीय प्रभाव मूल्यांकन गरि बायो इन्जीनियरिङ्ग प्रविधिबाट पहिरो रोकथाम गर्न सकिने इन्जीनियर कुशुम भट्टराईको भनाई । वातावरणीय प्रभाव मूल्यांकन बिनानै यसअघि खोला किनारमा जाली लगाइएकाले एक वर्ष पनि नटिकेको उनको भनाई छ ।
घ्याप्चे पहिरो १ हजार ६ सय मिटर लम्बाई र ७ सय ५० मिटर चौडाईमा फैलिएको इन्जीनियर कुशुम भट्टराई जानकारी दिए । इन्जीनियर भट्टराईले घ्याप्चे पहिरो शिर भएर बग्ने रणजोर खोलाको विषयमा थेसिस गरेका थिए । इन्जीनियर भट्टराईका अनुसार माथिल्लो भागमा लिखु तामाकोशी गाउँपालिकाको ऐरमबाससम्म फैलिएको पहिरो ०.६० वर्ग किलोमिटर क्षेत्रफल फैलिएको छ ।
घ्याप्चे पहिरोको कारण रणजोर खोलाको चौडाई वर्षेनी बढ्दै जाँदा २७ मिटरदेखि ३ सय मिटरसम्म फैलिइसकेको भट्टराईको भनाई छ । मन्थली नगरपालिकाको कुल क्षेत्रफल २११.७७ वर्ग किलोमिटर मध्य घ्याप्चे पहिरोले २३.८९ वर्ग किलोमिटर क्षेत्र ओगटेको छ । जसको कारण रामेछापको सदरमुकाम मन्थली समेत उच्च जोखिममा रहेको छ ।

Share this

प्रतिकृया

Add