गुट र विभाजनको पक्षमा नलाग्न एमालेको आह्वान

 सोमवार, भदौ २८, २०७८ | onlinenews
Share this

रामेछाप । नेकपा एमाले रामेछापले गुटफुट र विभाजनको पक्षमा नलाग्न जिल्लाका नेता कार्यकर्ताहरुलाई आह्वान गरेको छ । जिल्ला अध्यक्ष शान्तिप्रसाद पौडेलको अध्यक्षतामा बसेको जिल्ला कमिटीको बैठकले जिल्ला नेता कार्यकर्ताहरुलाई टुटफुट र विभाजनमा नलाग्न आग्रह गरेको हो ।
बैठकले पार्टीको मूलधार एमालेको पक्षमा दृढताकासाथ उभिन जिल्लाका नेता तथा कार्यकर्ता सबैलाई आह्वान गर्ने निर्णय भएको एमाले नेता प्रकाश कार्कीले जानकारी दिए ।
जिल्लास्थित गाउँपालिका, नगरपालिका संगठन कमिटी र जनसंगठन कमिटीको बैठक आगामी असोज ६ गतेभित्र सम्पन्न गर्ने निर्णय भएको पनि कार्कीले बताए । असोज ७ गते जिल्लास्तरीय कार्यकर्ता भेला गरी जिल्ला कमिटीको अर्को बैठक बस्ने कार्कीले बताए । बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य र उद्योग पर्यट वन तथा वातावरण मन्त्री शान्तिप्रसाद पौडेललाई मन्त्री पदमा नियुक्त हुनु भएकोमा बधाई तथा शुभकामना व्यक्त गर्ने निर्णय भएको पनि उनले बताए ।
नेकपा एमाले रामेछापले आगामी कार्तिक ६ गते जिल्लाका सवै वडा कमिटी र कार्तिक ९ गते सबै पालिका कमिटीको अधिवेशन गर्ने निर्णय समेत गरेको छ । बैठकले पार्टीलाई २०७५ जेठ २ गते माओवादी केन्द्रसँगको एकता घोषणापूर्वको समयमा फर्काएर सबै सांगठनिक संरचनाहरुलाई क्रियाशिल बनाउने निर्णय समेत गरेको छ । बैठकले २०७५ जेठ भदौ २९ गते लिखुतामाकोसी गाउँपालिका, खाँडादेवी गाउँपालिकामा बैठक राख्ने निर्णय गरेको एमाले स्रोतले बताएकोछ । त्यसैगरी आसोज ४ गत रामेछाप नगरपालिकामा, असोज असोज २ गते मन्थली नगरपालिकामा, असोज ३ गते दोरम्बा गाउँपालिकामा, असोज ४ गते सुनापति गाउँपालिकामा, असोज ५ गते उमाकुण्ड गाउँपालिकामा र असोज ६ गते गोकुलगंगा गाउँपालिका कमिटीको बैठक राख्ने निर्णय गरेको एमाले रामेछापका सचिव आनन्द श्रेष्ठले जानकारी दिए ।

Share this

प्रतिकृया

Add