लिखु तामाकोसीमा १ सय २६ योजनाको भुक्तानी

 सोमवार, जेष्ठ ७, २०८१ | onlinenews

रामेछाप- रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिकामा चालु आर्थिकमा सञ्चालीत विकास योजनाहरु मध्ये १ सय २६ योजनाको भुक्तानी भएको गाउँपालिकाले जनाएको छ । चालु आर्थिक वर्ष २०८०÷०८१ मा गाउँपालिका अन्तर्गत २ सय ६ वटा योजनाहरूहरु १ सय २६ योजनाको भुक्तानी भएको हो । सम्पन्न भएका योजनाहरुको अनुगमन तथा निरीक्षण गरी भुक्तानी दिइएको लिखु तामाकोसी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेलले जानकारी दिए । बाँकी ८० वटा योजनाहरू मध्ये १५ वटा योजनाहरूको ६० प्रतिशत काम सम्पन्न भएको र ६५ वटा योजनाको काम सम्पन्न भइसकेको पनि उनले बताए ।

गाउँपालिकाको वडा नम्बर ७ तिल्पुङ्गमा केही योजनाहरू ढिलाइ भएकाले चाँडो सम्पन्न गर्न ताकेता गरिएको प्रमुख प्रशासकीय अधिकृत भुजेलले बताए । उनकाअनुसार लिखु तामाकोसी गाउँपालिकामा चालु आर्थिक वर्ष २०८०÷०८१ मा ७७ करोड रुपैयाँ बढी बजेट विनियोजन भएको छ । जसमा ४२ करोड रुपैयाँ बजेट चालु तर्फ र बाँकी पूँजीगततर्फ बजेट रहेको छ ।

प्रमुख प्रशासकीय अधिकृत भुजेलले अहिले लिखु तामाकोसी गाउँपालिकामा जनतासँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए । गाउँपालिकामा आर्थिक वर्ष २०८०÷०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार हालसम्म भएका विकास निर्माण, सार्वजनिक सेवा प्रवाह लगायतका बारेमा समीक्षा, अन्तरक्रिया तथा छलफल गरी आगामी दिनमा गाउँपालिकाले गर्नुपर्ने र लिनुपर्ने नीति योजना तथा कार्यक्रमका बारेमा सुझाव लिने अभियान चलाएको पनि बताए । निर्वाचित जनप्रतिनिधि, गाउँपालिकाको विषयगत शाखाका प्रमुख लगायत सरोकारवालासँग गाउँपालिकाको विकासका लागि सवाल जवाफ तथा छलफल भइरहेकाले यो कार्यक्रम निकै प्रभावकारी देखिएको उनको भनाइ छ ।

प्रतिकृया

Add