चोरीको सुन किन्ने र भरुवा बन्दुक बनाउने पक्राउ

 शनिबार, अशोज २३, २०७८ | onlinenews
Share this

नवराज विश्वकर्मा


रामेछाप । डाका चोरी गरेको सुन किन्ने र भरुवा बन्दुक बनाउने तथा मर्मत गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा रामेछापको गोकुलगंगा गाउँपालिका–६ का ५५ वर्षीय पुर्णे कामी र तेह्रथुमको आठराई गाउँपालिका वडा नं. २ का ५४ वर्षीय थोगबीर लकान्द्री रहेका छन् ।
गत भदौँ ३१ गते साँझ करिब ७ः०० बजेको समयमा रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नं. ६ जामुनेका चन्द्रबहादुर बुढाथोकीको घरमा चोरी भएको थियो ।
चन्द्रबहादुर बुढाथोकीकी श्रीमति सुनिता बुढाथोकीले चोरी भएको उजुरी दिएपछि प्रहरीले चार जना अभियुक्तलाई पक्राउ गरेको थियो । प्रक्राउ परेका अभियुक्तहरुलाई अनुसन्धान गर्ने क्रममा डाका चोरी गरी काठमाडौँको बालाजु बाइपासस्थित सुनचाँदी पसलमा सुन बेचबिखन गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।
अभियुक्तहरुको बयानको आधामार तेह्रथुमको आठराई गाउँपालिका वडा नं. २ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका वडा नं. १६ बालाजुस्थित महालक्ष्मी सुनचाँदी पसलका सञ्चालक लकान्द्रीलाई यही असोज १९ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
यस्तै, भरुवा बन्दुक बनाउने तथा मर्मत गर्ने पूर्णे कामीलाई शुक्तबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले जानकारी दिए । अभियुक्तहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share this

प्रतिकृया

Add