सवारी कारबाहीबाट रामेछापमा दुई महिनामा साँढे २१ लाख बढी राजस्व संकलन

 शुक्रबार, अशोज १५, २०७८ | onlinenews

नवराज विश्वकर्मा


रामेछाप । रामेछापमा चालू आर्थिक वर्ष २०७८/७९ मा दुई महिनाको अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने दुई हजार भन्दा बढी सवारी कारबाहीमा परेका छन् । श्रावण र भाद्र महिनामा ट्राफिक नियम उल्लंघन गर्ने २ हजार २ सय ५० सवारी कारबाहीमा परेका हुन् ।
कारबाहीमा परेका ती सवारी साधनबाट २१ लाख ७१ हजार रुपैयाँ राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले जनाएको छ । गत साउन महिनामा ट्राफिक नियम उल्लंघन गर्ने १२ सय सवारी साधनलाई कारबाही गर्दा ११ लाख ६८ हजार रुपैयाँ राजश्व सङ्कलन गरिएको र भाद्र महिनामा एक हजार ५० सवारी साधनलाई कारबाही गर्दा दश लाख तीन हजार रुपैयाँ राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव निरीक्षक विकल भट्टराईले जानकारी दिए ।
उनका अनुसार आज एकैदिन ट्राफिक नियम उल्लंघन गर्ने ४५ वटा सवारीलाई कारबाही गरिएको छ । ती सवारी कारबाहीबाट आज मात्रै ४४ हजार रुपैयाँ राजश्व सङ्कलन भएको उनले बताए ।
सवारी चालक अनुमती पत्रविना सवारी चलाउने, आवश्यक कागजपत्र साथमा नभएको, पाटपुर्जा बिग्रिएका गाडी चलाउने, नम्बर प्लेट स्पष्ट नभएको, भारबहन क्षमताभन्दा बढी सामान बोक्ने, सिट क्षमताभन्दा बढी यात्रु बोक्ने, मदीरा सेवन गरि सवारी चलाउने र जथाभावी पार्किङ गर्ने सवारी साधनलाई कारबाही गरिएको ट्राफिक प्रमुख भट्टराईले बताए । ट्राफिक नियम उल्लंघनका घटना न्यूनिकरणका लागि कारबाही र जरिवाना मात्रै पर्याप्त नहुने भन्दै ट्राफिक नियम पालनामा सवारी चालक पनि सचेत हुनुपर्ने भट्टराई बताए ।
ट्राफिक नियम पालना गर्दा आफ्नै सुरक्षा हुन्छ भन्ने कुरा सवारी चालकहरुले बुझ्नुपर्ने उनको भनाई छ । दशैँ, तिहारपछि विद्यालयहरुमा पुगेर ट्राफिक नियमसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिने पनि ट्राफिक प्रमुख भट्टराईले बताए ।

प्रतिकृया

Add