हतियार देखाई त्रसित बनाएर चोरी गर्ने चार जना पक्राउ

 शुक्रबार, अशोज ८, २०७८ | onlinenews
Share this

रामेछाप । भरुवा बन्दुक तथा धारिलो हरिया देखाएर त्रसित बनाई चोरी डकैती गर्ने चार जनालाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरि सार्वजनिक गरेको छ । गएको भदौ ३१ गते टाउँको र मुखमा रुमाल बाँधेर आएका ४ जनाको समूहले लिखु तामाकोसी गाउँपालिका वडा नं. ६ जामुनेको चन्द्रबहादुर बुढाथोकीको घरमा चोरी गरेका थिए ।
घरमा बुढाथोकीको श्रीमती र दुई छोरीहरु मात्रै भएको मौका पारी चोरी गरेर भागेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय तथा प्रहरी चौकी खिम्तीबाट खटिएको टोलीले दुई जनालाई जिल्लाबाटै र दुई जनालाई काठमाडौंबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक नवराज ढुंगानाले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा गोकुलगंगा गाउँपालिका वडा नं. ६ का ठूला भनिने मिलन तामाङ, राहुल भनिने लालबहादुर तामाङ, जंगे भनिने आकाश तामाङ र आशिस भनिने भुमिराज तामाङ रहेका छन् । उनीहरु माध्य आकाश तामाङ र भुमीराज तामाङलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यसैगरी मिलन तामाङलाई फर्पुबाट र लालबहादुर तामाङलाई मन्थलीबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
चोरहरुको साथबाट भरुवा बन्दुक १ थान, पुरानो मोरु नोट ८ थान र अन्य ३५ थान, सुनको फुली दुई थान उनीहरुले प्रयोग गरेका चार थान मोवाइल बरामत गरिएको प्रहरीले जनाएको छ ।
पीडितले जिल्ला प्रहरी कार्यालय रामेछापमा दिएको जाहेरी अनुसार १ तोलाको सुनको बेरुवा रिङ २ थान, १२ आना सुनको पोतेसहितको घोप्टे १ थान, ६ अनाको सुनको ढुंग्री २ थान, ६ आना सुनको कुण्डल २ थान, १ तोलाको ९ गेडी, ६ आना सुनको तिलहरी सहितको पोले, ६ आनाको सुनको औँठी, ४ तोला चाँदीको पाउजु, ८ आना सुनको माडवारी २ थान, आधा तोलाको तिलहरी, ६ तोला चाँदीको कल्ली २ थान, ३ माना चाँदीको पुराना सिक्काहरु लगायतका समान र ३० हजार रुपैयाँ नगद चोरी भएको जनाइएको छ ।
प्रारम्भीक अनुसान्धानमा अभियुक्तहरुले कसुर स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख ढुंगानाले जानकारी दिए । चोरीमा उनीहरु चार जनामात्रै सम्लग्न हुन या अरु पनि छन् भन्ने विषयमा अनुसन्धान भइरहेको पनि डिएसपी ढुंगानाले जानकारी दिए । थप अनुसन्धानको लागि शुक्रबार जिल्ला जिल्ला अदालत रामेछापबाट ७ दिनको म्याद थप गरिएको पनि जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

Share this

प्रतिकृया

Add