रामेछापको समृद्धिको लागि दीर्घकालीन योजना बनाएर अगाडि बढ्ने छौँ : चौलागाई

 सोमवार, भदौ २८, २०७८ | onlinenews

वर्तमान राजनीतिक घटनाक्रम, रामेछाप जिल्लाको विकास निर्माणको अवस्था, विकासको लागि भावी योजना र नेकपा माओवादी केन्द्र रामेछापको आगामी कार्यक्रम तथा योजनाहरुको बारेमा केन्द्रीत रहेर नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रामेछापका इञ्चार्ज युवराज चौलागाईसँग गरिएको कुराकानीको सम्पादीत अंशः

वर्तमान राजनीतिक घटनाक्रमलाई कसरी लिनु भएको छ ?

नेपालको राजनीति एउटा ठूलो दुर्घटनाबाट बचेको छ । निर्वाचित तानासाही सरकारबाट प्रतिगमनको एउटा निकै डरलाग्दो अवस्थामा नेपाल पुगिसकेको थियो । तर केपी ओलीजीको बर्हिगमनसँगै त्यो खतरा हाल टरेको छ तर नेपाली जनताका इच्छा, आकाङ्क्षा, चाहाना र आवश्यकता माथि धेरै ठूलो मेहनत गर्नुपर्छ । हाल एउटा दुर्घटना टरे पनि अन्य कैयौँ खतराहरुबाट जोगिनका लागि पर्याप्त तयारी गर्नुपर्ने रुपमा म हालको राजनीतिक घटनाक्रमलाई लिन्छु ।

नेकपाबाट विभाजन पछि हाल माओवादी पार्टी के गर्दैछ ?

नेकपाको विभाजन एउटा दुर्भाग्यपूर्ण हो । नेकपाको एकता, सक्रियता र गतिशीलताको आवश्यकता थियो । तर, खासगरी पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यसलाई सही ढंगले व्यवस्थापन गर्न, बुझ्न, आत्मसात गर्न, नेतृत्व लिन नसकेको कारणले विघटन हुन पुग्यो । नेकपाको विभाजनपछि पनि एमालेमा विभाजन आई केन्द्रिय, प्रदेश, जिल्ला र स्थानीय तहमा समेत विभाजनको असर परिरहेको छ । तर हामीले पनि आफूलाई अझ जनअनुमोदित पार्टीका रुपमा स्थापित गर्न अझ धेरै मेहनत गर्नुपर्ने देखिन्छ । हामी आफूलाई समीक्षा गरिरहेका छौ । हामीले पार्टीको केन्द्रिय कमिटीको पूर्ण बैठकबाट चारमहिने राष्ट्रिय अभियान सञ्चालन गर्ने घोषणा गर्दै स्थानीय तहदेखि केन्द्रिय तहसम्मका पार्टी कमिटी र भातृ संगठनहरुका सम्मेलन सम्पन्न गरि आगामी पुसमा पार्टीको राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेका छौँ । पार्टीको आन्तरिक संगठन सुदृढीकरण गर्दै जनताका आकाङक्षा र सम्भावना अनुसारको काम गर्ने पार्टीको रुपमा स्थापित गर्न खोजिरहेका छौँ । मलाई आशा छ हामी त्यो उद्देश्य पूरा गर्न सक्छौ ।

नेकपा विभाजनपछि नेकपा माओवादीले आफ्ना कार्यकर्ताहरुलाई समेट्न नसकेको हो ?

मलाई त्यस्तो लाग्दैन, माओवादी आन्दोलन एउटा शक्ति थियो । बिडम्बना विभिन्न समयमा आएका फुट र कतिपय हामी आफैले गरेका कमजोरीले पनि हामी छिन्नभिन्न हुन पुगेका हौं । तर, माओवादीले उठाएका मुद्दाहरु देशमा स्थापित भएको छ । संघीयता, संविधान सभाबाट संविधान, धर्मनिरपेक्षता, गणतन्त्र, समावेशी लोकतन्त्र माओवादी आन्दोदनको उपज हुन । दलित, महिला होस वा सेना, पुलिस, निजामति कर्मचारीहरुमा जुन समावेशीकरण देखिन्छ त्यो माओवादी पार्टीकै देन हो । आन्दोलनबाट जुन कुराहरु स्थापित गरेका थियौं त्यो कुरालाई संगठनात्मक रुप दिन नसक्नु हाम्रो कमजोरी भयो । समाजमा चेतना त आयो तर हामीले त्यसलाई संगठनात्मक रुप दिन अझै धेरै मेहनत गर्नुपर्छ । माओवादी पार्टी सुदृढ र एकताबद्ध भैरहेको छ । तितरवितर भएका साथीहरुलाई एकतावद्ध हुन अपिल गरिरकेका छौँ । यसमा माओवादी धारका व्यक्ति मात्रै होइन, वामपन्थी विचार राख्ने सबैलाई एकता हुन आव्हान गरेका छौ । हामी फुटेर होइन, जुट्यौँ भने मात्र हाम्रा एजेण्डाहरु पूरा गर्न सकिन्छ । हिजो भएका कमीकमजोरीहरुलाई सुधार गरेर अघि बढ्न सकिन्छ ।

एमसीसीको विषयलाई लिएर सत्ता गठबन्धनमा खटपटि आएको भन्ने पनि चर्चा छ बास्तविकता के हो ?

एमसीसीका कारण गठबन्धनमा खटपट छैन । एमसीसीका बारेमा राष्ट्रिय सहमतिका साथ अगाडि वढ्नुपर्छ भन्ने हाम्रो स्पष्ट धारण छ । एमसीसी पारित गर्ने भए पनि या गर्न नपर्ने भए पनि सकेसम्म राष्ट्रिय समहति खोज्ने, राष्ट्रिय सहमति हुनसकेन भने पनि सरकारमा भएका दलहरुका बीचमा सहमति गरेर अगाडि बढ्छ । एमसीसीमा भएका केही बुँदाहरु देश र जनताका हितमा छैनन् भन्ने कुरामा हामी स्पष्ट छौ । त्यसकारण ती प्रावधनहरुलाई खारेज गरेर एमसीसीमा जान सकिन्छ भन्ने पहिला पनि हाम्रो मत थियो र अहिले पनि छ । एमसीसी यही अवस्थामा अगाडि जादैन । एमसीसीलाई हतियार बनाएर सत्ता गठबन्धनलाई प्रहार गर्ने, तितरवितर पर्ने तोडफोड गर्ने प्रयत्न भैरहेको छ । हामी त्यसलाई सफल हुन दिंदैनौँ । तर, देश र जनताका हितमा हुनेगरी जाने कुरामा तयार छौ । उपयुक्त समयमा उपयुक्त निर्णय हुन्छ ।

सत्त गठबन्धन अब कसरी अगाडि बढ्छ ?

सत्ता ठगबन्धन बाध्यताको उपज थियो । नेपाली जनताले यो गठबन्धनको परिकल्पना गर्नुपरेको थिएन तर जनताकै ब्यापक दवावपछि अदालतले गरेको सुझबुझपूर्ण फैसलापछि यो गठबन्धन बन्नुपर्ने स्थिति सिर्जना भयो । केपी ओलीले प्रतिगामी निर्णय नगरेको भए यो गठबन्धन आवश्यक थिएन । लोकतन्त्र, राष्ट्रियता र संविधानको रक्षाको लागि यो गठबन्धन बनाउनु परेको हो । यी विषयहरुको आवश्यकता रहुन्जेलसम्म गठबन्धन कायम रहन्छ । यो गठबन्धन आगामी चुनाव अघि टुट्दैन र चुनावपछि पनि आवश्कताको आधारमा अगाडि बढ्ने छ । गठबन्धनमा आवद्ध पार्टीका नेताहरु गठबन्धनको काँधमा रहेको ऐतिहासिक कार्यभार पूरागर्ने प्रतिवद्धता जनाउनुभएको छ । गठान्धनको कार्यभार पूराभइसकेपछि समीक्षा गरेर अगाडि बढ्ने छ ।

चुनावमा गठबन्धन मिलेरै जाने तपाइहरुको तयारी हो ?

त्यसबारेमा मैले अहिले नै केही भन्न सक्दिन । तर, आवश्यकता अनुसार चुनावमा पनि गठबन्धन मिलेर जानसक्छ । गठबन्धन चुनावसम्म मिलेर जान्छ भनेर अहिलेनै निर्णय गर्नु चाँहि हतारो हुन्छ । चुनाव अघिसम्म गठबन्धन कायम रहन्छ । चुनावमा गठबन्धन कायम रहोस भन्ने नेपाली जनताको चाहना छ । निर्वाचनपछि पनि दलको नेताहरुलाई गठबन्धन औचित्यपूर्ण छ भन्ने लाग्नुपर्छ । निर्वाचनको बेलासम्म गठबन्धनको औचित्यको बारेमा प्रष्ट हुनेछ तर अहिले नै यस्तै हुन्छ भन्न चाहिँ म सक्दिन ।

जिल्लामा राजनीतिक गतिविधि सुस्ताएको बेलामा नेकपा माओवादी केन्द्र रामेछापको इञ्चार्ज बन्नु भएको छ, अब जिल्लाको राजनीतिक कसरी अगाडि बढ्छ ?

रामेछाप जिल्लामा लामो समयसम्म पहिलो पार्टीको रुपमा नेकपा माओवादी (केन्द्र) रह्यो । जनमतको हिसावले रामेछापमा माओवादी अहिले पनि पहिलो पार्टी हो । हाम्रो स्थान सुरक्षित गर्ने गरि अगाडि बढ्छौँ । निर्वाचनको लागि मात्रै हैन, संगठनभित्र रहेको कमीकमजोरीहरुको पनि खोजी गर्छौँ । संगठन विस्तार र मजबुद गर्दै लैजान्छौं । आम सोसित पीडित जनताहरु, दलित, महिला, आदिबासी जनजाति लगायत सबै पीडितहरुको साझा शक्तिको रुपमा पार्टीलाई संगठीत गरेर लैजाने छौं । विकास निर्माणका कामहरुको नेतृत्व गर्ने गरि हामी अगाडि बढ्छौं । रामेछापमा २०७४ सालयता क्षेत्र र संघको चुनावमा माओवादीले नेतृत्व गर्दै आएको छ । हाम्रो पार्टीलाई विजयी गराएकोमा आम जनतालाई धन्यवाद दिन चाहन्छु । हामीले विगतमा गरेका कामहरुको समीक्षा गरि आगामी दिनमा गर्ने कामहरुको खाका तयार गरेर जनता समक्ष जान्छौं । हामी सबै राजनीतिक दलहरुसँग सौहार्दपूर्ण सम्बन्ध कायम गर्न चाहन्छौं । विकास निर्माणको प्रभावकारीता र संविधान कार्यान्वयको लागि जिल्लाका सबै संयन्त्र तथा निकायहरुसँग समन्वय गरेर अगाडि बढ्ने छौँ । बलियो शक्तिको रुपमा स्थापित हुँदै रामेछाप जिल्लाको परिवर्तन र रुपान्तरणका लागि १५–२० वर्षको दिर्घकालीन योजना बनाएर परिवर्तनकारी शक्तिहरुसँग एकाकार गर्दै अगाडि बढ्ने संकल्प गर्दछु । त्यसमा हाम्रो पार्टी सफल हुने छ ।

 जिल्लामा अन्य पार्टीहरुसँको सम्बन्ध चाँहि कसरी अगाडि बढाउनु हुन्छ ?

रामेछाप जिल्लामा भएका सबै राजनीतिक दलहरुसँग मैत्रीपूर्ण र भातृत्वपूर्ण सम्बन्ध विकास गरेर अगाडि जान चाहन्छौँ । रामेछाप आफैमा क्रान्तिकारी इतिहास भएको जिल्ला हो । रामेछापमा गंगालाल, पुष्पलाल श्रेष्ठ, कृष्णलाल अधिकारी जन्मनुभयो । धेरै ज्ञात, अज्ञात सहिदहरुले रामेछापको परिवर्तको लागि योगदान पुर्यानु भएको छ । सबै राजीतिक दलहरुका अभियानमा सहादत भएका छन् । सबैले देश जनतालाई शीरमा राखेर काम गर्नु भएको छ । हाम्रा बाटाहरु फरक छन् तर देश र जनताको सेवा गर्ने कुरामा प्रतिवद्ध छौं । राजनीतिक बहस मतभेदहरु हुन्छन् तर हामीले एकताको घेरामा बाँधिएर आगाडि बढ्ने छौँ । रामेछापका सबै राजनीतिक पार्टीहरुसँग सौहार्दपूर्ण रुपमा अगाडि बढ्न चाहन्छौँ तर त्यो हाम्रो हातमा मात्रै छैन । अन्य दलहरुले पनि चाहेमा हामी सौहार्दतापूर्ण रुपमा अगाडि बढ्न सक्छौं । तर माओवादीलाई, हेप्ने, चेप्ने, असंवैधानिक र अलोकतान्त्रिक ढंगले आक्रमण गर्छन् भने हामी पनि प्रतिवाद गर्न सक्षम छौँ । हामी मित्रताको लागि हात बढाउन चाहन्छौँ, विकासका कामको नेतृत्व गर्ने कुरामा सहकार्य गर्न चाहन्छौँ तर अन्य राजनीतिक दलहरुले पनि त्यही स्प्रिटका साथ सोच्नुपर्ने हुन्छ । सबै राजनीतिक पार्टीहरु सौहार्दपूर्ण रुपमा अगाडि बढ्ने कुरामा मलाई विश्वास छ र त्यसमा हाम्रो पार्टी प्रतिबद्ध छ ।

 रामेछापको सन्दर्भमा पार्टीका नेतृत्वहरु जिल्लामा बस्दैनन् भन्ने आरोप लाग्ने गरेको छ यसमा के भन्नुहुन्छ ?

म १० वर्षदेखि पार्टीको केन्द्रीय सदस्यको रुपमा छु । पार्टीको सम्बन्धित विभाग र प्रवासको जिम्मेवारी बहन गर्दै आएँ । १० वर्षदेखि मैले त्यो जिम्मेवारी सम्हाल्दै आएको छु । जिम्मेवारीको कारणले ठूलो कार्यक्रमहरु बाहेक विगतका वर्षमा रामेछाप आउँन सकेको थिइँन । अहिले मलाई पार्टीले रामेछाप जिल्लाको इञ्चार्जको जिम्मेवारी दिएको छ । धेरै राम्रा अवसर र चुनौतीहरु पनि मैले देखिरहेको छु । ती कुराहरुको सामना गर्दै अगाडि जानको लागि जिल्लामा उपस्थिति अनिवार्य छ । केन्द्रीय जिम्मेवारी पनि भएकाले केन्द्र र प्रदेशको कामलाई दिने समय र भइपरी आउने काम बाहेक रामेछापमै बसेर पार्टीले दिएको जिम्मेवारी पूरा गर्नेछु । जिल्लामा मैले नेतृत्व गरुन्जेल जनताको माझमा गएर जनताको भावनाहरुलाई संग्रहीत गर्ने प्रयत्न गर्नेछु । रामेछापमा जिम्मेवारी रहुञ्जेल म जिल्लामै रहँने प्रतिवद्धता र विश्वास दिलाउन चाहन्छु । युवा पुस्ताको नेतृत्व विकासको लागि मेरो पहल रहने छ । सक्षम युवा नेतृत्व विकास गर्दै नेतृत्व हस्तान्तरण गर्ने कुरामा सचेत छु । मैले पार्टीमा गुटबन्दी गर्ने छुँइन । पार्टीभित्र रहेको गुटबन्दीलाई पनि पार्टी नीति र सांगठानिक पद्दतिमा रहेर समाधान गर्नेछु । जिल्लामै रहेर समस्याहरुलाई समाधान गर्ने कुरा सार्वजनिक रुपमै म प्रतिवद्धता जाहेर गर्न चाहन्छु ।

 यहाँले युवा नेतृत्वको कुरा गर्नुभयो, युवाहरुलाई राजनीतिक भर्याङको रुपमा प्रयोग गर्ने र नेतृत्व नदिएको कुरा उठिएको छ यसलाई कसरी लिनुएको छ ?

त्यो प्रबृत्ति राजनीतिक पार्टीमा देखिएको छ । तर म के विश्वासका साथ भन्न सक्छु भने म रहेको नेकपा माओवादी केन्द्र त्यस्तो पार्टी होइन । म आफै पनि अहिले भर्खर ४० वर्ष काटेको छु । तर १० वर्ष भइसक्यो केन्द्रीय समिति सदस्य भएको । हामी दर्जनौं युवाहरु पार्टीको केन्द्रीय कमिटीमा छौं । प्रदेश जिल्ला कमिटीमा पनि युवाहरुको राम्रो उपस्थिति रहेको छ । तर युवाहरु देखिने अनुहार मात्रै होइन कि निर्णय प्रक्रियामा उनीहरुको सहभागिता र स्वामित्व दुवै चाहिन्छ । ३० वर्ष पेरिफेरिका युवाहरु पार्टी केन्द्रीय कमिटीमा भएको हाम्रो पार्टीमा मात्रै हो । हाम्रो पार्टीले युवाहरुको सहभागिताको सुनिश्चितता गरेकाले युवाहरुको सहभागिता पनि हाम्रो पार्टीमा राम्रो छ । तर आम रुपमा भने युवाहरुलाई नेतृत्व दिने र उनीहरुलाई निर्णय प्रक्रियामा सहभागि गराउने कुरामा अझै ध्यान दिन जरुरी छ । कार्यान्वयनमा जाँदा केही ब्यवहारिक कुराहरुलाई पनि आत्मसात गर्ने छौं र युवाहरुको विश्वास र भरोसाको केन्द्रको रुपमा हामी अगाडि आउँने छौँ । रामेछापको राजनीतिमा वर्षौदेखि नेतृत्वमा एउटै अनुसार जनताले देखिरहनु परेको छ । रामेछापमा युवाहरुको उचित संयोजन गर्न अझै आवश्यक छ । समग्र नेपालको सन्दर्भमा युवाहरुलाई नेतृत्व दिने कुरामा माओवादीले अन्य दलहरुलाई धेरै पछि पारिसकेको मलाई अनुभूति हुन्छ । रामेछपको पनि स्थित त्यही हो ।

अन्तमा जिल्लाबासीलाई केही भन्न चाहनु हुन्छ ?

रामेछाप विटक र राजनीतिक ब्यवस्थाले न्याय गर्न नसकेको अवस्थामा थियो । लोकतन्त्र प्राप्तिपछि रामेछापको अनुहार निरन्तर फेरिने क्रममा छ तर त्यो आवश्यकता भन्दा निकै कम छ । माओवादीबाट निर्वाचित भएका मान्यजीहरुले पनि मेहनत गर्नुभएको छ । अन्य पार्टीका मान्यजीहरुले पनि योगदान गर्नुभएको छ । रामेछाप जिल्लाको विकास जति हुनुपर्ने हो त्यती हुन नसकेको कुरामा म सहमत छु । रामेछापको थप विकासको लागि हामी प्रतिवद्धताका साथ जनताको बीचमा आइरहेका छौं । संविधानको कार्यान्वयन गर्ने, विकास निर्माणको नेतृत्व गर्ने, रामेछापेली जनतालाई विकास र रोजगारीको माध्यमबाट समृद्ध रामेछापको बाटोमा लिएर जाने कुरामा प्रतिवद्ध छौं । प्राकृतिक श्रोत जल, जडिबुट्टी, पर्यटन होस् या कृषि उद्योगसँग सम्बन्धित कुराहरु हुन्, यी सबै कुराहरुमा रामेछापेली जनतालाई राज्यको मूल प्रवाहसँग डोडेर अगाडि बढ्न सक्ने नेतृत्व माओवादी पार्टीसँग छ । यसलाई हामी अझ परिस्कृत गरेर लैजाने छौँ । हामीलाई विश्वास गर्नुस्, हामी धोखा दिने छैनौँ । माओवादी पार्टीसँग एकाकार भएर अगाडि बढ्न आम जनसमुदायमा अपिल गर्न चाहन्छु ।

प्रतिकृया

Add