बिदेशभन्दा गाउँकै कृषि प्यारो

गोलभेँडाको बोटमा सुन फल्यो

 शनिबार, अशोज २, २०७८ | onlinenews

रामेछाप । तरिका पुर्याएर श्रम गर्नसके विदेश जानुपर्दैन, गाउँकै माटोमा सुन फल्न सक्छ भन्ने उदाहरण दिएका छन् रामेछापको खाँडादेवी– ३ सित्खाका ४ जना युवाले । वैदेशिक रोजगारीबाट फर्किएर रोजगारीका लागि भौँतारिरहेका युवाहरुले संयुक्त टमाटर खेती थालेपछि अहिले औलधौल भएको छ ।
चारैजनाको बैदेशिक रोजगारीको तीतो कथा मिलेपछि संयुक्त कृषि खेतीमा लागेका हुन् । धेरै पैसा कमाउने सपना साकार नभएर कतारबाट फर्केका सित्खाका रमेश लामाले कतार जानुअघि देखेको सपना, बनाएको योजना, कतारमा पाएको दुःख, खप्नुपरेको हैरानीका कथा एकएक गरी सुनाएपछि विदेशमा पैसैपैसा हुन्छ भन्ने ठानिरहेका अक्षयकुमार खत्री, अशोक लामा र ……….. बिदेश जाने दौडधूपबाट पछाडि सरे । के गर्ने त ? रमेश लामाले भने, कृषिबाट संसारमा धेरै देशका युवाले मनग्गे कमाएका छन् । तरकारी खेती गरौँ । अक्षयकुमार र अशोकको विदेश जाने सोच बदलियो । चारै युवाले ‘मिलीजुली कृषि तथा पशुपक्षी फार्म’ दर्ता गरे, ३५ रोपनी जग्गा १५ वर्षका लागि भाडामा लिए र ३२ लाख रुपियाँ लगानीमा सुरु गरे– गालेभेँडा खेती । टमाटर खेती सुरु गरेका युवाहरुले पहिलो चरणमै १६ लाख रुपियाँ आम्दानी गर्न सफल भएका छन् । दोस्रो चरणमा बजार मूल्य घटेकाले पहिलो चरणको भन्दा केही आम्दानी घटेपनि आफूहरु सन्तुष्ट रहेको उनीहरुले बताएका छन् ।
आफूहरुले अर्गानिक गोलभेँडा खेती गरेकाले सोचेको भन्दा माग बढेको फार्म सञ्चालक अक्षयकुमार खत्रीले बताए । उनले भने, जति फलेपनि अर्गानिक नै गर्ने भनेर सुरु गरेका थियौँ । सोचेको भन्दा पनि राम्रो मूल्यमा बिक्री भयो, धेरै खुशी छौँ ।
स्थानीय सहकारीबाट लिएको २० लाख रुपियाँ सजिलै तिरिरहेको अर्का सञ्चालक रमेश लामाले बताए । उनले भने, खेतीमा विकासे मल र विषादि हालेको छैन । गाईवस्तुको मलले राम्रै फलेको छ । रासायनिक मल नहालेको गोलभेँडा टिपेको लामो समयसम्म नकुहिने भएकाले व्यापारी समेत आफूहरुको उत्पादनमा आकर्षित भएको लामाले बताए ।
एउटा निर्वाहमुखी जागिरको खोजी गरिरहेका युवाहरुले हाल ८ जनालाई रोजगारी नै दिएका छन् । अर्का सञ्चालक अशोक लामाले भने, टमाटर खेतीलाई नमूना फार्मको रुपमा विस्तार गर्ने सोचमा छौँ । चाँडै नै ३० जनासम्मलाई रोजगारी दिन्छौँ ।
विदेशमा गर्ने दुःख आफ्नै गाउँमा गर्ने हो भने विदेशको भन्दा रत्तिभर कम नहुने रमेश लामाको अनुभव छ । तर सरकारी निकायको बेवास्ताप्रति भने युवाहरुको गुनासो छ । लामाको विचारमा सरकारले कृषिमा गरेको लगानी दुरुपयोग भइरहेको छ । उनले भने, सरकारले अनुदान हैन, ऋण दिनुपर्यो । लगानी गर्ने सहयोग पाए त खटेर हामी नै कमाइहाल्छौँ नि ।

प्रतिकृया

Add